बजेटले समेट्न सकेन मोनोरेलाई !

समाधान संवाददाता २०७६ असार ११ गते ११:४४

विकास रोकामगर
पोखरा

पोखरा महानगरले गत वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘महानगरका गौरवका योजना’ भन्दै विभिन्न महत्वाकांक्षी योजना ल्यायो । ती महानगरका गौरवका योजनामध्ये आगामी आर्थिक वर्ष पनि निरन्तरता हुने भएको छ भने कुनै नीति तथा कार्यक्रमबाटै हटाइएको छ ।

आइतबार सुरु भएको महानगरको पाँचौ नगरसभाको तेस्रो दिन मंगलबार बजेट प्रस्तुत भयो । नगरसभाको पहिलो दिन महानगर प्रमुख मानबहादुर जिसीले पेस गरेको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रमबाट महानगर गौरव योजना शीर्षक नै हटाइएको छ ।

Advertisement

गत वर्ष महानगरले चालु आवमा फेवादेखि बेगनास तालसम्म मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने बताएको थियो । तर सोमबार पारित भएको नीति तथा कार्यक्रमले योजनालाई छोएन । गतवर्ष ‘मोनोरेलको सम्भाव्यता अध्ययन’ प्रमुखताका साथ उल्लेख गरिएको थियो ।

गत वर्ष महानगरले गौरवका योजना शीर्षकमा फेवा तथा बेगनास र अन्य सबै तालको संरक्षण योजना, ढल निकास गुरूयोजना तथा फेवाताल ढल डाइभर्सन, फेवा—बेगनास मोनो रेल सम्भाव्यता, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन गर्ने, महानगरपालिकाको भवन बनाउने र चक्रपथको गुरुयोजना, टुरिस्ट बसपार्क लगायतलाई गुरुयोजना घोषणा गरेको थियो । तर अहिलेको नीति तथा कार्यक्रममा मोनोरेल, टुरिस्ट बसपार्क र पोखरा चक्रपथ गुरुयोजना समावेश भएको देखिँदैन ।

Advertisement

महानगरले गौरवका योजनाका रुपमा सार्वजनिक गरेको योजना नै कि नीति तथा कार्यक्रममा परेनन् त ? महानगर प्रमुख मानबहादुर जिसी भन्छन्, ‘ती योजना प्रदेशले जिम्मा लिइसकेकाले उल्लेख नगरेका हौं ।’ उनले प्रदेशले जिम्मा लिइसकेको काम आफूले नलिने र सक्ने काममात्रै नीति तथा कार्यक्रममा समावेश गरिएको सुनाए ।

‘मोनोरेल सम्भाव्यता प्रदेशले गर्छु भनेको छ । त्यसो हुँदा हामीले सक्ने काममात्रै नीति तथा कार्यक्रममा समावेश गरेका छौं,’ उनले भने । महानगर गौरवका अधिकांश योजना सुरु भइसकेका छैनन् । तर आव ०७६÷७७ को नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ ।

बजेट ७ करोड ५४ लाख
मंगलबार पोखरा महानगरले पाँचौ आव २०७५÷०७६ का लागि ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । आइतबारबाट सुरु भएको सभाको तेस्रो दिन महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गत वर्षभन्दा करिब १ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा महानगरले साढे ६ अर्बको बजेट ल्याएको थियो ।

चालु आर्थिक वर्षको बजेट मेयर मानबहादुर जिसीले प्रस्तुत गरेका थिए । स्थानीय सरकार सञ्चालन ऐनले उपाध्यक्ष वा उपमेयरले बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्था अनुरुप उपमेयर गुरुङले आफ्नो अधिकार प्रयोग गर्दै बजेट सार्वजनिक गरिन् ।

महानगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई जोड दिएर बजेट सार्वजनिक गरेको हो । महानगरले सबैभन्दा बढी कुल बजेटको ३६ प्रतिशत पूर्वाधार विकासका लागि छुट्याएको छ । सामाजिक विकासका लागि १० प्रतिशत बजेट विनियोजन भएको छ ।

महानगरले आव ०७६÷७७ लाई पोखरा कर अभियान वर्ष मनाउने निर्णय गरेको छ । उपमेयर गुरुङले बजेट प्रस्तुत गर्दै महानगरले उठाउँदै आएको आन्तरिक कर शुल्क यथावत राख्ने र तर करको दायरा बढाउने बताइन् । ‘हालसम्म करको दायरामा नआएका करदाताले यसअघि आफूले तिर्नुपर्ने कर स्वयंकर घोषणा गरी कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ,’ उपमेयर गुरुङले भनिन् । अस्थायी प्रकृतिका हाटबजार तथा मुख्यबजार क्षेत्रका पार्किङ शुल्कलाई समेत व्यवस्थापन गरिने उनले सुनाइन् ।

महानगर डिजिटल गुरुयोजना निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् । ‘पोखराको भूउपयोग नीति अद्यावधिक गरी नक्सांकन गर्न ४ करोड रुपैयाँ विनियोजन भएको छ,’ उनले भनिन् । पोखरा बसपार्क, तारजाली व्यवस्थापन गर्न पनि आवश्यक बजेट विनियोजन गरेकोसमेत उनले जानकारी दिइन् ।

महानगरीय प्रज्ञा प्रतिष्ठान स्थपना गर्न ५० लाख रुपैयाँ विनियोजन भएको छ । पोखरा २७ मा रहेको कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्र बनाउन ५० लाख विनियोजन गरिएको गुरुङले बताइन् । ‘पोखरा महानगरभित्रको स्थानीय भाषा कक्षा सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेकी छु,’ उनले भनिन् ।

भूमिगत पार्किङ भवनमा कर छुट !
महानगरले बढ्दो पार्किङ समस्या हटाउन भवन बनाउँदा भूमिगत पार्किङ व्यवस्था गर्नेलाई ५० प्रतिशत कर छुट दिने भएको छ । भूकम्पपीडितले मापदण्ड बमोजिम भवन निर्माण नक्सा पास गर्दा १ हजार स्क्वाएर फिटको ग्राउन्ड लेबलमा सतप्रतिशत छुट दिने भएको छ ।

पोखरा महानगर क्षेत्रभित्र पर्ने पुरातात्विक महत्वका पुराना घर भत्किएको अवस्थामा पुरानै शैलीमा पुननिर्माण गर्न ५० प्रतिशतसम्म नक्सापासमा छुट पाइने भएको छ । कृषि उत्पादन प्रशोधन व्यवसाय गर्दा ३० प्रतिशतसम्म छुट पाइने महानगरले जनाएको छ ।

कहाँ कति बजेट ?
—कनेक्टिङ सडक ७२ करोड ४० लाख
– १ वडा १ विशेष कार्यक्रम ४५ करोड
— ३३ वडामा विकास निर्माण ३६ करोड ४० लाख
—फेवाताल जलाधार क्षेत्रमा ड्याम ३३ करोड
— निर्माणाधीनसहित ७ पुल २३ करोड २८ लाख
— ९ वटा वडा कार्यालय भवन निर्माण २५ करोड
– १ घर १ धारा अभियान १० करोड
— पोखरा १७ को आरटिओ सडक स्तरोन्नति ९ करोड ४१ लाख
— बजारका सडकमा अस्फाल्ट कंक्रिट ८ करोड ४९ लाख
— महानगर डिजिटल सिटी गुरुयोजना ४ करोड
— भूउपयोग नीति अद्यावधिक र नक्सांकन ४ करोड
– ग्रामीण कृषि सडक स्तरोन्नति ३ करोड
– बस्तीमा नदीको असर न्यूनीकरण ३ करोड
– पोखरा २० मा हाइअल्टिच्युड खेल मैदान ३ करोड
— मुख्य सहरमा सिसी क्यामेरा जडान २ करोड
— बधशाला निर्माण २ करोड
– सार्वजनिक शौचालय २ करोड ५० लाख
– महानगरस्तरीय प्रज्ञा प्रतिष्ठान ५० लाख

तपाईको प्रतिक्रिया