संसाद थापाकाे आक्राेशः बजेटमा विभेद भयाे

समाधान संवाददाता २०७६ असार १३ गते १२:५९

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले आगामि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा सरकारले राजनीतिक रुपमै विभेद गरेको बताएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथि छलफलमा सहभागि सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा एउटा पनि बजेट नपारेको भन्दै आक्रोश पोखे ।

Advertisement

जिम्मेवार सरकारले ल्याएको बजेटको रातो किताबमा योजनाहरु हेर्दा प्रतिपक्षका सांसदलाई गुमराहमा पारेको उनले सुनाए ।

‘मन्त्रालयमा जाँदाखेरी मन्त्रीज्यूले भनेका कुराहरु स्मरण गर्दा र रातो किताबका योजना हेर्दा प्रतिपक्षका सांसदहरुलाई गुमराहमा पारेको, सुनियोजित रुपमा छलकपटमा पारेको महशुस हुन्छ,’ उनले भने, ‘५० लाख र १ करोडसम्मका सडक तथा पुलका योजना ल्याउँदै नल्याउनुहोस् भन्नुभयो तर किताबमा १५, २०, २५ लाखसम्मका मन्दिर, सामाजिक भवन र प्रशस्त सडक तथा पुलहरु पनि नयाँ योजना मन्त्रालयबाट प्रशस्त आएको देखियो ।’

Advertisement

सरकारले ल्याएको बजेटमा भनाई एउटा र गराई अर्को भएको सांसद थापाले बताए । उनले भने, – ‘भनाई र गराईमा ठूलो अन्तर छ, बल मिच्याईं मनोवृत्ति देखियो । हामी सरकारमा छौं, जे गरेपनि हुन्छ, तिमीहरु विरोध गर्दै गर भन्ने खराब मनोवृत्तिका साथ आफ्ना सांसद र प्रतिपक्षका सांसदहरु लाई दिइएको योजनामा ठूलो अन्तर र अन्यापूर्ण तरिकाले योजनाहरु आएका छन् ।’

छनोट गरेर दिएको योजना आफ्नो निर्वाचन क्षेत्रमा कुनैपनि मन्त्रालयले नसमेटेको उनले सुनाए । ‘सम्भावित २६ वटा योजनाहरु भौतिक मन्त्रालयमा पेस गरेको थिएँ । तिमध्ये एउटा मात्रै पनि योजना परेका छैनन्,’ उनले भने, ‘मैले यो कुरा बडो दुःखका साथ भन्नुपरेको छ । यो रातो किताबको म र मेरो पार्टी अनि कास्की निर्वाचन क्षेत्र २ (२) का जनताको तर्फबाट खेद प्रकट गर्दछु । घोर विरोध गर्दछु ।’

भौतिक पूर्वाधार विकास मन्त्रीले आफ्ना योजनाका फाइलहरु मगाएर आफैंले काटेको सांसद थापाको आरोप छ ।

सत्तापक्षका सांसदहरुको योजना भरमार परेको र आफ्ना योजना एउटा पनि नपर्दा निद्रा नलागेको उनले बताए । सत्तापक्षका सांसदको निर्वाचन क्षेत्रमा सडक, खानेपानी आयोजना, सडक पुल, सामाजिक भवन, झोलुङ्गेपुल, लिफ्टिङ सिञ्चाई आदिमा गरी १ अर्ब ४९ लाख रुपैयाँसम्मका योजना परेको उनले बताए ।

उनले सांसद बिच विभेद भएको भन्दै सरकारमाथि प्रश्न गरे । ‘सरकार पक्षको पनि निर्वाचित सांसद नै हुनुहुन्छ र म पनि निर्वाचित सांसद नै हो । किन यति धेरै असमानता ? के नेपाली कांग्रेसबाट चुनाव जित्नु मेरो कमजोरी हो ?’

बजेटमाथि प्राविधिक गल्ती नभई जानाजान गल्ती गरिएको उनले आरोप लगाए । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको तयारी गरिरहेकोले पनि सत्तापक्षका सांसदलाई भरमार बजेट दिएर प्रतिपक्षलाई बाइपास गरेको उनले बताए । बजेट सच्चिएर आउनुपर्ने समेत सांसद थापाले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया