आश्वासनको भरमा कांग्रेस वडाध्यक्षको आन्दोलन फिर्ता

समाधान संवाददाता २०७६ असार १३ गते १२:५८

समाधान संवाददाता

पोखरा महानगरपालिकाको बजेटप्रति असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुले मेयरको आश्वासनपछि आन्दोलन फिर्ता लिएका छन् ।

मेयर मानबहादुर जिसी र आन्दोलनरत कांग्रेस वडाध्यक्षहरु बीच शुक्रबार भएको छलफलमा मेयर जिसीले मागको प्राथमिकता हेरेर योजना समेट्ने बताएपछि सहमति जुटेको बताइएको छ ।

Advertisement

‘अति आवश्यक भएको योजनालाई आगामि समेटेर लिएर जाने मेयरले असन्तुष्ट पक्षलाई भन्नुभयो,’ छलफलमा सहभागि एकले भने, ‘गर्नैपर्ने काम छन् र छुटेको भए छलफलबाट टुंगो लगाएर समेट्ने कुरामा सहमति बन्यो ।’ रातो किताब सच्याउन गरेको मागप्रति भने मेयरले हुबहु सबै सच्याउन नसकिने बताएको सहभागिले जानकारी दिए ।

कांग्रेसका सचेतक समेत रहेका वडा ९ का अध्यक्ष रामराज लामिछानेले मेयर जिसीले छुटेका योजनलाई समेट्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिइएको जानकारी दिए ।

Advertisement

‘वार्तामा छुटेका योजना छन् भने छलफल गरेर ल्याउनुस् कहाँ के गर्न सकिन्छ म हेर्छु मेयरसापले भन्नुभयो,’ वडाध्यक्ष लामिछानेले भने, ‘मेयरसापले प्रतिबद्धता जनाइसकेपछि माग पुरा हुन्छ भनेर आन्दोलन छाडेर वडाबाट छुटेका योजना ल्याउन भनिसकेका छौं ।’

महानगरको पाँचौ नगरसभाबाट गत बुधबार पारित आगामी आव २०७६÷०७७ को बजेटमा कांग्रेस निकटका वडाध्यक्ष सहित ४८ जनप्रतिनिधिले बिहीबार महानगर कार्यालयको मुलगेटमा ताला लगाई धर्नामा बसेका थिए ।

आफ्ना वडामा कम बजेट दिएको भन्दै कांग्रेस निकट जनप्रतिनिधि मेयर मानबहादुर जिसी विरुद्ध आन्दोलनमा जुटेका थिए ।कांग्रेसका वडाध्यक्ष भएका वडामा बजेट बाँडफाँडमा मेयरले विभेद गरेको, नगरसभामा रातो किताबमाथि छलफलमा भाग लिन नदिएको आरोप आरोप उनीहरुको थियो । नगरसभामा मेयरकै सामुन्ने रातो किताब च्यात्ने र सभागृह हलका टेबुल, कुर्सि तोडफोडमा उत्रिएका थिए ।

शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत मेयर जिसीले आफूले योजना छनोट र बजेट बाँडफाँडमा कुनैपनि राजनीतिक रंग नदेखाएको दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया