महतगौंडा क्षेत्रमा प्रहरी चौकी राख्न पहल

समाधान संवाददाता, पोखरा
पोखरा वडा नं. १७ को महतगौंडा, सीतापाइला, दोबिल्ला क्षेत्रमा प्रहरी चौकी आवश्यक भएको ठहर गर्दै चौकी स्थापनाका लागि पहल थालिएको छ । मुख्य बजारको छेउतिरको क्षेत्र र सेती र फुस्रो किनार यो क्षेत्रमा पर्ने भएकाले लागुऔषध दुव्यर्सनी लगायतका गैरकानुनी क्रियाकलाप यो क्षेत्रमा हुन सक्ने भन्दै सोमबार भएको स्थानीयसहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
सोमबार यो क्षेत्रमा गठित समुदाय प्रहरी साझेदारी टोल समितिको बैठक बसेको हो । बैठकले प्रहरी चौकी यो क्षेत्रमा आवश्यक भएको ठहर्याउँदै उपयुक्त स्थान खोजी गरी सम्बन्धित निकायमा समन्वय गरी आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
छोरेपाटन चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक दुर्गाबहादुर कुँवरले शान्ति, सुरक्षा चुस्त बनाउन र विकृति, विसंगति नियन्त्रण गर्न प्रहरी नागरिक सहकार्य अत्यावश्यक भएको बताए । पोखरा १७ का वडा सदस्य तथा समुदाय प्रहरी साझेदारी टोल समिति संयोजक बैठुण्ठ भण्डारीले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन यो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले यसका लागि आवश्यक प्रक्रिया र पहल स्थानीयसँग मिलेर वडा कार्यालयले गर्ने उनको भनाइ छ ।
बैठकले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिमा नगेन्द्र गुरुङ, दीपक आचार्य, कृष्णप्रसाद पौडेल, लीला पंगेनी र कमल गिरी छन् । विकृति, विसंगति नियन्त्रण गर्दै समाजका शान्ति, सुरक्षा कायम गर्न पर्चा, पम्प्लेट वितरण र घरदैलो गर्ने निर्णय पनि भएको छ ।
यस्तै, पोखरा १७ का फुस्रो खोला, सेती नदी किनार लगायतका जोखिपूर्ण र एकान्त स्थानहरुमा सचेतनामूलक बोर्ड राख्ने निर्णयसमेत बैठकले गरेको छ ।
तपाईको प्रतिक्रिया