व्यासको बजेट १ अर्ब ३८ करोड

समाधान संवाददाता २०७६ असार ११ गते १४:३६

कृष्ण न्यौपाने
दमौली

तनहुँको व्यास नगरपालिकाले १ अर्ब ३८ करोड ३ लाख २५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबारदेखि सुरु भएको नगरसभामा नगर उपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख जोशीका अनुसार सडक र नालातर्फ २७ करोड २३ लाख ६५ हजार, खानेपानीमा ४ करोड ४७ लाख २५ हजार, खेलकुदतर्फ १ करोड ३३ लाख र पर्यटनतर्फ ४ करोड ९१ लाख विनियोजन गरिएको छ । कृषि सिंचाईतर्फ ३ करोड ४१ लाख ४५ हजार, शिक्षातर्फ ३८ करोड ६० लाख ३६ हजार, सहकारी प्रबद्र्धन गर्न ७ लाख ५० हजार, वित्तीय व्यवस्थापनतर्फ १० लाख र उद्योग प्रबद्र्धनका लागि २१ लाख ५० हजार विनियोजन गरिएको छ । स्वास्थ्य तथा सरसफाइमा ९ करोड ७६ लाख ७० हजार, वन वातावरण तथा विपत् व्यवस्थापनमा २ करोड ५ लाख ५० हजार, नवीकरणीय उर्जा, सडक बत्ती विस्तार एवं व्यवस्थापनतर्फ ५२ लाख १० हजार, गाउँनगर साझेदारी कोष सञ्चालनका लागि १ करोड ६४ लाख विनियोजन गरिएको छ । दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपांगता, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकास, ज्येष्ठ नागरिक, बालबालिका, मेलमिलाप केन्द्र एवं न्यायिक समिति प्रबद्र्धनका लागि १ करोड ७० लाख विनियोजन गरिएको छ ।

Advertisement

नगरपालिकाले आयतर्फ संघ सरकारको सशर्त अनुदान ४१ करोड ७३ लाख, संघ सरकारको वित्तीय समानीकरण अनुदान १९ करोड २० लाख, संघ सरकारको सामाजिक सुरक्षा अनुदान १६ करोड, आन्तरिक स्रोतको आय १४ करोड ८५ लाख, संघ सरकारको राजस्व बाँडफाँट १४ करोड ८५ लाख, सञ्चित कोषको अल्याबाट ११ करोड, राजस्व बाँडफाँट अन्तर्गत मालपोत रजिस्ट्रेसनबाट ५ करोड, संघ÷प्रदेश समपूरक अनुदान ५ करोड, संघबाट वडा स्वास्थ्य संस्था भवन निर्माण अनुदान २ करोड ८० लाख हुने अनुमान गरेको छ ।

त्यस्तै जनसहभागितामा नगदबाट २ करोड, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड ३२ लाख ३१ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १ करोड १२ लाख ४४ हजार, संघ सरकारको सडक बोर्ड नेपालबाट ७५ लाख, अन्य संघसंस्थाबाट ७० लाख, गाउँ नगर साझेदारी कोषबाट १ करोड ६४ लाख आय हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष ०७५÷७६ को जेठ मसान्तसम्म कुल यथार्थ आय १ अर्ब ३ करोड ६९ लाख ७४ हजार ८ सय १७ र कुल व्यय ६९ करोड ८७ लाख ७८ हजार २ सय ६६ रहेको नगरपालिकाले जनाएको छ । यसअघि विसं २०७५ माघमा चौथो नगरसभाबाट पारित चालु आर्थिक वर्ष ०७५÷७६ को संशोधित आय संघ सरकारबाट प्राप्त अनुदान ८९ करोड १६ लाख २१ हजार, प्रदेश सरकारबाट प्राप्त अनुदान २ करोड ७१ लाख ६७ हजार ४ सय ५, आन्तरिक स्रोतबाट प्राप्त १४ करोड ७२ लाख ८८ हजार, अन्य आयबाट प्राप्त ५ करोड १९ लाख ६७ हजार ३ सय ८४ र अघिल्लो आर्थिक वर्षको अल्या ८ करोड ४२ लाख ४१ हजार ७ सय २२ गरी जम्मा १ अर्ब २० करोड २२ लाख ८५ हजार ५ सय ११ अनुमान रहेको थियो ।

Advertisement

खर्चतर्फ चालु खर्च ७० करोड ५१ लाख ३८ हजार ८ सय, पुँजीगत खर्च ४९ करोड ७१ लाख ४६ हजार ७ सय ११ गरी जम्मा १ अर्ब २० करोड २२ लाख ८५ हजार ५ सय ११ संशोधित खर्च अनुमान गरिएकोमा असार मसान्तसम्म कुल आय १ अर्ब २२ करोड ३४ लाख ८३ हजार ५ सय १२ र कुल खर्च १ अर्ब २२ करोड ३४ लाख ८३ हजार ५ सय १२ हुने संशोधित आयव्यय अनुमान गरिएको छ ।

आर्थिक विधेयक प्रस्तुत
नगरसभामा मंगलबार व्यास नगरपालिकाको आर्थिक विधेयक २०७६ प्रस्तुत गरिएको छ । आर्थिक समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले उक्त विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयक माथि बुधबार छलफल हुने नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

