सच्चिएला त नेपाली कांग्रेस ?

समाधान संवाददाता २०७६ असार ११ गते १४:२१

किशोरदत्त बराल

राजनीतिक पार्टी प्रजातान्त्रिक समाजका महत्वपूर्ण मेरुदण्ड हुन् । यसैले प्रजातन्त्रको विश्वस्नीयता राजनीतिक पार्टीले आफ्नो आन्तरिक जीवनमा गरेका अभ्यासको आधारमा तय हुने विषय हो । त्यसमा पनि प्रजातन्त्रलाई आफ्नो पर्याय र आर्दश मान्ने नेपाली कांग्रेसका लागि आन्तरिक जीवनमा गरिने अभ्यास र ती अभ्यासको जगबाट उठेको राजनीतिक चेत र अनुशासनले मात्रै राजनीतिलाई सही दिशातर्फ लैजान सहयोग गर्छ ।

विडम्बना, नेपालको राजनीतिक इतिहासको सबभन्दा जेठो र बिपी कोइराला जस्तो महामानवको विचारबाट सिर्जित पार्टीको रुपमा गर्व गर्नु भन्दा बाहेक यतिखेर नेपाली कांग्रेससँग केही पनि रहे जस्तो देखिँदैन । न त उससँग कुनै दृष्टिकोण छ, न त कार्यक्रम । न अनुशासन छ, न उत्साह । नितान्त रित्तो र खोक्रो । इतिहासकै एउटा अत्यन्त अब्बल राजनीतिक पार्टी हेर्दा हेर्दै यति धेरै कमजोर हुनुको पछाडि निश्चय पनि धेरै कारण छन् । ती सबै कारणलाई यो एउटा सानो लेखभित्र बाध्न त्यति सम्भव पनि भएन । तथापि यसको विधानसँग सम्बन्धित भएर अलिकति भए पनि लेख्न र नेपालको सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको आन्तरिक जीवनभित्र भएको प्रजातन्त्र खोज्न मन लाग्यो ।

Advertisement

कुनै पनि राजनीतिक पार्टीको आन्तरिक जीवनको स्वस्थ्यता सम्बन्धित पार्टीले निर्माण गरेको उसको विधान र त्यसको प्रभावकारी कार्यान्वयनप्रतिको पारदर्शिता र इमान्दारिताले निर्धारण गर्छ । जुन राजनीतिक पार्टी आफैंले निर्माण गरेको विधानप्रति इमान्दार र जिम्मेवार रहन सक्दैन, त्यसले कुनै पनि ढंगबाट आफ्नो पार्टीको रक्षा गर्न सक्दैन । यतिखेर कांग्रेस त्यही अवस्थाबाट गुज्रिएको छ । पार्टीभित्र बहुमतको घोक्रो फुलाउने हुन् वा अल्पमतको आँसु थाम्न नसकेर रुने हुन्, दुवैले निर्लज्जताका साथ पार्टीको विधान माथि निर्मम तरिकाबाट प्रहार गरेका छन् ।

विधान सम्मत निर्णय नगर्ने जति गलत हुन्छन्, त्यति नै गलत विधान सम्मत भएका निर्णयको विरोध गर्ने पनि हुन्छन् भन्ने शाश्वत कुराको हेक्का राख्न नसक्दा अहिले कांग्रेस यति धेरै पातलो र फिक्का भएको हो । अहिले पार्टीभित्र संस्थापन हुने हिजो पार्टीको अल्पमतमा बसेर आँसु झारिरहेका थिए भने अहिले पार्टीभित्र अल्पमतमा पर्ने हिजो संस्थापन वा बहुमतमा बसेर घोक्रो फुलाएका थिए । कहिले सासुको पालो त कहिले बुहारीको । पात्र फेरिए तर संस्कार र प्रवृत्ति फेरिएन ।

Advertisement

कांग्रेसको १२ आंै महाधिवेशन पछि देखिने गरी छताछुल्ल भएको ६०÷४० को भागवण्डाको प्रवृत्ति यति खेर झनै झांगिएर डरलाग्दो भएको छ । यही भागबन्डाभित्रको परिणाम हो, अहिलेको कांग्रेस । यो भागबन्डाको विषयभित्र कुनै पनि पक्ष इमान्दार देखिन सकेका छैनन् । हिजो शेरबहादुर पक्षले ४० प्रतिशतको भागबन्डाको कुरा गर्दा पार्टीलाई कमजोर बनाउन खोजेको आरोप लगाउने रामचन्द्रपक्ष अहिले त्यही ४० प्रतिशत भागबन्डाको कुरा उठाउँदा कहाँनेर इमान्दार देखिन सके ? पार्टीभित्र धेरै अध्ययनशील र चिन्तनशील मानिने रामचन्द्रजीले यति सामान्य कुराको पनि किन हेक्का राख्न सक्नु भएन ?

