म्याग्दीका ३ गाँउपालिकामा वडैपिच्छे हेलिप्याड
राकेश शर्मा
म्याग्दी
तीन गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण हुने भएको छ । धौलागिरी, अन्नपूर्ण र मालिका गाउँपालिकाका सबै ३३ वडामा हेलिप्याड बनाउन लागिएको हो ।
६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । भौगोलिक रुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपतकालीन र विपद्को अवस्थामा उद्धार तथा राहत व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मंसिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको थियो ।
नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलीप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा कल्व र आमा समूहको सहयोगमा सबै वडामा हेलीप्याड बनाएको जनाएका छन् ।
धवलागिरीको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलिप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले बताइन् । हेलिप्याड निर्माणका लागि धवलागिरी गाउँपालिकाले ७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । हेलिप्याड बनाउन भिरालो जमिन सम्माइएको छ । त्यहाँसम्म पुग्ने बाटो बनाइएको छ । अन्नपूर्णको दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानको घराम्दी र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलिप्याड बनाइएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तीहरुमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगोलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ लीलाधर अधिकारीले बताए ।
नेपालमा नै पहिलोपटक म्याग्दीमा १ वडा १ हेलिप्याड निमार्ण अभियान सञ्चालनमार्फत अहिलेसम्म ३३ वडा बनाएको प्रजिअ अधिकारीले बताए । ‘म्याग्दीका सबै वडामा ३ वर्षसम्म बनाइसक्ने योजना बनाएका थियौँ तर ९ महिनामा नै ३३ वटा बनिसकेका छन् । अब दसंैसम्ममा सबै वडामा हेलिप्याड निर्माण गरिसकिने छ,’ उनले भने ।
बेनी नगरपालिकाको गलेश्वर र भकिम्लीको डोलेमा हेलिप्याड बनाइएको छ । अर्थुंगेको श्रीबक्स गुल्मीभित्र रातिको समयमा पनि हेलीकप्टर अवतरण गर्न सक्ने नाइटभिजन हेलीप्याड निर्माण भएको छ । पुलाचौरको धार्मिक स्थल जगन्नाथ मन्दिर परिसरमा स्थानीयको सक्रियतामा हेलिप्याड निर्माण भएको छ । मंगला गाउँपालिकाको हिदी, कुहुँ र बरंजामा हेलिप्याड निर्माण भएको छ ।
मंगलाको २ वटा वडामा हेलिप्याड बनाउन बाँकी छ । आठ वटा वडा रहेको रघुगंगाको पिप्ले र दग्नाम बाहेकका वडामा हेलिप्याड बनिसकेको छ । हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेहरुलाई तत्कालै अस्पताल पुर्याउन सहज हुने प्रजिअ अधिकारीले बताए । धवलागिरी, अन्नपूर्ण, गुर्जा, पुथा लगायत म्याग्दीमा अवस्थित हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकलाई पनि सुबिधा पुग्ने जनाइएको छ ।
हिमआँधी, हिमपहिरो, पहिरो, बाढी, कटान, आगोलागीका साथै दुर्घटनाका घाइतेहरुलाई हेलीकप्टर मार्फत तत्कालै अस्पताल पु¥याउन सकिने अपेक्षा गरिएको छ । म्याग्दीमा ५ वटा भन्दा धेरै हिमाल छन् ।
सडक सुविधा नपुगेको र सडक अवरुद्ध भएको अवस्थामा तत्काल खोज, उद्धारका लागि विकल्पको रुपमा हेलिकप्टरको प्रयोग हुने गरेको छ । गुर्जा, कुइनेमंगले जस्ता दुर्गम बस्तीका बासिन्दा आकस्मिक बिरामी पर्दा हेलिकोप्टरमार्फत अस्पताल पुग्ने गरेका छन् । कतिपय ठाउँमा हेलिप्याड नहुँदा हेलिकप्टर अवतरण हुन नसकेर उद्धारको काम प्रभावीत भएको विगतको अनुभव छ । स्थानीय तहहरुले स्वास्थ्य संस्थाको नजिकै, हेलिकप्टर सहज रुपमा अवतरण र उडान गर्न सक्ने प्राविधिक हिसाबले उपयुक्त स्थान छनोट गरेर सिफारिस गरेको ठाउँमा हेलिप्याड बनाइएको हो ।
स्थानीय तहका वडाले सिफारीस गरेको ठाउँमा शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थलगत निरीक्षण गरेपछि हेलिप्याड बनाएका हुन् । ठूलो भूगोल भएका कतिपय वडामा बस्ती स्तरमा पनि हेलिप्याड बनाउन आवश्यक रहेको पनि आवाज उठेको छ । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा बनाइएको हेलिप्याडबाट टिकोट र औलाका बासिन्दालाई सुविधा नपुग्ने भएकाले थप हेलिप्याड बनाउन आवश्यक रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताए ।
हेलिप्याडका लागि स्थानीय तह र वडाका जनप्रतिनिधिको पहलमा समुदायले जग्गाको व्यवस्थापन गरिएको छ । व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले गत मंसिरमा बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको थियो । पहिरो, बाढी, आगलागी, कटान, दुर्घटनाको अवस्थामा सूचना संकलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न केन्द्रबाट सहज हुने जनाइएको छ । केन्द्रमा सूचना प्रविधिका सामग्री उपलब्ध छ । पहाडी भूगोल रहेको म्याग्दी पहिरो, बाढी, आगलागी र नदी कटानका हिसाबले जोखिमयुक्त मानिन्छ ।
तपाईको प्रतिक्रिया