हामी सुतेका छैनौंः सांसद तुलाचन

समाधान संवाददाता २०७६ असार १८ गते १२:४२

समाधान संम्वाददाता, मुस्ताङ

मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचनले जिल्लाको बिकास र जनताको काममा आफुहरु नसुतेको बताएका छन् । बस्दा ,उठ्दा र खादा समेत जनताकै कामले ब्यस्त बनाएको उल्लेख गर्दै सांसद तुलाचनले सरोकारवालाहरुले ईमान्दारिताका साथ काम गरे जिल्लामा बजेटको कुनै अभाव हुन नदिने आश्वासन दिए। मुस्ताङको घरपझोङले प्रस्तुत गरेको आ।व। २०७६÷२०७७ को नीति तथा कार्यक्रम र बजेट बक्तब्य सार्वजनिकरण समारोहमा बोल्दै संघीय सासद तुलाचनले यस्तो बताएका हुन् ।

सांसद तुलाचनले जिल्लाको समग्र बिकासका लागि यातायात , संञ्चार , बिद्युत , कृषि र पर्यटनलाई पहिलो प्रथमिकतामा राखेर काम गर्दै आईरहेको जानकारी दिए । ‘ मुस्ताङमा थुप्रै संम्भावना र चुनौति छन् , भौगोलिक बिकटताले १२ महिना काम गर्न मुश्किल छ ,सांसद तुलाचनले भने ,‘ बिकासको गति सुचारु गर्न ४ महिनाको मात्र समय हुन्छ , समयको हेक्का राखेर काम गरेमा बिकास पूर्वाधार निश्कर्षमा पुग्न सक्छन् ।’

Advertisement

संघीय तथा प्रदेश सरकारको संयूक्त बजेटले जिल्लाका कुनाकन्दरामा यातायातको पहुच पूर्‍याउने प्रयास भईरहेको उल्लेख गर्दै सांसद तुलाचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको अवधारणा अनुरुप आफुहरु अहोरात्र जनताका लागि खटिएको उल्लेख गरे । उनले उपल्लो मुस्ताङको चराङमा बिमानस्थलको सकारात्मक परिणाम आएको र अबै छिट्टै डिपिआरको काम हुने , महत्वपूर्ण छुसाङ पुललाई डबल लेन बिस्तारको काम अघि बढेको र म्याग्दी खण्डको असहज सडकमा सुरुङमार्ग प्रस्ताब ल्याएको उल्लेख गरे ।

पूर्व सभासद चन्द्रबहादुर गुरुङले स्थानीयतहले ल्याएको बजेट बैज्ञानिक हुनुपर्ने बताए । उनले जोमसोम देखि माथिको कालिगण्डकी नदी किनारामा आवश्यक तटबन्ध गरे थुप्रै जमिन उपयोग गर्न सकिने जनाए । मुस्ताङमा थुप्रै शाखा नदीनालाहरु मौजुद रहेको उल्लेख गर्दै पूर्व सभासद गुरुङले स्थानीय तहले लघु हाईड्रोको अवधारणा ल्याउन सके राम्रो हुने सुझाए । उनले मुस्ताङमा भूमी समस्या अत्यन्तै जटिल भएको उल्लेख गर्दै यसको समाधान तर्फ सरकारले ठोस नीति ल्याउनु पर्ने बताए । यस्तै पूर्व सांसद श्रीमाया थकालीले दामासाही रुपमा बितरण गरिने बजेटले समृद्धि हासिल नहुने उल्लेख गर्दै आझेलमा परेका स्थानलाई पहिलो प्राथमिकतामा राखिनु पर्ने बताईन् ।

Advertisement

उनले नीति तथा कार्यक्रम र बजेटमा सुकिला योजना प्रस्ताव गरिएपनि त्यसको अनुगमन नभए कार्यान्वयन पक्ष कमजोर हुने जनाईन । प्रदेश सासद महेन्द्रबहादुर थकालीले बिकास र जनताप्रतिको उत्तरदायित्व स्थानीय सरकार महत्वपूर्ण अङ्ग भएको बताउदै त्यसका लागि शुशासन र पारदर्शीता अपरिहार्य भएको बताए । उनले योजनाको ढाचा हेरेर स्थानीय तह ,प्रदेश र संघ सरकारले बजेट बिनियोजन भएको जनाए । कार्यक्रममा जिसस उपप्रमुख राजेन्द्र शेरचन , प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री , पूर्व जिविस सभापति भक्ति हिराचन , नेकपाका बिशाल बि।क र वडाअध्यक्ष मानबहादुर बिकले स्थानीय तहको बजेट माथि समिक्षा गरे ।

घरपझोङले ल्याएको आ।व। ०७६÷०७७ को बजेट रु २४ करोड ५१ लाख छ । जसमध्ये संघीय बिक्तीय समानिकरण ६ करोड ७९ लाख , संघीय राजश्व बाडफाड ३ करोड ५० लाख , संघीय शसर्त अनुदान ८ करोड ६४ लाख , संघीय सामाजिक सुरक्षा अनुदान १ करोड २० लाख छ । प्रदेश सरकारतर्फ बिक्तीय समानिकरण अनुदान १ करोड १९ लाख , प्रदेश राजश्व बाडफाड ८ लाख ७९ हजार , समपूरक अनुदान १ करोड छ । यस्तै , आन्तरिक श्रोेत पक्षेपण ८० लाख र मालपोत रजिष्ट्रेसन शुल्क बाडफाड १३ लाख ८० हजार अनुमान गरिएको छ । नीति तथा कार्यक्रमसहित बजेट बक्तब्य सार्वजनिक गर्दै उपाध्यक्ष शर्मिला गुरुङले चालु खर्चतर्फ ३ करोड ४७ लाख ३६ हजार शसर्त संघ खर्च ८ करोड ६४ लाख , समपूरक कोष २ करोड ५० लाख , बिपत् खर्च ३० लाख , गौरवका आयोजनातर्फ ४३ लाख ,अतिरिक्त कोष ३२ लाख , सामाजिक सुरक्षा कार्यक्रम १ करोड २० लाख र प्रदेश समपूरक कोष १ करोड खर्च अनुमान गरिएको सुनाईन् ।

गाउपालिकाको वार्षिक बजेट सार्वजनिकरण समारोहका अवसरमा गाउपालिका प्रति योगदान दिने र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकतर्फ ज्ञानप्रसाद थकाली ठिनी र सुमन लालचन मार्फा सम्मानित भईन् । चालुवर्षको उत्कृष्ठ करदाता घरप ३ एयरपोर्टका आनन्द शेरचनलाई सम्मान गरिएको थियो । यस्तै , गाउपालिकाको सर्वउत्कृष्ट बिद्यालय जनहित मावि जोमसोम र सर्वोउत्कृष्ट कर्मचारी स्वास्थ्य सयोजक कर्णबहादुर थकाली र कार्यालय सहयोगी सुस्मिता नेपाली सम्मानित भईन् ।

गाउपालिकाद्धारा सम्मानित ब्यक्ती र संस्थालाई संघीय सांसद प्रेमप्रसाद तुलाचनले प्रमाणपत्र र दोसल्लाले सम्मान गरे । अध्यक्ष आशबहादुर थकालीको अध्यक्षता भएको कार्यक्रमको संञ्चालन नेत्र ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया