वरिपरि नै छन् मुकुट लगाएका बलात्कारी !
तस्बिरः कथा घेरोको फेसबुक पेज
अमृत सुवेदी
पोखरा
पोखरामा नमीता सुनीताको हत्या भएको जेठ १४ गते ठ्याक्कै ३८ वर्ष पुग्यो । २०३८ सालमा त्यो दिन पोखरामाअसनसनीपूर्ण र विभत्स हत्या भएको थियो । काठमाडौंबाट पोखरा घुम्न आएका नमीता सुनीता हत्याको खबर देशैभरि परालको आगोझैं फैलिन्छ । जसरी हल्ला फैलियो, त्यसैगरि यो घटनाको वास्ताविकता भने गुपचुप रह्यो । अहिलेसम्म पनि नमीता, सुनीताको हत्या रहस्यको गर्भमै छ ।
यसका पछाडि ठूलै शक्तिको हात रहेको अनुमान गरिन्छ । गएको वर्ष कञ्चनपुरकी ११ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । उखुघारीमा बलात्कारपछि शव भेटिएकी निर्मलाका हत्यारा को हुन्, रहस्यमै छ ।
बलात्कार प्रयास तथा दुव्र्यवहार भएर बाहिर आएर पनि कारबाही नभएका घटना कति होलान् ? ३ वर्षअघि एक संगीतकारलाई आफ्नै साथीकी छोरी बलात्कार गरेको आरोप लाग्यो । छानबिनपछि त्यो साँचो प्रमाणित भयो तर कुनै कारबाही भएन । गएको वर्ष एक प्रधानाध्यापकलाई दुव्र्यवहार गरेको आरोप लाग्यो । त्यो घटना पनि त्यतिकै सेलायो ।
महिलामाथि हुने यौनजन्य हिंसामा कस्ता व्यक्ति संलग्न छन् र घटना कसरी लुकाइन्छ भन्ने पोखरामा मञ्चन भइरहेको नाटक प्राइभेट इज पोलिटिकलले बहसमा ल्याएको छ । महिलामाथिका हिंसा, त्यसलाई हेर्ने सामाजिक मूल्य, मान्यता र ढोङ नाटकले विषयवस्तु हो । जब नाटक सुरु हुन्छ, तब कुनै न कुनै बेला यौनजन्य हिंसाबाट पीडित महिला पात्रहरुको संवाद सुरु हुन्छ ।
२ वर्षकी बालिकादेखि ८० वर्षीया हजुरआमासम्म बलात्कारको सिकार भइरहेका छन् । नाटक भन्छः पद र शक्तिको आडमा प्रतिष्ठा र शक्तिको मुकुट लगाएका व्यक्तिबाटै बढी बलात्कार र यौनजन्य हिंसा भएको छ । महिला अर्थात म हुनुको अर्थ बाटामा कसैको सुसेलीमा सुसेलिन्छ । कसैको जिब्रोमा पड्किन्छ । मेरो जीवनको सम्मान भीडमा गएर कोचिन्छ । आफन्तको स्नेहमा पोखिन्छ । नाटकले कवितात्मक शैलीमा थुप्रै प्रकारका हिंसाका घटना उजागर गरेको छ ।
दुव्र्यवहार सार्वजनिक गर्दा महिलाको चरित्रमाथि औंला ठड्याउने पुरुषवादी चिन्तनलाई नाटकले प्रहार गरेको छ । मनमा विद्रोहको ज्वालामुखी भएर पनि किन पीडा किन बिस्फोट हुन सकेको छैन, उत्तर नाटकले दिएको छ । पीडा उजागर गर्दा मान्छेले प्रमाण खोज्ने विषयलाई नाटकले जोडतोडले उठाएको छ । महिलामात्रै समाजमा पीडित छन् त ? पुरुष र तेस्रो लिंगी पनि यौनजन्य हिंसाको सिकार हुनुपरेको नाटकले बोलेको छ ।
डेढ घन्टाको नाटकमा विभिन्न खाले हिंसा र त्यसबाट उत्पन्न मनोदशालाई संवाद, संगीत, कविता र अभिनयमार्फत देखाइएको छ । यस्ता घटनालाई हेर्ने सामाजिक मनोविज्ञान पनि नाटकमा छ । ‘योनीका कथाहरु’ रिहर्सल गरिरहेका महिला पात्रहरु हिंसाबारे वहस गर्छन् ।
निर्मला हत्याकाण्डको पीडालाई कवितामार्फत सुनाउँदा माहोल स्तब्ध बन्छ । महिलामाथि हुने बलात्कारका घटना, महिलालाई विश्वास नै नगर्ने समाज, महिलालाई हेय र हिंसायुक्त दृष्टिकोण राख्नेप्रति गहिरो प्रहार गर्दै नाटक टुंगिएको छ । पात्र लुनिभा तुलाध दर्शकसँग संवाद गर्दै यसरी नाटक बिट मार्छिन्, ‘यो नाटकका सबै घटना सत्य हुन् । तर, तपाईँ विश्वास नगर्न पनि सक्नुहुन्छ । किनकी यो नाटक महिलाले बनाएको हो ।’
कथा घेरोको प्रस्तुति नाटक ‘प्राइभेट इज पोलिटिकल’ योनीका कथाहरुको चौथो संस्करण हो । अमेरिकी नाटककार इभ एन्सलरले सन् १९९६ मा लेखेको नाटक ‘द भजाइना मोनोलग्स’लाई नेपालीकरण गरी २०७२ सालमा ‘योनीका कथाहरु’ देखाइएको थियो । पछि योनीका कथाहरुकै अवधारणामा नेपालकै कथावस्तुमा नाटक प्रस्तुत हुँदै आएको छ । नाटककी निर्देशक हुन्, आंकाक्षा कार्की । कथा घेरोले यसलाई नाटकका रुपमा मात्रै नभएर निर्देशक कार्की नेतृत्वमा एउटा अभियान मानेको छ । नाटकको आलेख सौरभ कार्कीले तयार पारेका हुन भने सुरज सुवेदी, सुदाम सिकेले उनलाई सघाएका छन् ।
नाटकमा अनुजा अधिकारी, अर्चना पन्थी, आयुष प्याकुरेल, केनिपा सिंह, विनिता गुरुङ, लुनिभा तुलाधार, रोशनी स्याङ्बो, सचिन मल्ल, सुदाम सिके लगायतले अभिनय गरेका छन् । काठमाडौंपछि शुक्रबारदेखि पोखरामा मञ्चन सुरु भएको नाटक आइतबारसम्म दिउँसो १ बजे र ५ बजे गरी २ सो मञ्चन भइरहेको छ ।
तपाईको प्रतिक्रिया