गण्डकी पर्यटन वर्षको असफलता

समाधान संवाददाता २०७६ असार १८ गते १४:१५

वास्तवमा जे भइरहेको छैन र जे भइरहेको छ त्यो सबै पर्यटन वर्ष घोषणा तयारीबिनै गरिनुको परिणाम हो । पर्यटनमन्त्रीमा संवेदनशीलता नहुनुको नतिजा हो ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष पूर्णतः असफल देखिएको छ । सन् २०१९ लाई घोषणा गरिएको आन्तरिक पर्यटन वर्ष अहिल्यै असफल घोषणा गरिदिए हुने देखिन्छ । वर्षको ६ महिना बाँकी रहँदा मात्रै आएर भ्रमण वर्ष कार्यान्वयनका लागि १६ असारमा समिति गठन भएको छ । यो चालाले कहिले काम हुने ? कहिले पर्यटक आउने ? जब कि सरकारले १५ लाख पर्यटक ल्याउने लक्ष्य सार्वजनिक गरेको थियो । १५ लाख त परै ५ लाख पनि पर्यटक भित्रने कुनै छेकछन्द देखिन्न । यो प्रदेश सरकारको निकम्मापना र अकर्मण्यताको परिणाम हो भन्दा अत्युक्ति हुने छैन ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा हो । देशकै र प्रदेशकै मुख्य पर्यटकीय हब पोखराका पर्यटन व्यवसायी नै सरकारको कार्यशैलीप्रति साह्रै असन्तुष्ट छन् । पर्यटन मन्त्री विकास लम्सालले कहिल्यै व्यवसायीसँग समन्वय नगरेको चरम गुनासो छ । उनी पर्यटन बुझ्दैनन् मात्रै होइन, बुझ्नै चाहदैनन् । मन्त्री हुँ मै जान्नेसुन्ने छु भन्ने शैलीमा उनी व्यवसायीसँग प्रस्तुत हुन्छन्, जस्तो कि पर्यटनमा रातोदिन भिजेकासँग उनी इन्द्रका अगाडि स्वर्गको वयान गरे झै बयान गर्छन् । व्यवसायीमैत्री स्वभाव उनमा देखिन्न । केही बुझ्न र जान्न खोज्ने स्वभाव छैन । मन्त्री हुँ र मैले उपदेश दिनुपर्छ भन्ने प्रवृत्ति हाबी छ उनमा । प्राय नेपाली राजनीतिकर्मी र मन्त्रीकै रोग हो यो । विज्ञसँग परामर्श नलिने बरु सबैथोकको विज्ञ आफैं बन्ने । लम्साल पनि अर्कैबारीको बेथे हुन सकेनन् ।

Advertisement

आन्तरिक पर्यटकलाई डाक्ने तौरतरिका के हुन सक्छन् ? गण्डकी प्रदेशको प्रवद्र्धन कसरी गर्न सकिन्छ ? बजारीकरण कसरी गर्ने ? भन्नेबारे कुनै उपाय निकालिएको छैन । परम्परागत शैलीमा केही ब्रुसर बनायो, टिसर्ट छाप्यो, टोपी सिलायो गर्नेबाहेक केही भएको छैन । के गण्डकी प्रदेश सरकार अन्तर्राष्ट्रिय स्तरकै विज्ञ डाकेर जुक्ति निकाल्न सक्दैन । सक्नुपर्छ । अरु प्रदेशका सरकारी तथा निजी निकायलाई पोखरा र सिंगो गण्डकी प्रदेश भ्रमणका लागि निम्तो बाँड्न सक्दैन ? गण्डकीमा आन्तरिक पर्यटन वर्ष चलिरहेको छ भन्ने नेपालकै अरु कतिलाई थाहा होला ? पटक्कै थाहा भएको छैन । न कुनै प्रचार न कुनै कार्यक्रम कसरी थाहा हुन सम्भव छ ?

पर्यटक बोलाएर मात्रै पनि हुँदैन । सुविधा के दिने हो भन्ने पनि हुनुपर्छ । आउने त त्यसै पनि गण्डकी प्रदेशको प्राकृतिक छटाले डाकेर आइरहेकै छन् । फेरि फेरि आउने किन भन्ने औचित्य पुष्टि गर्ने आकर्षण सरकारले दिन सक्नुपर्छ । व्यवसायीसँग मिलेर त्यसको चाँजो मिलाउने दायित्व पर्यटन वर्ष घोषणाको आयोजक प्रदेश सरकारको हो । नयाँलाई आकर्षण गर्ने कार्यक्रम पनि हुनुपर्छ । वास्तवमा जे भइरहेको छैन र जे भइरहेको छ त्यो सबै पर्यटन वर्ष घोषणा तयारीबिनै गरिनुको परिणाम हो । पर्यटनमन्त्रीमा संवेदनशीलता नहुनुको नतिजा हो ।

Advertisement

तपाईको प्रतिक्रिया