चन्द्रामा झैं चम्किएकी चन्द्रा

समाधान संवाददाता २०७६ असार १७ गते १४:४४
रुद्र सन्देश मगर

एसओएस बालग्राम, गण्डकी, पोखरालाई आफनो कार्यक्षेत्र चुन्दै, जन्म दिने आमा/बाबाको अभावमा बाँचिरहेका बालबालिकाहरूलाई मातृवात्सल्य प्रेम दिएर तिनको भविष्य निर्माणमा निरन्तर जुटिरहेकी चन्द्रा थापा मगर हेल्मुट कुटिन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुंदैछिन । संसार भरिका १३५ देशका ५८० एसओएस बालग्रामहरुमा कार्यरत हजारौं आमाहरु मध्येबाट छानिएर उक्त पुरस्कार उनले आफ्नो हात पार्न सफल भएकी हुन् ।

यसै सन्दर्भमा पुरस्कार विजेता चन्द्रा थापा मगरको जीवनका उकाली, ओराली र घुम्तीहरुका बारेमा यहां उल्लेख गर्ने प्रयत्न गरिएको छ । उनको जन्म वि.सं. २०१५ कार्तिक २१ गतेका दिन स्याङ्जा जिल्लाको चित्रेभञ्ज्याङ, झिरुबासमा भएको थियो । उनका बुबा ब्रिटिस सेनामा भर्ती भएका हुनाले झिरूबासमा जन्मिएर बुबा–आमासँगै हङकङमा दुई वर्ष बाल्यकाल बिताएकी रहिछन् । त्यसपछि उनी पुनः जन्मभूमि झिरूबास नै फर्किएकी हुन् । त्यसैले उनको बाल्यकाल तत्कालीन समयमा अन्य गाउँका बच्चाहरूको जस्तै धूलो, मैलो, हिलो, उकाली अनि ओराली हुँदै बितेको रहेछ ।

चित्रेको तत्कालीन मातृभूमि प्राविमा पढ्न गएको र मास्टर बाजेले पढाउनुभएको अनि स्कूल जाने बेला बज्यैले पुर्‍याउन जाने गर्नु भएको याद रहेछ अझै । विसं २०३२ सालमा घरेलु कार्यालय, पोखरामा झिरूबासकै मनिकला थापा र उनी तालिमका लागि आइन् र एक वर्षे घरेलु तालिम पूरा गरिन् तर दुर्भाग्य उनीसँगै तालिममा सहभागी मनिकला थापाको दुःखद् निधन भएका कारण तालिम पछि गाउँमा सञ्चालन गर्ने भनिएको उद्योग सञ्चालन गर्न असमर्थ भइन् । त्यसपछि २०३५ सालमा गोरखापत्रमा विज्ञापन खुलेको थाहा पाएपछि एसओएस बालग्राम, गण्डकी, पोखरामा “आमा” पदमा नियुक्त भई जागीरे जीवनको शुरूवात गरिन् उनले ।

त्यतिबेला अन्तरवार्ताका क्रममा अन्तरवार्ताकारहरुद्वारा सोधिएका प्रश्नहरूले उनलाई निकै भावुक बनाएको रहेछ । उनले जागीर शुरू गर्दा उनी २० वर्षे कल्कलाउँदो जवानीमा टेक्दै थिइन् । जागीरको प्रकृति अनुसार एउटा परिपक्व आमाको भूमिका निर्वाह गरेर बाबा–आमाविहीन टुहुरा बालबालिकाहरूको सेवा गर्नु थियो । तैपनि उनले आफूलाई त्यही वातावरणमा ढाल्दै लगिन् ।

चन्द्रमालाई कहिलेकाहीं बादलले ढाके झैं उनको जीवनमा पनि सुखद् र दुःखद् क्षण दुवै उनले भोगेकी रहिछन् । एसओएस मा आफूले हुर्काएका बालबालिकाहरू पढेर ठूलो भई जागीर÷पेशामा लागेको देख्दा, आफूले विवाह दान गर्दाको क्षण र स्वर्गीय रानी ऐश्वर्याद्वारा एसओएस बालग्राम भ्रमण हुँदाको क्षणहरु उनलाई औधी खुशी लागेको रहेछ भने हजुरबुबा, हजुरआमा अनि बुवा र आमाको दुखद निधनको क्षण, जागीरका लागि परिवारका सदस्यहरू छोडेर हिंड्नुपर्दाको क्षणहरूमा उनलाई दुःख लागेको रहेछ ।

“सेवा नै धर्म हो” भन्ने वाक्यांश उनको मूल मन्त्र हो । त्यसैले त उनी २० वर्षे जवानीको वास्ता नगरी सोही बेलादेखि निरन्तर आमा–बाबाविहीन बालबालिकाहरूको हेरचाहमा जुटिरहिन एउटा असल आमाको भूमिकामा । सायद उनलाई पनि एउटा मनपर्ने मान्छे रोजेर पारिवारिक जीवन बिताउने रहर थियो होला । तर ती अबोध बालबालिकाहरूको निर्दोष अनुहारले उनका ती चाहनाहरूलाई ओझेलमा पारिदिएको हुन सक्छ ।

पारिवारिक जीवनका बारेमा कुरा गर्दा उनले दुई थरीको पारिवारिक विवरण प्रस्तुत गरिन् । एउटा विवरण आफनो जन्म घरको र अर्को कर्म घरको । उनको जन्म घरमा ४ जना बहिनी, १ भाइ, १ बुहारी र २ जना भदाहरू छन् भने आफू कार्यरत संस्थामा आफनो छोराछोरीको रुपमा ३५ जनाले आ–आफनो नयाँ जीवन शुरू गरिसकेका छन् भने नातिनातिनाहरु २० जना छन् र अहिले उनीसँग ८ जना बालबालिकाहरुसँगै रहेका छन् ।

चित्रेभञ्ज्याङमा जन्मिएर पनि त्यहाँको लागि आफूले हालसम्म खासै योगदान गर्न नसकेकोमा उनलाई पछुतो लागेको रहेछ । जागीरबाट अवकाश लिएपछी सामाजिक सेवामा निरन्तर क्रियाशील रहने र गाउँ फर्केर सेवा गर्ने ईच्छा छ । यसको शुरुवात उनकै जन्म थलो स्याङ्जा जिल्ला, हरिनाश गाउंपालिका वडा नं. ४, चित्रे स्थित श्री मातृभुमि माध्यामिक विद्यालयमा पढ्ने गरिब र जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा सहयोग पुर्याउने हेतुले आफनो बाबा स्व. रनबहादुर थापा र आमा स्व. तलीसरा थापाको स्मृतिमा रनबहादुर–तलीसरा स्मृति अक्षय कोषको स्थापना गरेर गरेकी छिन् ।

हाल उक्त अक्षय कोषबाट सोही विद्यायलयमा कक्षा ५ मा अध्ययनरत वालक शिव राना मगरले निरन्तर छात्रवृत्ति प्राप्त गरिरहेका छन् ।

जागीर खाने क्रममा शुरूको अवस्थामा घर आउने जाने गर्दा बाटोमा मानिसहरूले “ नानी एक्लै ” ? भनेर सोध्दा महिलाहरू माथि भएको शोषणको नमूना प्रस्तुत भएको झैं लाग्ने उनलाई आज बिरलै मानिसहरुले पाउने अन्तर्राष्ट्रिय पुरस्कार हेल्मुट कुटिन पुरस्कार पाउंदा खुशीले गदगद भएकी छिन् भने समाज सेवाको लागी थप जिम्मेवारी पनि बढेको अनुभुति गरिरहेकी छिन् ।

उनी जागीरमै रहँदा विदेश भ्रमणका क्रममा थाइलैण्ड घुम्ने अवसर पाएकी थिईन भने अब उनी उक्त पुरस्कार ग्रहण गर्नका लागी अष्ट्रिया जांदैछिन् । उनले सन २०१९ जुलाई २ का दिन भव्य समारोहमा सगरमाथाको देश नेपालको पहिचान सहित हेल्मुट कुटिन अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दैछिन् ।

तपाईको प्रतिक्रिया