हिजो शेरबहादुरजीले पार्टीभित्र ४० प्रतिशतको भागबन्डा उठाएको विषय गलत थियो भनेर प्रमाणित गरिदिनका लागि रामचन्द्रजीले त्यही खराब धरातलमा नटेकिदिनु भएको भए उहाँको उचाईसँगै कांग्रेसले तय गर्ने उचाई कति गर्व गर्ने खालको हुँदो हो । तर त्यस्तो हुन सकेन ।

आफूले सक्दा बहुमतको दम्भ प्रयोग गर्ने र नसक्दा सहमतिको विलाप गर्ने प्रवृत्ति नै कांग्रेस कमजोर हुनुको मुख्य कारण हो । कांग्रेसको विधानको धारा ४५ मा पार्टीका सबै निकायको बैंठकका लागि ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थितिलाई गणपूरक संख्या मानिने छ भन्ने स्पष्ट लेखेको छ । यसले के संकेत गर्छ भने पार्टीका सबै निर्णय जहिले पनि सहमतिको आधारमा मात्रै गर्न सकिने अवस्था हुँदैन भन्ने बुझेर नै पार्टीको निर्णय प्रक्रियामा बहुमतको व्यवस्था गरिएको हुन्छ ।

यदि बहुमतको आधारमा गरिने पार्टीका निर्णय गलत हुन भनेर बुझ्ने हो भने पार्टीको विधानमा नै गणपूरक संख्याको व्यवस्था हटाएर सबै तहको गठनमा निर्वाचन भन्ने शब्दको सट्टा सहमतिको शब्द राख्ने र सोहीअनुसार निर्णय गर्नु पर्ने हुन्छ । विधानमा एउटा व्यवस्था गर्ने र निर्णयमा अर्को प्रक्रिया खोज्ने सोच कुनै पनि हालतमा पार्टीको हित अनुकूल हुनै सक्दैन । यहाँ को बहुमत ? र को अल्पमतमा छ ? यो महत्वपूर्ण विषय होइन । बहुमत र अल्पमतको दम्भ र त्रासको लडाइले निर्माण गरेको अवस्था नै सबैको चासो र सरोकारको विषय हो ।

कांग्रेसको विधानले दिएको वैधानिक व्यवस्थामा रहेर केन्द्रीय समितिले निर्णय गर्दा कहाँनेर गलत हुन्छ ? कांग्रेसको विधानभित्र रहेर निर्णय गर्दा मान्दिन भनेर बंैठक बहिस्कार गर्ने, अधिकार विरोध गर्ने वा सडकमा छरपष्ट विरोध गर्र्नेलाई कांग्रेसको विधानको कुन धाराले दिएको छ ? पार्टी सभापतिले गरेका कुनकुन निर्णय विधान विपरीत छन् र ती निर्णय भएका कारण कांग्रेस कहाँ कमजोर भयो ? यदि साँच्चिकै विधान विपरीत निर्णय भएका छन् र त्यसको गलत प्रभाव पार्टीभित्र परेको बुझाइ रहेको भए त्यसको उपचारको व्यवस्था पनि स्वयं विधानमानै गरिएको छ ।

गलत निर्णय र कार्यको वैधानिक उपचारको बाटो अवलम्बन नगरी जथाभावी व्यवहार गर्दा प्राप्त हुने परिणामले नेतालाई पुढ्को त बनाउँछ नै तर पुढको हुन चाहने प्रवृत्तिले लोकतन्त्र र संंसदिय व्यवस्थालाई नै कमजोर बनाउँछ कि भन्नेतर्फ सबैको हेक्का रहन आवश्यक छ ।

अहिले कांग्रेसको वृत्तमा मात्रै होइन सडकमै सर्लक्क पोखिएको अर्को विषय भनेको कांग्रेसको संशोधित विधानमा महासमितिको भावना र निर्णयको उल्लघंन गरी केन्द्रीय कार्यसमितिबाट बहुमतको आधारमा विधान पास गराइयो भन्ने हो । यहींनेर ‘बुढी मरि भनेर नरुनु, काल पल्क्यो भनेर रुनु’ भन्ने उखान कांग्रेसमा चरितार्थ भएको छ ।

यदि पार्टी सभापति शेरबहादुर देउवाले विधानले दिएको अधिकार प्रयोग गरी (बहुमतकै आधारमा भए पनि सही) केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्यको मनोनयन वा पार्टीका विभिन्न समिति र विभागको गठनमा विरोध नगरी रामचन्द्रपक्षले विधानको व्यवस्थाको सम्मान गरी पार्टीको विधानलाई स्वभाविक गतिमा बग्न दिएको भए महासमितिले गरेको निर्णयको उल्लंघन गर्ने गलत धरातल पार्टी सभापतिलाई प्राप्त हुने थिएन कि ? एउटाले केन्द्रीय कार्य समितिको बहुमतको निर्णय मान्दिन भन्यो अर्कोले महासमितिको । कस्तो लज्जास्पद खेल । विधानमाथि बुर्कुसी, चहै चहै र कुरी कुरी ।

नेपाली कांग्रेसको विधान २०१७ को धारा १८ र २१ मा क्रमशः महासमितिको र केन्द्रीय कार्य समितिको गठनको व्यवस्था गरिएको छ । कांग्रेसलाई सही दिशामा लैजाने हो भने सबैले विधानको उक्त व्यवस्थाको सम्मान गर्नै पर्छ । वैधानिक र प्रजातान्त्रिक चरित्रले मात्रै मानिसलाई नेता बनाउने हो । नेता भनेको चरित्र, कार्यक्रम र दृष्टिकोण हो । पदले मात्रै मानिसलाई कहिले नेता बनाउन सक्दैन ।

यसतर्फ विशेष गरी पार्टीको प्रमुखको हिसाबले पार्टी सभापति शेरबहादुर देउवाले थप ध्यान पुर्‍याउनु पर्ने हुन्छ । पार्टी सभापति नै पार्टीको विधानप्रति जिम्मेवार र संवेदनशील हुन सक्नु भएन भने यो गलत क्रियाकलापको सहुलियत अरु धेरै मानिसलाई मिल्छ । यसैले ‘सौताको रिसले पोइको काखमा फोहोर’ गर्ने भने जस्तै केन्द्रीय कार्यसमितिको निर्णय मान्दिन भनेर अरु कसैले भनेको झोकमा केन्द्रीय कार्य समितिभन्दा माथिल्लो निकायको रुपमा रहेको महासमितिले गरेको निर्णयको बर्खिलाप सभापतिले गर्न मिल्दैन ।

जहाँसम्म कांग्रेसको महासमितिको बैंठक र यसले गरेको निर्णयको विषय छ, यसतर्फ सबैको चासो हुनु स्वभाविक छ । केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यको निर्वाचन बाहेक महाधिवेशनले गर्ने सबै कार्य महासमितिले गर्न सक्ने भएका कारण पनि यसको सर्वोच्चतालाई कसैले पनि अस्वीकार गर्न मिल्दैन, पाइँदैन । तर महासमितिको बैंठकले खोज्ने सघन बहस, छलफल र यसको मर्मप्रति कांग्रेसका अधिकांश महासमितिका प्रतिनिधिमा देखिने गैरजिम्मेवारीपनले कांग्रेसभित्रको मानसिक दरिद्रतालाई स्पष्टसँग देखाउँछ ।

महासमितिमा प्रतिनिधित्व गर्ने बहुमत प्रतिनिधि सर्कसको खेल हेर्न गएका दर्शक जस्तै केवल हल्ला गर्ने र ताली बजाउने मात्रै भए । यसलाई कहिले पनि कांग्रेसले विचारको थलो बनाउन सकेन । विचार र दृष्टिकोणको निर्माण गर्न स्वतन्त्रता, निर्भीकता र इमान्दारीता चाहिन्छ । लोभै लोभ र पापै पापको पोको बोकेर महासमितिमा भाग लिन जाने प्रवृत्तिले गर्दा कांग्रेसका केन्द्रीय तहका नेतालाई मनोमानी गर्न र आफू अनुकूल निर्णय गराउन सक्ने मार्ग प्रशस्त भएको हो ।

महासमिति जस्तो कांग्रेसको अत्यन्त महत्वपूर्ण नीति निर्माण तहलाई केन्द्रीय तहका नेताबाटनै कमजोर बनाउने प्रयास भएको छ । कांग्रेसको महाधिवेशन वा महासमितिमा भाग लिने प्रतिनिधिको छनोट क्षमता, इमान्दारिता र कांग्रेसप्रतिको निष्ठा र प्रतिबद्धताका आधारमा भन्दा आफ्नो मान्छ हो होइन वा आफूले भनेको मान्छ वा मान्दैन भन्ने आधारमा आफ्ना इष्टमित्र, नातागोता र लठैतलाई प्राथमिकतामा राखेर गरिन्छ । फलान मानिसलाई प्रतिनिधि बनाएर ल्याउनु र फलानालाई नल्याउनु भनेर केन्द्रीय नेताबाट हुने फर्मानलाई जिल्ला स्तरका नेता हुबहु आत्मसाथ गर्छन् र त्यही अनुसारको फर्मान क्षेत्रीय तथा स्थानीय तहमा निर्लज्ज जारी गर्छन् ।

यसरी विवेक र चेतनाशून्य मानिसले निर्माण हुने महासमितिले आफ्नो महिमा राख्न सक्ने कुरै भएन । यसैले त महासमितिको बैंठकभित्र रहेर कांग्रेसको भविष्य निर्माणको कार्य योजनामा अत्यन्त गम्भीरतापूर्वक चिन्तशील भएर लाग्नु पर्ने महासमितिका सदस्य या त नेताको घरको पिढी र पटाहामा घिनै नमानी लाम लाग्छन् या त महासमितिको बैठक बाहिर नेताले बोलाउने तारे होटलका कोठामा अटस–मटस आफूलाई उभ्याएर नेताको निर्देशनको प्रतिक्षा गरिरहन्छन् । यदि महासमितिका प्रतिनिधिले तागत निर्माण गर्न सकेको भए स्थानीय तहदेखिका कार्यकर्ताको हृदयको बिना महासभितिको बैठकमा बज्ने थियो । कार्यकर्ताको हृदय बिना नेता र महासमितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधिको स्वार्थ, लोभ र पापको अगाडि दबियो, मलीन भयो ।

केन्द्रीय नेतालाई स्थानीय तह र त्यहाँका कार्यकर्ताप्रति उत्तरदायी बनाउन सकियो भने मात्रै पार्टी संगठनलाई जगैदेखि बलियो बनाउँदै जहिले पनि चुस्त र दुरुस्त राख्न सकिन्छ भन्ने सम्मको सामान्य चेत निर्माणको दबाब पनि महासमितिले नेतालाई दिन नसक्नुले महासमितिको औचित्यता माथि स्वभाविकरुपमा प्रश्न उठेको छ । यो प्रश्नसँगै स्थानीय तहमा रहेर कार्य गर्ने सबै कार्यकर्ता उपेक्षित र अपहेलित हुन पुगेका छन् । अपहेलित र उपेक्षित पार्टी कार्यकर्ताको तहबाट कहिले पनि पार्टी संगठन बलियो र चुस्त हुन सक्दैन ।

यही अवस्थावाट पार्टीलाई जोगाउनका लागि कांग्रेसका आम कार्यकर्ताले केन्द्रीय पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानबाट हटाउनका लागि माग गरेका हुन् । यसका अलवा आरक्षण सीटप्रतिको आम कार्यकर्ताको भावना पनि विधानमा समेटिएको देखिएन । एक पटक आरक्षण सीटबाट प्रतिनिधित्व गरिसकेको व्यक्तिले फेरि पटकपटक त्यही सुविधा लिने अवस्थाले आरक्षणको मर्मलाई समेट्न सक्दैन । यो कांग्रेसका जिल्ला सभापतिको मात्रै माग होइन, यसमा आम कांग्रेसका प्रायः सबै तहका कार्यकताको मन र भावना मिसिएको छ ।

जिल्ला सभापतिले यस विषयको पक्षमा इमान्दारपूर्वक जोडदार आवाज उठाउनु भएको भए उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ । यो विषयलाई महासमितिको बंैठकले लिपिवद्ध गर्‍यो–गरेन त्यसले त्यति महत्व राख्दैन । यो भावनामा कांग्रेसका सबै कार्यकर्ताले रगत र पसिनाको लाहाछाप लगाएका छन् । यसको मर्मलाई कुनै पनि कारणले उपेक्षा गर्न मिल्दैन ।

माथि उठाइएका र भएका विषयले के देखाउँछ भने नेपाली कांग्रेसको आन्तरिक जीवन अत्यन्त अस्तव्यस्त र व्यक्ति केन्द्रित छ । आफू कहाँ रहने र कसरी रहने भन्दा बढी चासो र सरोकार यहाँ कसैलाई पनि छैन । विधानमाथि लात्ति हानेर भए पनि आफू र आफ्नो समूहलाई सुरक्षित राख्न सक्दा प्राप्त हुने खुसीभित्र मात्रै नेता केन्द्रित छन् । यहाँ कसैसँग पनि देश र जनताप्रतिको चासो भेटिँदैन ।

