पोखरा महानगरको बजेटबारे जनप्रतिनिधिको भनाइ

समाधान संवाददाता २०७६ असार ११ गते १६:०७

कार्यान्वयनमा शंका
रामराज लामिछाने
वडाध्यक्ष, पोखरा ९

सार्वजनिक भएको बजेट कार्यान्वयनमा पर्याप्त शंका छ । चालु आवकै बजेट जम्मा ५९ प्रतिशत बजेटमात्रै खर्च भएको छ । आगामी वर्षको बजेट पनि पूर्ण रुपमा कार्यान्वयन नहुने किसिमको आएको छ ।
सामाजिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा न्यून बजेट छ । पूर्वाधारमा अत्यधिक बजेट छ । बजेट एकदम अमूर्त जस्तै छ । बसपार्कका लागि बजेट छुट्टाइएको भनिएको छ तर कति बजेट हो यकीन छैन । यसखालका बजेट शीर्षक भोलि प्राथमिकतामा नपर्ने हुन् कि भन्ने हाम्रो भनाइ हो । वडागत बजेट छुट्टिएर आएपछि हामी बजेट उपर सहमत हुने वा नहुने छलफलको विषय बन्ला तर बजेट उत्साहजनक मान्दैनौं ।

विष्णुमाया परियार
वडा सदस्य, पोखरा ४

फिर्केखोलामा फुट ट्र्याक बनाउने भनिएको थियो पहिलेबाट तर यसपालि बजेट आएन । प्राथमिकताका क्षेत्रलाई बजेटले समेट्न नसकेको हो की जस्तो छ । महिला तथा बालबालिकाको क्षेत्रमा समेत जति मात्रामा आउनुपर्ने थियो त्यस अनुरुप नआएको देखिन्छ ।
विनियोजन गरेअनुसारको बजेट कार्यान्वयन सम्भव छ छैन भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । विगतको कामको परिपाटी हेर्दा आगामी वर्ष पनि कार्यान्वयन सवालमा उस्तो निरन्तरता हुने हो भने खर्चमा समस्या देखिन्छ । वडासदस्यहरुलाई नीति एवं बजेटमार्फत सम्बोधन गरिएन । जनप्रतिनिधि त भइयो तर भोटरजस्तो मात्रै भूमिका छ ।

सबैलाई समेट्यो
शारदा पराजुली
वडाध्यक्ष, पोखरा १

महानगरले सार्वजनिक गरेको बजेट समग्रमा सबै पक्षलाई जोड दिएर आएको छ । आम नगरबासीहरुको अपेक्षा के हुन्छ भने आँखाले देखिने गरी भएका कामलाई मात्र प्रभावकारी ठान्ने देखिन्छ । तर मानव संसाधन सम्बन्धी विकासमा छिट्टै नजिता आउँदैन र नदेखिने पनि हुनसक्छन् ।
स्मार्टसिटीको योजना बनाउने तर त्यस किसिमको पूर्वाधार बनाउने मानव संसाधन भएन भने योजना अनुसारको परिणामुखी नजिता नआउन सक्छ । बजेटले मानव संसाधन विकासलाई जोड दिएको छ । जनताका आकांक्षा त धेरै हुनु स्वाभाविक हो । प्राथमिकताका आधारमा कुन योजनालाई पहिले सम्पन्न गर्दा नागरिकका दैनिकी सहज हुन्छन् भन्ने किसिमबाट काम गर्न बजेट विनियोजन भएको देखिन्छ ।

मनगढन्ते बजेट
पूर्णकुमार गुरुङ
वडाध्यक्ष, पोखरा २७

बजेट प्रष्ट देखिएन । कार्यान्वयनमै समस्या हुने देखिन्छ । प्राथमिकताका क्षेत्रमा समेत बजेट छैन । महानगरस्तरीय बाल सञ्जाल हामी बनाउँदैछौं तर त्यसमा बजेट सम्बोधन नै गरेको छैन । धेरैजसो कार्यक्रमहरु त्यस्ता छन् जो कार्यान्वयन नहुने पर्याप्त शंका छ ।
मनगढन्ते हिसाबले बजेट आएको छ । उठ्नुपर्ने रकम पोहोर पनि उठेको छैन, यसपटक पनि उस्तै परिपाटी दोहोरिएको देखियो । हालसम्म रातोकिताब हात परेको छैन । सरसर्ती हेर्दा ग्रामीण भेगसहित बनेको महानगरमा अधिकांश कार्यक्रम बजार केन्द्रित छन् । पहुँचको आधारमा बजेट जान्छ कि भन्ने शंका छ ।

Advertisement

तपाईको प्रतिक्रिया