—सम्पादकीय— नेपाली खानाको प्रवद्र्धन

समाधान संवाददाता २०७६ असार ११ गते १५:१६


नेपाल संस्कृतिमा धनी छ । नेपालको आफ्नै कला र शैली छ । परम्परा र रीतिरिवाज छ । भाषा र भेषभूषा छ । संस्कृतिकै कुरा गर्दा खाद्य संस्कृतिमा पनि नेपाल गरिब होइन । तराई, पहाड र हिमालमा थरीथरी अन्न फल्छ । उष्ण र शीतोष्ण हावापानीमा अनेक प्रकारका फलफूल फल्छ । बासमती चामलको प्याटेन्ट राइट नेपालसँगै छ । संसारकै सबैभन्दा अग्लो ठाउँमा धान फल्छ, जुम्लामा । त्यहाँको मार्सी जति तागतिलो चामल अरु छैन ।

विभिन्न जाति खानाका परिकार बनाउन खप्पिस छन् । तराईंमा औलोसँग जुध्ने तागत दिने खाद्यपदार्थ थारु जातिसँग छ । हिमालमा जाडोसँग जुध्ने खाद्यपदार्थको जोहो हिमाली जातजातिले गरेका छन् । काठमाडौं उपत्यकाको उर्वरभूमिका फल्ने थरीथरी खाद्यान्नको अनेक प्रकार बनाउन नेवार जातिसँग जस्तो सीप अरुसँग बिरलै छ ।

मुस्ताङको सिमी होस् या पोखराको जेठोबुढो चामल वा तनहुँका कालो दाल । यी स्वादिलामात्रै छैनन्, आँतिला पनि छन् । तर अचेलका पर्यटकीय रेस्टुरेन्टमा नेपाली खानाको मेनु हुँदैन । हुन्छ त केवल पश्चिमाका खानाको ।

Advertisement

के पश्चिमाका खाना स्वाद र तागतमा सर्वाेत्कृष्ट भएर त्यसो भएको हो त ? चामल, आलु, गहुँ, कोदो, मकै, फापर, जौ, लगायत खाद्यान्नबाहेक अरु केहीबाट बन्छ र पश्चिमाको खाना ? त्यस्तो त होइन । उनीहरुका खानाका कच्चापदार्थ त्यही हो जुन हाम्रो पनि हो, संसारभरि नै हो । पश्चिमा पनि खाद्यान्नबाट खाना बनाउँछन् न कि धातु वा अरु केहीबाट । मानव शरीरले खाद्यान्न, फलफूल र माछामासु, दूधदहीबाहेक अखाद्य पदार्थ लिन पनि लिँदैन । तर फरक के हो भने नेपाली खानाको प्रचार भएको छैन । बन्दागोभीको अचारलाई नै कोरियाली किम्ची भनेर प्रचार गर्छ र गर्वसाथ अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँछ ।

पिजा आखिर मैदाकै पिठोको रोटी न हो, युरोपेलीले त्यसलाई संसारभर परिचित गराइदिए । त्योभन्दा स्वास्थवद्र्धक त हाम्रै कोदोको रोटी हुने थियो । तर हामीले त्यसलाई ब्रान्डिङ गर्न सकेका छैनौं । जेठोबुढो चामलको भात, दाल र तरकारीलाई थकाली खानाका रुपमा प्रचार गर्न सकेका छैनौं । सिस्नोको झोललाई ब्रान्डिङ गरेर स्टार होटलमा सुप बेच्न सकेका छैनौं । भिटामिन ए क्याल्सियमको भण्डार कर्कलोलाई भेटिटेबलका रुपमा पस्कन सकेका छैनौं । खोले साग खोलानालामै मिल्किएको छ । वनपाखाको निउरो कताकति डाइनिङ टेबुलसम्म आइपुग्छ ।

Advertisement

ब्रान्डिङ र बजारीकरणबाटै नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने हो । ब्रान्डिङ नगरी धरै छैन । रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले असार १३ गते नेपाली खाना प्रवद्र्धन गर्न महोत्सव राखेको छ, जसलाई नेपाली खाना ब्रान्डिङको सुखद सुरुआत मान्न सकिन्छ । पर्यटनकर्मीले जति पनि मेला–महोत्सव गरे र गर्दै आएका छन्, सधैं पश्चिमा देशका खानाको पनि प्रचार हुँदै आएकोमा अब नेपाली खानाको प्रचार सुरु भएको छ । विदेशीलाई हाम्रा खाना खुवाउँदा उनीहरुको जिब्रोले स्वाद फेर्ने मौका पनि पाउँछ । अन्तर्राष्ट्रिय बजारसम्म नेपाली खाना चिनिन्छ । हाम्रो खाना खुवाउँदा हाम्रो अर्थतन्त्रलाई पनि फाइदा पुग्छ । रेबानले आउँदा वर्षमा पनि खाना महोत्सवलाई निरन्तरता दिने भनेको छ । सुरुआतमात्रै ठूलो कुरा होइन, निरन्तरता नै महत्वपूर्ण हो । नेपाली फुड फेस्टिभलले निरन्तरता पाओस् । शुभकामना !

तपाईको प्रतिक्रिया