द्वन्द्व प्रभावित बालबालिका आश्रित बालगृहलाई फिस्टेल सिटीको सहयोग

समाधान संवाददाता २०७६ असार १७ गते ११:५३

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले सिर्जना विकास केन्द्रद्वारा सञ्चालित बालगृहलाई सोमबार खाद्यान्न, स्टेसनरी र नगद सहयोग गरेको छ । द्वन्द्व प्रभावित १३ बालबालिका आश्रित गृहलाई क्लबले लायन वर्ष २०१९÷२० को पहिलो दिन उक्त सहयोग गरेको हो ।

कार्यक्रममा क्लब निवर्तमान अध्यक्ष एवं जोन चियरपर्सन खेम क्षेत्रीले द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग गरेर क्लबले वार्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे । उक्त अवसरमा क्लब अध्यक्ष तारा गिरीले १२ कक्षामा पढ्ने जेनी थापालाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरे । थापालाई १२ कक्षा पढ्न लाग्ने सम्पूर्ण शुल्क बेहोरिदिने प्रतिबद्धता उनले जनाएका छन् ।

Advertisement

क्लबका सचिव हरि पाण्डेले सञ्चालन गरेको कार्यक्रममा क्लब प्रथम उपाध्यक्ष श्यामबहादुर श्रेष्ठ स्वागत गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष धनीराम बराल, पूर्व अध्यक्षहरु प्रेमबहादुर जिसी, कविराज आचार्य, रिजन शेरचन, उमानाथ बराल, तृतीय उपाध्यक्ष रेशमबाबु श्रेष्ठ, कोषाध्यक्ष लोकनाथ पौडेल लगायत सहभागी थिए ।

सिर्जना विकास केन्द्र कावा अध्यक्ष इन्द्रप्रसाद पौडेलले विदेशी दातृसंस्थाको सहयोगबिना बालगृह सञ्चालन गर्दै आएको बताए । लायन्स क्लबको सहयोगले आफूहरुलाई थप हौसला मिलेको उनको भनाइ थियो । केन्द्रका निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठले द्वन्द्व प्रभावितको लागि सञ्चालित बालगृहमा रहेका बालबालिका एसइई उत्तीर्ण भएपछि बाहिरिने गरेको बताए । २०६१ सालबाट महतगौंडामा उक्त बालगृह सञ्चालनमा आएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया