—सम्पादकीय—मान्छे निल्ने नाला

समाधान संवाददाता २०७६ असार १६ गते १२:५१


१३ असारको साँझ पोखरामा धुनधान पानी पर्‍यो । सधैं झैं सडक खोला बन्यो । सडक किनारको नाला र सडक सम्मै । सडक कता छ र नाला कता छ पत्तै भएन । यस्तैमा पोखरा बसपार्कनजिकै चाइना पुलको आडैमा १ जना व्यक्ति नालामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । नाला सिधैं सेतीमा खस्छ, सायद ती मान्छे सेतीमा पुगे । प्रहरीले शनिबार पनि खोज्यो तर भेटेन । परिचय नखुलेका ती व्यक्ति नालामा पर्दै गर्दा अर्काे स्कुटर पनि खसेको र २ जनालाई उद्धार गरेको स्थानीयले बताएका छन् ।

नालामा मानिस खस्नुको एउटै कारण नालामा ढकन नहुनु र सडक किनारमा रेलिङ नहुनु हो । पोखरा पानीको सहर हो, जहाँ अत्यधिक वर्षा हुन्छ । सडकमै पनि मान्छे बगाउँला जस्ता हुन्छ भने नाला त नदी नै जस्ता बन्छन् । सडकमा कायाकिङ नै चलेको दृश्य सामान्य भइसकेको छ । नालाले मान्छे बगाएको घटना पहिलो होइन । कतिको रेकर्ड छ । कतिको रेकर्डै छैन ।

७४ कात्तिक ४ गते इन्जिनियरिङ अध्ययन संस्थान नजिकै लामाचौरको नालामा पिजन पुन र उनका अर्का साथी श्रवण पुर्जा झन्डै नालामा परे । मोटरसाइकल भने बगायो । पिजन पनि बगे कि भन्ने थियो, धन्न उनी बाँचेका रहेछन्, केही दिनमा उनको अवस्था पत्ता लाग्यो । आफूले पछाडि बोकेर ल्याएको व्यक्ति नालामा पर्‍यो र अपजस आउने भयो भन्ने डरले पिजन केही दिन लुकेछन् र पछि श्रवण पनि बाँचेको थाहा पाएपछि देखापरे । तर उनको मोटरसाइकल धेरै तल नालामा अड्किएको अवस्थामा फेला पर्‍यो ।

Advertisement

७३ सालको असोज १ गते बिरौटामा गंगाप्रसाद सुवेदी र बाटुलेचौरमा कृष्णबहादुर थापा नालामा परे । दुवैको ज्यान गयो । त्यसै वर्षको भदौ २२ गते पोखरा २८ कालिकाका शूरवीर जिसी मालपोत कार्यालय नजिकै मोटरसाइकलसहित बगेर फेवालमा पुर्‍याइए ।

उनको पनि प्राण पखेरु उड्यो । त्यसको ७ दिन अघि १५ भदौमा सिद्धार्थ चोकमा मीना भण्डारी नामकी महिला सडक किनारमा हिँड्दा हिँड्दै नालामा खसिन् र उनको ज्यान गयो । लेखनाथ क्षेत्रतिर झन् नहरमा खसेर ज्यान गएका अरु थुप्रै उदाहरण छन् । नहर होस् या नाला कुनै पनि ज्यानमारा हुनु हुँदैन । त्यहाँ सुरक्षाका उपाय अपनाउनै पर्छ । सडक विभाग होस् या महानगर यसमा संवेदनशील हुनुपर्छ ।

Advertisement

कतिपय ठाउँमा सडक विभागले बनाएका सडकका नाला जोखिमपूर्ण छन्, कतिपय ठाउँमा महानगरले बनाएका । जसले बनाएको भए पनि नागरिक सुरक्षित हुन पाउनुपर्छ । हिँड्दाहिँड्दै नालामा खसेर ज्यान जानु हुँदैन । महानगरको मुख्य बजारी भाग नै असुरक्षित भए ग्रामीण क्षेत्रको हालत के होला ? पोखरामा सडक किनारका नाला यस्ता छन् कि जहाँ बर्खामा पानी अटाउनै सक्दैन । नाला भरिन्छ र सडकभरि पानी हुन्छ । ढल व्यवस्थापन अत्यन्तै कमजोर छ । किलोमिटरका किलोमिटर लामा नालाको निकासको दुरी टाढा बनाउनुभन्दा बीचबीचबाट पानी तर्काउने उपाय गर्नु बेस हुने थियो ।

तपाईको प्रतिक्रिया