पोविविको बजेट १ अर्ब नजिक

समाधान संवाददाता २०७६ असार १९ गते १२:४९

समाधान संवाददाता, पोखरा

पोखरा विश्वविद्यालयको वार्षिक बजेट १ अर्बको हाराहारीमा पुगेको छ । मंगलबार काठमाडौंमा भएको विश्वविद्यालयको २० औं साधारण सभाले ९९ करोड ५० लाख ९० हजार रुपैयाँको बजेट पारित गरेको छ ।

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सभा भएको हो । सभाले आगामी आवका लागि पुँजीगत खर्चतर्फ ३० करोड ९८ लाख ४७ हजार र साधारण खर्चतर्फ ६८ करोड ५३ लाख ४३ हजारको बजेट स्वीकृत गरेको छ ।

Advertisement

साधारणसभामा प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरू परम्परागत शिक्षा पद्धति र विचारलाई आत्मसात गर्दै अगाडि बढेकाले देश पछाडि परेको बताए । शिक्षालाई उत्पादनसँग, प्रविधि, काम र व्यवहारसँग नजोडेका कारण दक्ष र सीपयुक्त जनशक्ति उत्पादन हुन नसकेको उनको भनाइ थियो ।

सही किसिमले जनशक्ति प्रक्षेपणको नीति विश्वविद्यालयले नलिएका कारण बीच बाटोमै हामी अलमलिएको र युवा शिक्षित भएर पनि बेरोजगार र सस्तो श्रमशक्तिका रुपमा विदेश पलायन हुँदै गएकोप्रति दुख व्यक्त गरे । प्रधानमन्त्रीले हाम्रो ज्ञान र शास्त्रको परम्परा, लय, छन्द, ताल र सुरलाई लिपिबद्ध गर्न नसकेकाले शिक्षामा सुधार गर्न नसकिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । देशको आवश्यकता अनुसार शिक्षालाई डो¥याउनुपर्ने, निर्देशित गर्नुपर्ने उल्लेख गर्दै अन्धाधुन्द र नाफा कमाउने किसिमले शिक्षाको स्वीकृति र सम्बन्धन दिन विश्वविद्यालय कठोर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

Advertisement

शिक्षामन्त्री तथा पोखरा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालय भनेका जनशक्ति उत्पादन गर्ने केन्द्र भएकाले यसले उच्च दक्षता र सिप भएको तथा उच्चतम दक्षता र सिप भएको जनशक्तिको रुपमा प्रक्षेपण गरी योजनाबद्ध ढंगले जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । यसका लागि माग र आपूर्तिसँग जोडेर शिक्षा नीति अगाडि बढ्नुपर्ने उनको विचार थियो ।

तपाईको प्रतिक्रिया