यसो हुनुको एउटा मात्रै गुदि कुरा के हो भने, यहाँ सही अर्थमा कोही पनि नेपाली कांग्रेसका शुभचिन्तक र कार्यकर्ता भएनन् । सबै नेताका गोजीका भए, नेताका हली, बाउसे र खेताला भए । यो अवस्थाबाट पार्टीलाई जोगाउने भनेको पार्टीलाई विधानसम्मत तरिकाबाट आफ्नै गतिमा हिँडन दिने हो । यसका लागि आदर्शवान, अनुशासित र स्वाभिमानी कार्यकर्ता चाहिन्छ । यस्ता कार्यकर्ताको निर्माण वर्तमान अवस्थामा हिँडिरहेको कांग्रेसको संरचनाबाट सम्भव छैन ।

नेताको गोजीबाट निकालेर बनाइएका अधिकांश क्रियाशील सदस्यलाई साविककै अवस्थामा राखेर कांग्रेस निर्माणको सम्भावना कहींकतै पनि देखिँदैन । यो समस्याको समाधान भनेको व्यक्तिगत महत्वाकांक्षा परिपूर्तिको अपेक्षा राखेर बनाइएका अधिकांश क्रियाशील सदस्यबाट निर्माण भएका कांग्रेसका सबै तहका वर्तमान निकाय भंग गर्नु हो । र कांग्रेसलाई अत्यन्त सूक्ष्म तरिकाबाट शल्यक्रिया गरेर नयाँ जीवन निर्माणको खाका तयार पार्ने हो । यसो गर्न सकियो भने मात्रै कांग्रेसलाई अगाडि बढाउन सकिने सम्भावना देखिन्छ ।

नेपाली कांग्रेसलाई बलियो बनाउने अर्को आधार भनेको कांग्रेसलाई विधानसम्मत हिँडन दिने राजनीतिक संस्कारको विकास गराउने हो । केन्द्रीय कार्यसमिति वा अन्य सबै तहका समितिलाई सहमतिको बखेडा झिकेर अवरुद्ध गर्ने अव्यवहारिकतालाई आमूलरुपमा नष्ट गर्ने हो । विधानले जुन व्यक्तिको नेतृत्वलाई एक कार्यकालको जिम्मा दिएको छ उसलाई विधानसम्मत तरिकाले हिँडन दिनै पर्छ । यद्यपि सहमतिको शब्द देख्दा र सुन्दा जति मिठो र प्रिय लाग्छ त्यसलाई व्यवहारमा उर्तान त्यति सजिलो भने छैन ।

यो सबैले बुझ्नु पर्छ, कुनै पनि व्यक्ति वा राजनीतिक पार्टीको जीवनको सबभन्दा बलियो समय भनेको वर्तमान हो । सबैको जीवनमा वर्तमान नै सबभन्दा ठूलो शक्ति हो । जसले वर्तमानलाई सर्वोत्तम तरिकाबाट प्रयोग गर्न सक्छ त्यो नै भोलि बलियो हुने हो । वर्तमानमा खराब बिउ रोपेर भविष्यमा असल फलको आशा किमार्थ गर्न सकिँदैन । जसरी हिजो शेरबहादुर पक्षले पार्टीभित्र ४० प्रतिशतको बिउ रोप्दा आज त्यसको फल अत्यन्त तितो भएको छ, त्यसरी नै त्यही फललाई पटक पटक कांग्रेसको बारीमा आज रोप्न खोज्नेको परिणाम पनि भोलि त्यही हुने हो । यसले कसैलाई पनि कही पुर्‍याउदैन ।

पार्टीले बहुमतको आधारमा निर्णय गर्दा केही समयका लागि कुनै व्यक्तिको महत्वाकांक्षामा ठेस लाग्न सक्छ तर व्यक्तिलाई लाग्ने ठेसलाई आधार मानेर सिंगो पार्टीको गतिलाई अवरुद्ध गराउन मिल्दैन । यदि बहुमतको निर्णयले पार्टीलाई कही कतै चोट लाग्यो भने त्यसको उपचार विधानभित्रै छ त्यही खोज्नु पर्छ । जहाँसम्म कांग्रेसको महाधिवेशनमा स्वतः महाधिवेशन प्रतिनिधि हुने र एउटै व्यक्ति पनि पटकपटक आरक्षण कोटाबाट सुविधा लिन सक्ने गरी गरिएको विधानको व्यवस्था छ त्यो पूर्णरुपले आम कार्यकताको भावना र महासमितको बैठकको मर्म विपरीत छ । यसलाई आवश्यक प्रक्रियाबाट तुरुन्त सच्याउनु पर्छ ।

जय नेपाल !

तपाईको प्रतिक्रिया