सामाजिक विकासमा मादीको ठूलो बजेट

समाधान संवाददाता २०७६ असार ११ गते १४:०९

समाधान संवाददाता
पोखरा

कास्कीको मादी गाउँपालिकाले सामाजिक विकासमा सबैभन्दा ठूलो रकम छुट्याउँदै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । मंगलबार सार्वजनिक ६१ करोड ३२ लाख रुपैयाँको बजेटमा मादीले त्यसको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा छुट्याएको छ ।

बजेटको ५१ प्रतिशतभन्दा बढी ३१ करोड ३३ लाख ६२ हजार रुपैयाँ सामाजिक विकासमा विनियोजन गरिएको हो । गाउँपालिकाले खानेपानी आयोजनालाई पनि सामाजिक विकासमै राखेको छ । खानेपानीतर्फ ३४ लाख ३५ हजार रुपैयाँ छुट्याइएको छ । जसबाट १ घर १ धारा निर्माण तथा खानेपानी आयोजनाहरुको स्तरोन्नति गर्ने गाउँपालिकाको योजना छ ।

Advertisement

युवा खेलकुद तथा संस्कृति संरक्षणमा २२ लाख ५५ हजार रुपैयाँ विनियोजन भएको छ । उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रमलाई १५ लाख र गाउँपालिका तथा वडा कार्यालय अन्तर्गतबाट सञ्चालन हुने क्षमता विकास तथा लक्षित कार्यक्रमलाई ८३ लाख ६५ हजार प्रस्ताव गरिएको छ ।

गाउँपालिकाले एम्बुलेन्स पनि चलाउने भएको छ । एम्बुलेन्स र औषधी खरिदका लागि गाउँपालिकाले ४५ लाख २५ हजार विनियोजन गरेको छ । पूर्वाधार विकासमा गाउँपालिकाले २१ करोड १२ लाख बजेटमार्फत विनियोजन गरेको छ । त्यसमा पनि सबैभन्दा ठूलो रकम गाउँपालिकाको भवन, सामुदायिक भवन र अन्य भवन मर्मतमा विनियोजन भएको छ ।

Advertisement

यसका लागि ४ करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ ।

विभिन्न सडक निर्माण तथा स्तरोन्नति, नयाँ ट्रयाक ओपन र गोरेटो बाटो सुधारका लागि २ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले आयआर्जनसम्बन्धी सचेतनामूलक तालिम दिनमात्रै ५८ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको छ । युवा स्वरोजगार कार्यक्रम, बिऊ पुँजी कोष तथा अन्य आयआर्जन कार्यक्रमका लागि ५७ लाख २५ हजार बजेट छ ।

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ करोड २३ लाख, सामाजिक सुरक्षासहित सर्शत अनुदान ३० करोड ५० लाख, राजश्व बाँडफाँटबाट प्राप्त हुने ८ करोड ६० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड १९ लाख २९ हजार, प्रदेश सरकारको राजश्व वाँडफाँडबाट प्राप्त हुने ३९ लाख १५ हजारसहित बजेट ल्याइएको हो ।

आन्तरिक आय तथा रोयल्टी बाँडफाँड रकम १ करोड ४५ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान १ करोड ५० लाख, संघ, प्रदेश जिल्ला समन्वय समिति साझेदारी अनुदान ५ करोड, झोलुंगेपुल सर्सत अनुदान ३ करोड र नगद मौज्दात १ करोड ८० लाख समावेश गरी ६१ करोड ३२ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा २०.४ प्रतिशत बढी हो ।

‘पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीका मुल आधार’ नारासहित बजेट ल्याइएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए ।

तपाईको प्रतिक्रिया