म्याग्दीका पाँचै गाउँपालिकाको बजेट सार्वजनिक, बेनी नगरपालिकाको भने विवादले अन्योल

समाधान संवाददाता २०७६ असार १२ गते १४:१९

राकेश शर्मा
म्याग्दी

६ स्थानीय तह रहेको म्याग्दीमा ५ स्थानीय तहले आफ्नो बजेट सार्वजनिक गरेका छन् । बेनी नगरपालिकाले भने विवादका कारण नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन । म्याग्दीका ५ वटै गाउँपालिकाले असार १० गते अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार नै बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा बढी बजेट मालिका गाउँपालिकाको छ भने कम धवलागिरि गाउँपालिकाको छ ।

मालिकाको बजेट ३९ करोड ८७ लाख बजेट
म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३९ करोड ८७ लाख ९४ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा चांैथो गाउँसभाबाट बजेट सार्वजनिक भएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ २४ करोड ७४ लाख र पुँजीगततर्फ १५ करोड ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, चालु आर्थिक वर्षमा खर्च हुन बाँकी र आन्तरिक आम्दानीलाई स्रोत मानेर बजेट ल्याएको हो ।

Advertisement

धवलागिरिमा ३४ करोड २१ लाख
म्याग्दीको धवलागिरि गाउँपालिकाको मंगलबार मुनामा भएको छैटाै गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३४ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पुँजीगततर्फ ९ करोड ४७ लाख ३१ हजार गरी कुल ३४ करोड २१ लख ४८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । चालु शीर्षकको बजेट शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता र प्रशासनिक क्षेत्रमा परिचालन हुने जनाएको छ ।

पुँजीगत बजेट विकास योजना तथा कार्यक्रममा खर्च हुन्छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ७ करोढ १८ लाख, संघीय विभाज्य कोषबाट ७ करोड ७५ लाख, सशर्त अनुदान १२ करोड १५ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण १ करोड १९ लाख, प्रदेश राजस्व बाँडफाँड १८ लाख ६९ हजार र आन्तरिक आम्दानी २५ लाख रुपैयाँ अनुमान गरिएको छ । कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सडक, पुल, विद्युत, भवन, सिँचाइ, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, सामाजिक रुपान्तरण लगायत क्षेत्रलाई समेटेर बजेट तथा योजना बनाएको अध्यक्ष थमसरा पुनले बताइन् ।

Advertisement

अन्नपूर्णको बजेट ३४ करोड
कृषि, पर्यटन, जलस्रोत, शिक्षा र रोजगारलाई प्राथामिकता दिएर अन्नपूर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग, पर्यटन शिक्षा स्वास्थ्य लगायतका विभिन्न शीर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ । गाउँपालिका प्रमुख डमबहादुर गर्बुजा पुनले जनताले प्रत्यक्ष अनुभूति गर्ने नीति तथा कार्यक्रम मार्फत गाउँपालिकालाई आर्थिक, सामाजिक रुपमा समृद्धि बनाउने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए ।

गाउँपालिकाको केन्द्र पोखरे बगरमा आयोजित गाउँसभामा कृषि, पर्यटन, जलविद्युत, रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको नीति तथा कार्यक्रमसँगै प्रस्तावित बजेटले विगतमा योजनाले जनताको आवश्यकताको विकासको बाटो तय गरेको उल्लेख गर्दै अध्यक्षसँग लागुऔषध दुव्र्यसनी नियन्त्रण कार्यक्रम, अध्यक्षसँग ज्येष्ठ नागरिक साक्षात्कार तथा सम्मान कार्यक्रम र उपाध्यक्षसँग महिला सशक्तीकरण कार्यक्रमलाई जोड दिएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै व्यावसायीकरण गर्ने घुम्ती खेती प्रणालीलाई प्रोत्साहन गर्दै जमीन बाँझो छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने जस्ता कार्यक्रम ल्याएको छ ।

