फोक्सुण्डोमा काव्य यात्रा

समाधान संवाददाता २०७६ असार १५ गते १९:११

समाधान संवाददाता

१५ असार, डोल्पा – प्रशस्तै पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले कन्सेप्ट नेपालले मुलुकका १५ जना लेखकहरुलाई त्यस क्षेत्रमा पदयात्रा गराएको छ ।

असार ७ गते काठमाडौंबाट सुरु भएको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ का सहभागीहरु असार १२ गते फोक्सुण्डो ताल पुगेका थिए । त्यहाँ पुगेर उनीहरुले ताल क्षेत्रको अध्ययन गर्नुका साथै कविता पनि सुनाए ।

Advertisement

यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दीपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, विष्णुप्रसाद देवकोटा, अमृत भादगाउँले र सेम्दुक लामा सहभागी छन् ।

काव्य यात्रीले डोल्पाको सुलिगाडबाट पदयात्रा गरेका थिए । उनीहरु पदयात्राको तेस्रो दिन तालमा पुगेका थिए । उनीहरुले फोक्सुण्डो झरना, बोन गुम्बाहरु, रिंग्मो र पुग्मो गाउँ र तालको भ्रमण गरे ।

Advertisement

काव्य यात्रीले ताल किनार र तापिरिचा माविमा कविता सुनाएका थिए । नुवाकोटे कलाकार कृष्णबहादुर नेपालीले तालमा बसेर बनाएको चित्र पनि प्रदर्शन गरिएको थियो ।

यात्राकै सिलसिलामा आयोजकले रिग्मो र पुग्मो गाउँका चार जना लोकसंस्कृतिकर्मीलाई जनही १० हजार रुपैयाँसहित फोक्सुण्डो काव्य सम्मान प्रदान गरेको थियो । ताल किनारमा आयोजित कार्यक्रममा टुङ्नाबादक निमा लातार बैजी, लोकगायिकाहरु नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकायालाई सम्मान गरिएको काव्य यात्राका संयोजक अमृत भादगाउँलेले जानकारी दिए ।

कार्यक्रममा थासुङ छोलिङ गुम्बाका प्रमुख लामा खेन्पो सेम्दुक निमा, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामा, धार्मिक गुरु लोटेइ लामा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष फूर्वा तेन्जिङ बुढाले सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए । साथै आयोजक संस्थाका सदस्य देवेन्द्र बस्न्यातले खादा लगाएर सम्मान गरेका थिए ।

यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड छ । सहयोगीहरूमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टेक्स एण्ड एक्सपिडिसन, डेस्टिनेसन डोल्पो ट्राभल एन्ड टे«किङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र थासुङ छोलिङ गुम्बा लगायत छन् ।

फोक्सुण्डोको प्रवद्र्धनमा काव्य यात्रा कोसेढुंगा बन्ने विश्वास गरिएको छ । आयोजकले फोक्सुण्डोको वृत्तचित्र, बुकलेट र पुस्तक प्रकाशन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया