—सम्पादकीय— नगर बजेटको प्राथमिकता

समाधान संवाददाता २०७६ असार १२ गते १४:११


आउँदो आर्थिक वर्षका लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट पोखरा महानगरपालिकाले अस्ति सोमबार सार्वजनिक गर्‍यो । स्थानीय तह सञ्चालन ऐन अनुसार बजेट उपमेयर मञ्जुदेवी गुरुङले पेस गरिन् । पोहोरसाल नयाँ नौलो हुनाले मेयर मानबहादुर जिसी आफैंले बजेट पेस गरेका थिए । कानुनी व्यवस्थाको हेक्का भइसकेपछि उपमेयरले अधिकारको अभ्यास गर्न पाइन् । यो सकारात्मक छ । कास्कीका अरु तहमा पनि पहिलोपटक अध्यक्ष आफैं अघि सरेका थिए बजेट ल्याउन । यसपालि उपाध्यक्षले मौका पाएका छन् । मानवीय कमजोरी यसैगरी सुधार्दै लैजाने हो ।

जनप्रतिनिधिलाई लोकप्रिय हुने भोक ज्यादा छ । प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि त्यस्तो लक्षण देखिन्छ । त्यसैले होला उनी तत्कालीन आवश्यकता सम्बोधन गर्दै दीर्घकालीन योजना ल्याउँदैनन्, दीर्घकालीन योजनाका सपना बिच्छ्याउँछन् र आफैं कुल्चल्छन् । जस्तो कि पानी जहाजको कुरा गरे, कार्यालय खोले । तर कार्यालयमा कर्मचारी व्यवस्थै गरेनन् । कामको सिन्को भाँचिएन ।

कर्णालीका कुना कन्दरामा बाटो पुर्‍याउने ध्याउन्न छैन, चीनबाट सुरुङ खन्दै रेल ल्याउने कुरा गर्छन् । रेल चाहिन्छ, पानी जहाज पनि चाहिन्छ । तर नेपालीको आजको आवश्यकता सम्बोधन गर्दै ती दीर्घकालीन योजनाको खाका कोर्दै काम गर्दै अघि बढ्नुपर्ने हो । पोखरा महानगरपालिकाले पनि पोहोर ल्याएको बजेटमा मोनोरेल कुदाउने सपना बिच्छ्याएको थियो । यसपालि हटाएछ । हो, पोखरामा मानोरेल कुदै जाती नै हुन्छ । तर त्यसभन्दा अघि पोखराको सडक यातायात व्यवस्थित हुन जरुरी छ । पार्किङ व्यवस्थापन गतिलो हुन जरुरी छ । भवन निर्माण आचार संहिता र मापदण्ड पालना कडाइका साथ गर्न जरुरी छ ।

Advertisement

महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटमा पार्किङ व्यस्थापनका लागि बहुतले पार्किङ भवन बनाउने योजना समावेश गर्‍यो । पोखरेली जनता योजनाबाट प्रफुल्ति पक्कै होलान्, तर त्यसको कार्यान्वयन भएन भने त्यो खुसी क्षणभंगुर सावित हुनेछ । भूमिगत पार्किङ बनाउने सडकहरु तोकिएको छ । त्यो कार्यान्वयन भइदिए यसपालिका जनप्रतिनिधिलाई दीर्घकालसम्म पोखरेलीले सम्झनेछन्, जसरी न्युरोड फराकिलो बनाएका तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र सरकारी अधिकारी पदम खत्रीले सम्झिरहेका छन् ।

पाठक तिनै व्यक्ति हुन्, जसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहण ४० वर्षअघि नै गरिदिएका थिए, र आज त्यहाँ आउँदा एकाध वर्षमै जहाज अवतरण हुनेवाला छ । जसरी महानगरले विकटका वडालाई निकट ल्याउन कनेक्टिङ रोड बनाउन बजेट ओइर्‍याएको छ, त्यसको नतिजा पक्कै ग्रामीण भेगका वडाबासीले पाउनेछन् ।

Advertisement

हिजो गाउँपालिकातिर जाने कि महानगर भनेर दोधार पर्दापर्दै महानगरमा मिसिएका गाविसका बासिन्दालाई पनि महानगर हुँदाको लाभ मिल्नेछ । लोकप्रिय नारा राखेर, लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउनुभन्दा तत्कालको आवश्यकता पूरा गर्दै दीर्घकालीन कार्यक्रमसमेत ल्याएको जाती । यस मानेमा पोखरा महानगरपालिकाको मूल्यांकन पक्कै आउने समयले गर्ने नै छ ।

तपाईको प्रतिक्रिया