मंगलामा ३५ करोड
मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बाबियाचौरमा भएको सातौं गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड ७ लाख ६९२ र पुँजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार गरी कुल ३५ करोड ३ लाख ९५ हजार रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले सार्वजनिक गरेकी हुन् । संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, चालु आर्थिक वर्षमा खर्च हुन बाँकी र आन्तरिक आम्दानीलाई स्रोत मानेर बजेट ल्याएको हो । मंगलाले सडक, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको छ । नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिका केन्द्र बाबियाचौरदेखि वडा र बस्ती जोड्ने सडकलाई स्तरोन्नति गरी वातावरणमैत्री बनाउने र नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।

सडक स्तरोन्नतिका लागि ३ करोड ७६ लाख, विद्यालय र सामुदायिक भवनका लागि ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको मंगलाले १ घर १ धारा को अवधारणा अनुसार खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ । सिँचाइ आयोजनालाई ५० लाख रुपैयाँ र कृषि तथा पशुपालनमा १ करोड २६ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । बाबियाचौरमा ढल निकासका लागि २५ लाख, विपद् पीडितलाई राहत र जटिल रोगबाट थलिएकालाई उपचार सहयोगका लागि १६ लाख, तालिम तथा क्षमता विकासका लागि ४० लाख, शून्य दरबन्दीका सामुदायिक विद्यालयलाई लागत सहभागितामा आधारित अनुदानका लागि ३२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

रघुगंगामा ३१ करोडको बजेट
रघुगंगा गाउँपालिकाले चालुतर्फ १९ करोड ८३ लाख रुपैयाँ र पुँजीगततर्फ ११ करोड ५८ लाख ३१ हजार बजेट गरी ३१ करोड ४१ लाख ३१ हजारको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा चालु खर्च १४ करोड ४५ लाख ३१ हजार ९ सय ६१ तथा पुँजीगत खर्च ४ करोड ७७ लाख ४२ हजार गरी जम्मा १९ करोड १६ लाख ९० हजार ७ सय ३८ व्यय भएको पालिकाले यसवर्ष विभिन्न शीर्षकमा ३१ करोड ४१ लाख ३१ हजारको बजेट गाउँसभामा पेस गरेको छ । सडक पूर्वाधार, खानेपानी, ऊर्जा विकास, सहरी विकास, पर्यटन, कृषि, सहकारी, वन वातावरण र विपद् व्यवस्थापन, शिक्षा, युवा तथा प्रविधि, स्वास्थ्य, सामाजिक संरक्षण र नागरिक संरक्षण, संस्कृति र सुशासन र सार्वजनिक सेवा प्रवाह लगायतको शीर्षकमा बजेट सार्वजनिक गरेको छ ।

आगामी वर्षको व्ययको आधारमा पदाधिकारी र कर्मचारी तलब, भत्ता, पानी तथा बिजुली महसुल, घरभाडा, करार सेवा शुल्क सबै कार्यक्रम खर्च, औषधी व्यवस्थापन खर्च, राहत उद्धार खर्च, शैक्षिक संस्थालाई अनुदान जस्ता प्रशासनिक प्रकृतिका चालु खर्चको लागि चालु शीर्षकमा ६ करोड १ लाख विनियोजन गरिएको र जुन कुल बजेटको १९ प्रतिशत भएको छ र रकम चालु आवको तुलनामा ९० लाख ७१ हजार कम रहेको पेस गरेको बजेटमा देखिएको छ । आगमी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ करोड ६६ लाख, संघीय विभाज्य कोषबाट हुने राजस्व बाडँफाडँबाट ७ करोड २ लाख, सशर्त अनुदान १३ करोड ८२ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड २० लाख १२ हजार प्रदेश राजस्व बाडँफाडँबाट ३१ लाख १९ हजार आन्तरिक राजस्वबाट प्राप्त हुने ४० लाख व्यहोर्दा १ करोड न्यून हुन आउने र यसको उपयोग चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहनेबाट गरिने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया