ड्रोनबाट योजना सर्भे र अनुगमन

समाधान संवाददाता २०७६ असार १९ गते १३:१९

मोहसिन अली मियाँ
गोरखा

गोरखा नगरपालिकाले विकास निर्माण र योजना सर्भे एवं अनुगन ड्रोनबाट गर्ने भएको छ । नगर क्षेत्रभित्र सञ्चालन हुने विकास निर्माणका कामलाई चुस्त बनाउन सर्भे, अनुगमन, नक्सांकन लगायतका काममा ड्रोनको प्रयोग गर्न लागिएको हो । ‘हामीले सञ्चालन गरेका कामलाई चुस्त, दुरुस्त बनाउन यसले पूर्ण रुपमा सहयोग गर्छ भन्ने विश्वास छ’, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘प्रविधिमैत्री नगर बनाउने योजना पनि अघि सारेका छौं ।’

कार्यालयमा रहेको प्राविधिकको कमीलाई समेत ड्रोनले परिपूर्ति गर्ने नगरको विश्वास छ । कार्यालयमै बसेर नगर क्षेत्रमा भइरहेको विकास निर्माण लगायतका कार्यक्रम र योजना हेर्न सकिने भएकाले पनि कर्मचारीको अभाव ड्रोनले थेग्ने नगर प्रमुख पन्तको भनाइ छ । ‘एक त हामीसँग प्राविधिक कम छन, अहिलेसम्म सानो सानो काममा पनि फिल्ड मै प्राविधिक पुग्नुपर्ने बाध्यता छ’, उनले भने, ‘यसले समय पनि धेरै लाग्यो, कार्यालयको काम पनि प्रभावित बन्यो ।’

Advertisement

आगामी आर्थिक वर्षमा हुने निर्माणका कामलाई कार्यालयमै बसेर अनुगमन गर्दा थप प्रभावकारी बन्ने बनाइएको छ । ‘नगर क्षेत्रभित्र कहाँ के काम भइरहेको छ, कुन योजनाको प्रगति के छ भनेर स्थलगत रुपमै हेर्नुपर्ने अवस्था पनि अन्त्य भएको छ’, नगर प्रमुख पन्तले भने ।

ड्रोनले पर्यटन प्रर्वद्धनलाई समेत सघाउने अपेक्षा गरिएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय नगरी गोरखाका महत्वपूर्ण स्थलको दृष्य एवं तस्विर खिचेर प्रचारप्रसार गर्ने योजना कार्यालयको छ । ‘भिडियो खिचेर डुकुमेन्टी बनाउँछौं, फोटो खिचेर प्रचार गछौं’, नगर प्रमुख पन्तले । ड्रोनको प्रयोगबाट योजनाको सर्भे र नक्सांकन वास्तविक हुने आइटी इन्जिनियर सयोग खनालले बताए । ‘ड्रोन प्रयोग गर्दा समय पनि कम लाग्छ, कर्मचारी पनि कम लाग्ने र सर्भे र म्यापिङको वास्तविक तथ्यांक यसले दिन सक्छ’, खनालले थपे, ‘प्राविधिकले ५ दिन लगाएर हुने काम ड्रोनले करिब २ घण्टामै सिध्याउछ ।’

Advertisement

१५ लाख लागतमा नगरपालिकाले खरिद गरेको ड्रोनको क्षमता ८ किलोमिटरसम्म छ ।
नगर क्षेत्रमा ड्रोन उडानका लागि नगरपालिकाले केही दिनअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत स्वीकृति लिइसकेको छ ।

तपाईको प्रतिक्रिया