उहिलेका कुरा !

समाधान संवाददाता २०७६ असार १३ गते १३:४९

तारा पाखे

असारै मास दबदबे हिलो छि मलाई घिन लाग्यो !
पातली नानीलाई फरिया किन्दा ६/२० ऋण लाग्यो ।
माथिमा हेरौं त्यो तारे भिर तलमा निरह ।
न रुँदा जान्छ, न धुँदा जान्छ मनको विरह ।
यो दर्के झरी चट्याङ् र चुटुङ्, हावा र हुरी झन् ।
विरही ज्यानका मनमा सोला धसरा छुट्दछन् ।
असारे १५ दही र च्युरा साउनमा खान खीर ।
विरही ज्यानका बाहिर हाँसो मनमा पिरै पीर ।
छुपुमा छुपु रोपांैला धान हातमा बिउ दिउँला ।
अरुलाई दिउँला बोली र वचन हजुरलाई जिउ दिउँला ।
असारमा खाने दुधिला मकै साउनमा खाने खीर ।
घरमा छैन शीतलो वचन मनमा छैन स्थिर ।

असारे भाकाका यी केही नमूना मात्र हुन् । कृषि निर्भरताबाट परनिर्भरतामा हामीहरु बिस्तारै अघि बढ्दै छौं । सरकारी र वैदेशिक रोजगारी तथा केही निजी रोजगारी, उद्योग, व्यापारले कृषि निर्भरता कम भए पनि कृषि उत्पादनमा, कमीले गर्दा खाद्यन्न आयात र आधुनिक उपकरण, डिजेल, पेट्रोल, मल, बिउमा पूरै निर्भरता देखिएको छ ।

गोठमा जस्तै गरिबका पनि भेडा, बाख्रा, गाई, एउटैमात्र भए पनि गोरु, हाँस, कुखुरा पालिन्थे । बिउ, बिनाएर राखिन्थ्यो । मल आफ्नै गोठको पातपतिंगरसमेत कुहाएको, गधा, खच्चर, घोडा, राँगा, गोरी भारी बोक्थे । जमिन जोत्न र गाडा चलाउन प्रयोग गरिन्थे । डोका, डाला, भकारी, मान्द्रा आदिको प्रयोग र माटाका घरयासी सामानलाई प्लास्टिकले पूरै विस्थापित ग¥यो ।

च्याँगा, पाँगा, पटासी, आफ्नै तानका काम्ला, पाखी, बख्खू आदि घरबुने सामग्री, अदुवा, खुर्सानी, बेसार, जिम्बू, घ्यू, मस्यौरा, दँदौरा, पाते कर्कलो, तान्द्रे कर्कलो, आलु आफ्नै उत्पादन थिए । मुस्ताङबाट भोटे नून आउँथ्यो । प्राय घस्नलाई ढुंगाको कोलमा तोरी पेलिन्थ्यो । काठे कोलमा उखु पेलिन्थ्यो । चियाका ठाउँमा दूध, दही टœयाइन्थे । आवश्यकता सीमित थिए । शाह, राणाका कठोर तानाशाहीद्वारा आक्रान्त जनजीवन शिक्षा र चेतनामा, स्वतन्त्र चिन्तन, उद्योग–व्यवसायमा खुल्ला वातावरणमा बढ्न, हुर्कन पाएको भए अवस्था बेग्लै हुन्थ्यो । राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रका तानाशाही र शोषण, दमन असहनीय भए । प्रजातन्त्र पुर्नबहालीको लामो समय हाहाहोहो मै बित्यो ! यसैले सतर्कता सावधानी पूर्वक तानाशाहीको दासत्वका सम्भावनालाई सामना गर्न तत्पर रहनु सबैको दायित्व हो ।

