वडा कार्यालय बनाउँदै व्यास नगरपालिका

समाधान संवाददाता २०७६ असार ११ गते १२:२४

कृष्ण न्यौपाने
दमौली

तनहुँको व्यास नगरपालिकाका सवै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा ४ वडा कार्यालयको भवन निर्माण भइरहेको छ । नगरपालिकाले गत वर्षमा प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रममा वडामा सुविधासम्पन्न भवन निर्माण गर्ने उल्लेख गरेको हो । जसअनुसार १४ वडामध्ये चालु आर्थिक वर्षमा व्यास नगरपालिका ४, ५, ७ र १० को भवन निर्माण कार्य भइरहेको छ । ४, ५ र १० को वडा भवन असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य छ भने ७ को भवन आगामी मंसिरसम्म निर्माण हुनेछ ।

व्यास नगरपालिका ५ कन्टारमा ४१ लाख ४७ हजार ९ सयको लागतमा निर्माण भइरहेको भवन असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । ६ कोठे नयाँ भवन निर्माणसँगै सेवा प्रवाहमा सहजता आउने उनले बताए । श्रेष्ठका अनुसार हाल आमा समूहको भवनको २ कोठामा वडा कार्यालय भवन सञ्चालनमा छ । नगरपालिकाकै आर्थिक सहयोगमा निर्माण भएको आमा समूहको भवन प्रयोग गरे बापत मासिक शुल्क भने तिर्न नपर्ने श्रेष्ठले बताए ।

Advertisement

व्यास नगरपालिका ४ को वडा कार्यालय भवन निर्माणको काम सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिए । ६० लाखको लागतमा निर्माण गरिएको भवन वरपर पर्खाल लगाउन वडा कार्यालयले १० लाख बजेट विनियोजन गरेको छ । व्यास नगरपालिका ७ को वडा कार्यालय भवनको काम ४० प्रतिशत सकिएको छ ।

वडाध्यक्ष शतिश न्यौपानेका अनुसार आगामी मंसिरसम्म भवन निर्माण सम्पन्न गर्ने सम्झौता छ । न्यौपानेले भने, ‘अहिलेको कामको गति हेर्दा असोज महिनामा नै सम्पन्न हुने अनुमान छ ।’ ५२ लाखको लागतमा निर्माण हुँदै गरेको भवनमा अध्यक्ष र सचिवको कार्यकक्ष, १ सभाहल र १ सोधपुछ कक्ष रहनेछ । भवन निर्माण सकिएपछि सेवाप्रवाहमा सहज हुने न्यौपानेले बताए । वडा कार्यालय हाल निजी व्यक्तिको घरमा २ कोठा भाडा लिएर सञ्चालनमा छ । बिजुली र पानीसहित मासिक ५ हजार ६ सय खर्च हुने न्यौपानेले बताए ।

Advertisement

व्यास नगरपालिका १० को वडा कार्यालय भवन ९० प्रतिशत सम्पन्न भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । उनका अनुसार शिशा र विद्युत जडानका साथै रङरोङनका काम मात्रै बाँकी छ । ४६ लाख लागतमा निर्माण भएको भवनमा अध्यक्ष र सचिवको कार्यकक्ष, सभाहल, सोधपुछ कक्ष र सेवाग्राही बस्ने कक्ष निर्माण हुनेछ । हाल भाडामा रहेको वडा कार्यालय सञ्चालनका लागि मासिक ३ हजार ५ सय खर्च हुने गरेको छ । व्यास नगरपालिकाले आगामी आर्थिक वर्षमा वडा नं १ र ९ को वडा कार्यालय भवन निर्माण गर्ने जनाएको छ । नगरपालिकाका अन्य वडा कार्यालय भने साविकको गाउँ विकास समितिको भवनमा सञ्चालनमा छ ।

तपाईको प्रतिक्रिया