सरकारले अवसर गुमायोः डा. भट्टराई

समाधान संवाददाता २०७६ असार १७ गते १२:१३

मोहसिन अली मियाँ
गोरखा

केपी शर्मा ओली नेतृत्वको सरकारले विकास निर्माणको लहर ल्याउन नसकेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् । सोमबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले दुई तिहाई मत प्राप्त सरकारले विकासको लहर ल्याउने अवसर गुमाएको बताएका हुन् । ‘जनताले त्यत्रो मत दिएर सरकारमा पठाएको छ, सरकार बनेको यतिका समय भयो, खै विकासको लहर आएको ?,’ प्रतिप्रश्न गर्दै भट्टराईले भने, ‘विकास निर्माणको लहर ल्याउने अवसर थियो, सरकारले उपयोग गर्न सकेन ।’

जनताले दिएको मतको कदर नभएको टिप्पणी गर्दै उनले परिणममुखी काम हुन नसकेको बताए । पछिल्लो समय सुशासान खस्कदो अवस्थामा रहेकोसमेत उनको भनाइ छ । ‘देश झनझन खस्कदै गएको छ, सुशासन कायम भएन, भ्रष्ट्राचार मौलायो, बेरोजगारी बढ्यो’, समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका भट्टराईले थपे, ‘प्रतिपक्षलाई मात्रै होइन, सरकारको काम गर्ने शैली देखेर सत्ता पक्ष नै सन्तुष्ट छैनन् ।’

Advertisement

सरकार आसेपासेको घेराबन्दीमा परेको दाबी गर्दै उनले विकास योजनामा आएका पैसा हिनामिना गर्नमा नेता, कर्मचारी र ठकेदारको मिलेमतो रहेको भन्दै आशंकासमेत गरे । ‘विकासका काममा आएको रकम हत्याउन नेता, ठेकेदार, कर्मचारी, इन्जिनियर सबै मिलेका हुन्छन्’, उनले भने, ‘रणनीतिक योजना दशौं वर्षसम्म अलपत्र पर्छन्, खै कसले कारबाही गर्ने ? सधै बजेटचाहिँ आउने काम नहुने स्थिति पैदा भयो ।’

सरकारका कारण नै राष्ट्रिय गौरवका आयोजना अलपत्र परेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । जलाशययुक्त बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउनुपर्ने उनको धारणा छ । ‘मेरै नेतृत्वको सरकार भएका बेला बूढीगण्डकी आयोजना आफैं बनाउनुपर्छ भनेर निर्णय गरेर अध्ययन पनि सकेका थियाैं,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अहिले हेर्नुस्, आयोजना नबन्ने दिशामा गयो । अन्योलको स्थिति पैदा भयो ।’

Advertisement

पछिल्लो समय गोरखाको विकासमा अवरोध भएको जिकिर गर्दै उनले आफूले खोलेका कच्ची सडकका ट्र¥याकसमेत स्तरोन्नति हुन नसकेको दुखेसो गरे । महत्वपूर्ण रणनीतिक योजनालाई सरकारले प्राथमिकता दिन नसक्दा विकासमा अवरोध खडा भएको उनको टिप्पणी थियो । उनले सरकारले राज्यशक्ति दुरुपयोग गर्दै विप्लवका कार्यकर्तालाई दिनदहाडै गोली ठोकिएको उनले आरोप लगाए । ‘सरकारले शक्तिको दुरुपयोग ग¥यो । फरक विचार राखेकै भरमा नक्कली मुडभेडका नाममा दिउसै गोली ठोक्ने काम हँुदै छ’, सरकारप्रति आक्रोश व्यक्त गर्दै उनले भने, ‘विप्लवको पार्टीलाई प्रतिवन्ध लगाएर सरकारले गलत काम गरेको छ ।’

भट्टराईसँगै गोरखा आएका सरकारका स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादवले सोमबार जिल्ला अस्पताल गोरखा र आँपपीपल अस्पतालको स्थलगत निरीक्षण गरेका छन् । समाजवादी फोरमका नेतासमेत रहेका राज्यमन्त्री यादवले हिमाल, पहाड र तराई जोडिन नयाँशक्तिसँग पार्टी एकता भएको विचार राखे । ‘सबै जात, धर्म, लिंगमात्रै होइन, अब भूगोल पनि जोडिन आवश्यक छ’, उनले भने, ‘हामी भट्टराईको विचारसँग सहमत भएर एकतावद्ध भएका हौं ।’

तपाईको प्रतिक्रिया