थोरै लुगा, असारमा नारीलाई र दसैंमा बालबालिकालाई किनिन्थे । टालेर पनि लगाइन्थे । चाडपर्वमा लगाइने लुगा एकजोर राख्ने लुगा र अघिपछि लगाइने लुगा प्राय भोटो कछाडै त हुन् । खरानी र रिठ्ठाले लुगा धुने परम्परालाई साबुनले विस्थापित ग¥यो । पिनाले नुहाउने परम्परालाई स्याम्फुले विस्थापित ग¥यो । अनेकौं केमिकल युक्त सामग्रीले नक्कल पार्न खोज्दा अनेकौं रोगले आक्रान्त बनाएको छ । जडीबुटी र कतिपय अवस्थामा लामा धामीका तन्त्रमन्त्रले स्वस्थ सेवामा पनि आत्मनिर्भरता नै थियो । वैद्य जडीबुटी पहिचान र रसादि, भस्मादि औषधी निर्माणमा पोख्त थिए । लामाधामी तन्त्रमन्त्र साधनाका सिद्ध थिए ।

आफ्नै गीतसंगीत, नाचगान, भजन, रागरागिनी, जात्रा पर्वका रमणीयतामा रमेको स्वाधीन स्वाभीमानी समाजको हरेक क्षेत्रको परनिर्भरता, अझ पराधिनताको वर्तमान अवस्थामा हामी कहाँबाट कहाँ पुग्यौ । आज जलप्रदूषण, वायुप्रदूषण, ध्वनीप्रदूषण, फोहोर दुर्गन्ध, हरेक फलफूल खाद्यान्नमा विषाक्तता, नाना प्रकारका रोगव्याध, जलवायु परिवर्तनद्वारा अनेकौं भयावह समस्याले आक्रन्त छौं । आधुनिकताका नाममा शिक्षामा भौतिकवादी, शैक्षिक सामग्री, नैतिक शिक्षाका अभावमा बौद्धिक विकृति, व्यक्तिवादी स्वार्थी प्रवृत्ति, अनेकौं दुराचार, भ्रष्टचार, नैतिकता र इमानजमानको अनिकाल, बन्धु विरोध, काटाकाट, मारामार, नक्कली ढुकुटी रित्याउने, अनुदान पचाउने महोत्सव ।

२०÷२५ हल गोरु, त्यतिनै बाउसे, हल अनुसार रातै पहेंलै पुतली झंै चिरीचयाट्टै परेका खेताली, हली बाउसेका हाहा र होहो ! होररा !! सृंगार र विप्रलम्ब सृंगारका गहरै पिच्छे असारे भाका, व्यंग्य विनोद छेडखान, गोरुसहित सबैका निधारमा राता दही अक्षता, खाजामा गोरुलाई घाँस, खेताला हली बाउसेलाई चाम्रे, दालभात, खट्टे, चिउरा, सेल, अचार, तरकारी, दही, मोही, खुदो आदि हुन्थे ।

बाहुन दही, चिउरा, पुवा खान्थे भने क्षेत्री घ्यू र बेसार हालेर बनाएको चामलको चाम्रे खान्थे र अरु दालभात खाने पनि हुन्थे । दही, मोही, अचार, तरकारी र असार १५ मा त अनिवार्य सेल खाइन्थ्यो । खलेगरामा भकारी राख्दा हिलोमा लडाउने, छ्यापछ्याप हिलो खेल्ने खेलको रौनक बेग्लै थियो । बाहिरबाट हेर्दा दुख थियो भित्री आनन्द बेग्लै थियो ।

स्याखु ओडे पनि निथ्रुक्कै भिजेर जाडोले काम छुट्दासमेत आँठामा कुक्रुक्क परी टुक्रुक्क बसेर त्यस्तो दुरावस्दामा पनि समाह चलेका संगीतमय स्वरलहरीको आनन्द, कुलाको कलकल, कुलकुल ! ए, सहरीया सभ्य हो एकपटक अन्नदाता किसानको दुख र आनन्द विचार गर्ने आँट गर ?

बेलैमा मल–बिउ कृषि उपकरणसहित विचौलियाबाट जोगाएर उचित बजार व्यवस्था, आधुनिक कृषि प्रणाली, जडीबुटी पहिचान र व्यावसायिक उत्पादन, माटो जलवायु अनुकूल खेतीको प्राविधिक सहयोगमा सम्बन्धित निकायको ध्यान जान सके अन्नदाता किसानले ‘समृद्ध नेपाल सुखी नेपाली’ आदर्श लक्ष्य प्राप्तिमा ठूलो योगदान दिन सक्छ । अन्नदाता किसानको जीवन सुखमय बनोस ! रोपाई महोत्सव सफल बनोस ! जय होस्

तपाईको प्रतिक्रिया