कांग्रेसका वडाध्यक्षले रेडबुक च्याते

विकास रोकामगर
पोखरा
पोखरा महानगरपालिकाको वार्षिक बजेट विवरण (रेडबुक) कांग्रेस निकट वडाध्यक्षहरुले च्यातेका छन् । पाँचौ नगरसभाको चौथो दिन बुधबार आएको रेडबुकमा उनीहरुले असहमति जनाउँदै च्यातेका हुन् ।
प्रतिनिधि सभामा सांसदहरुले कुर्ची, माइक भाँच्ने, बजेट च्यात्ने गरेका दृश्य पुराना हुँदा पोखरा नगरसभामा वडाध्यक्षसहितका जनप्रतिनिधिले कुर्ची र कुलरलाई लात्ताले हान्ने र रेडबुक च्यात्ने हर्कत गरेका छन् । प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण हुँदा त्यस्ता दृश्य जनताको नजरबाट छिप्न पाउँदैनन्, तर नगरसभा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छैन ।
रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको पोखरा ९ वडाध्यक्ष रामराज लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन,’ उनले भने, ‘बजेट पनि समान रुपमा वितरण भएको छैन ।’
पहिले रेडबुक अध्ययन गर्न माग्दा मेयर मानबहादुर जिसीले ‘आउँछ, आउँछ’ भनेर टारेको तर पछि ३ बजे रेडबुक बाँडेर समय नै नदिई जबर्जस्ती पारित गरिएको वडाध्यक्ष लामिछानेले आरोप लगाए । ‘रेडबुक नै ढिलो आयो । ढिलो आएको रेडबुकको छलफलका लागि समय दिनुपथ्र्यो,’ उनले भने, ‘पछि बोल्ने भनेर बोल्नै दिइएन । अनि मेयर साबले एक्कासि पारित गर्ने भनेर भन्नुभो ।’
पोखरा महानगरका मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका हुन् । बजेट नगरस्तरीय आए पनि वडास्तरीय नआएको उनीहरुको आरोप छ । बजेट पूरै केन्द्रीकृत रुपमा आएको र महानगरले पनि आफ्नो बजेट वडालाई नदिएर एकलौटी रुपमा आफूलेमात्रै राखेको लामिछानेले दाबी गरे । पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले रेडबुक च्यातेपछि टेबुल उचालेर फालेका थिए । हेर्नुहोस् भिडियो
‘कुनै वडामा अत्याधिक धेरै छ । कुनै वडामा अत्यन्तै न्यून छ,’ वडाध्यक्ष लामिछानेले भने, ‘विषयगत रुपमा बजेट ल्याउँछौं भनेर भनेर सबै बजेट पूर्वाधारमा थुपारिएको छ ।’ उनले पोखरा वडा नम्बर १६, १७, २४, २९ लगायत वडामा अध्याधिक बजेट परेको दाबी गरे । महानगगरले सबैभन्दा बढी राजस्व उठ्ने ठाउँलाई पनि बजेटलाई उपेक्षा गरिएको उनको आरोप थियो ।
पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले बजेट विनियोजनमा कसैलाई पाखा कसैलाई काखा गरिएको आरोप लगाए । उनले भने, ‘बजेट समानुपातिक रुपमा आएको थिएन । मेयर सा’बसँग कुरा राख्न गएकै हो । उहाँले समय नदिएपछि साथीहरुले रेडबुक च्याते ।’
रेडबुकमा आएको बजेट विनियोजनबारे असहमति जनाउँदा मेयर मानबहादुर जिसीले ‘पख न भोलि मैसँग त हो बजेट माग्न आउने’ किसिमको प्रतिक्रिया दिएको वडाध्यक्षको आरोप छ । ‘हामी जनताले चुनेर जनप्रतिनिधि भएका हौं । उहाँले त्यसरी भन्नुहुन्थेन,’ पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले भने, ‘जनताबाटै उठेको रकमले त आएको हो बजेट । हामीले नै माग्न नपाउने ?’ उनले मेयरले अभिव्यक्ति र रेडबुक नसच्याउँदासम्म विरोध गर्ने र बिहीबार महानगरमा तालाबन्दी गर्ने धम्की दिएका छन् ।
पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको हो । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार पारित भएको छ ।
‘मेरो चित्त दुखाइ छ’
मेयर, मानबहादुर जिसी
योजना सबै वडाध्यक्षबाटै छलफल भएर सर्वसम्मत पारित भएका हुन् । बजेट पारित भइसकेपछि केही वडाध्यक्षले च्यात्नुभयो । प्रतिपक्षको धर्म निर्वाह गर्नुभएको होला, जुन प्रक्रिया अपनाउनुभयो, जुन आपत्तिजनक शब्दहरु प्रयोग गर्नुभयो, त्यसमा मेरो चित्त दुखाइ छ । केही असमझदारी भए लेखेर दिनुहोला, म सम्बोधन गर्छु भनेकै थिएँ । तर अलोकतान्त्रिक व्यवहार देखाउनुभयो । मैले महानगरमा प्रतिपक्ष र सत्तापक्ष सबैलाई समेटेर काम गरिरहेकै छु । तर साथीहरुले जुन ढंगले राजनीति गर्न खोज्नुभयो, मलाई दुख लागेको छ ।
तपाईको प्रतिक्रिया