‘विविधतायुक्त गाउँ सहरः समृद्ध मेरो व्यास नगर’ निर्माण
व्यास नगरपालिकाले ‘विविधतायुक्त गाउँ सहरःसमृद्ध मेरो व्यास नगर’ निर्माण गर्ने दीर्घकालिन सोचबाट निर्देशित भई आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको नगरसभामा आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मीरा जोशीले नगरपालिकाको समतामूलक विकास र समृद्धि हासिल गर्न १५ औं योजनाको आधारपत्र, नेपाल सरकार, गण्डकी प्रदेश सरकारको समष्टिगत आर्थिक नीति, दीगो विकास लक्ष्य प्राप्तिका अन्तर्राष्ट्रिय मान्यता र विषयगत गुरुयोजनाका प्रस्तावलाई मार्गदर्शनको रुपमा लिइएको बताइन् ।

कृषि उपज संकलन केन्द्र निर्माण
नगरपालिकाले नगरस्तर र वडास्तरमा न्यूनतम एउटा कृषि उपज संकलन केन्द्र निर्माणलाई प्राथमिकतामा राखेको छ । जिल्लाका किसानले उत्पादन गरेको कृषि सामग्री बिक्री गर्ने व्यवस्था मिलाउन नगरस्तरीय कृषि बजार केन्द्र र वडास्तरमा न्यूनतम १ कृषि उपज संकलन केन्द्र निर्माण गरिने जोशीले बताइन् । उनका अनुसार यस कार्यक्रममा कृषि व्यवसायीलाई प्रोत्साहन दिने नीति लिइएको छ ।

कृषि, बागवानी, मत्स्य, पशुपंक्षीपालन, मौरीपालन, तरकारी तथा फलफूल लगाउने, कौशी तरकारीबाली क्षेत्र नक्सांकन गरी प्रांगारिक खेती प्रणालीलाई अगाडि बढाउने नीति लिइएको छ । कृषि, कृषि उद्यमी, किसान समूह र कृषि व्यवसायमा आधारित सहकारीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरी नगरपालिकाभित्र उत्पादित सहकारीमार्फत् बिक्री हुने खसी, बोका र दूधमा प्रोत्साहन स्वरुप कार्यविधि बनाई आर्थिक सहयोग उपलब्ध गराइनेछ । व्यावसायिक बाख्रापालन, माछापालन, स्थानीय जातको सुगुर, कुखुरा, गाई, भैसीपालन र व्यवस्थापन कार्यक्रममा प्रोत्साहन गरी पशुपंक्षी बजार प्रबद्र्धन कार्यक्रम अगाडि बढाउने नीति नगरपालिकाले लिएको छ ।

पर्यटन क्षेत्रलाई विशेष महत्व
नगरपालिकाले नगरको विकासमा पर्यटन क्षेत्रलाई महत्वका साथ प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलको पहिचान गरी पर्यटन क्षेत्रको विकासमा विशेष सहयोग गर्ने नीति लिएको उपप्रमुख जोशीले बताइन् । उनका अनुसार व्यास जन्मभूमि, पराशर ऋषिको तपोभूमि, छाब्दी बाराही मन्दिर, अकला मन्दिर, तनहुँसुर दरबार, गलेखामकोट, कर्लुङकोट, क्यामिन कालिका, सहिद जंगलपार्क, मानहुँ, पुलिमराङको संरक्षण र विकास गरी पर्यटकीय क्षेत्रको विकासमा विशेष कार्यक्रम ल्याइनेछ ।

शैक्षिक हब बनाइने
नगरपालिकाभित्र सञ्चालन भएका शैक्षिक संस्थाहरुको व्यवस्थापन र गुणस्तर सुधारलाई प्राथमिकताम राखी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकसित गरिनेछ । त्यसको लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुको भौतिक सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग गरिने नीति नगरपालिकाको छ ।
नगरभित्रका प्रत्येक वडामा १÷१ नमूना विद्यालयको छनौट गरी नमूना विद्यालय सञ्चालन गर्ने नीति लिएको नगरपालिकाले अन्य विद्यालयमा गुणस्तर वृद्धिका विभिन्न कार्यक्रममा सहयोग गर्ने तयारी गरेको छ ।

अस्पताल स्तरोन्नतिमा पहल
जिल्लास्तरीय दमौली अस्पतालको स्तरोन्नति गर्नका लागि प्रदेश सरकारसँग सहकार्य गर्ने नीति नगरपालिकाले लिएको छ । हाल १५ शैयाको रुपमा सञ्चालित अस्पताललाई न्यूनतम ५० शैयाको अस्पताल बनाउन पहल गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल स्तरोन्नतिका लागि ३५ रोपनी जग्गा आवश्यक पर्दछ । तनहुँको साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधासम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको छ ।

प्रत्येक वडालाई एक करोड
नगरपालिकाले पूर्वाधार निर्माणमा प्रत्येक वडा कार्यालयलाई १ करोड विनियोजन गरेको छ । वडाका निर्वाचित प्रतिनिधिहरुको उत्तरदायी बढाउन र वडावासीहरुसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न बिना भेदभाव सबै वडालाई समान रुपमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाबाट सञ्चालित योजनालाई व्यवस्थित बनाउन १ वडा १ प्राविधिकको व्यवस्था, नगर यातायात सञ्जाल विकास गर्न र नगर बस सञ्चालन गर्न सम्भाव्यता अध्ययन, काठेपोल विस्थापन गरी स्टिलको पोल व्यवस्थापन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश छ ।

तपाईको प्रतिक्रिया