चीनको विकास बुझेर फर्किए महिला व्यवसायी

समाधान संवाददाता २०७६ असार १९ गते १३:४१

जमुना वर्षा शर्मा
पोखरा

पोखराका पर्यटन क्षेत्रमा सक्रिय महिलाले ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका प्रभावकारी रहेको बताइन् । पराजुली चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास गरिन् ।

Advertisement

उनले चीनका प्रमुख सहरमा नेपालबारे थाहा नभएको देख्दा दुख लागेको बताइन् । उनले भनिन् ‘हामी मुख्य ३ सहर बेइजिङ, गोन्जावो, साङ्घाइ सहर प्रमुख गन्तब्यमा पुग्यौ । कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकांश पसलमा हामीलाई भारतीय नागरिक बनाइयो ।’ उनले नेपाल भ्रमण वर्ष २०२० पर्चाहरु बाँडेर र सगरमाथा, गौतमवुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै आफ्नो टोलीले नेपालका परिचय दिँदै हिडेको बताइन् ।

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताइन् । हरेक क्षेत्रमा सक्रिय रुपमा तल्लिन त्यहाँका नागरिकको मेहनतले चीनलाई आर्थिकरुपमा सवल बनाउन सकेको उनको धारणा थियो ।

Advertisement

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्न लायक रहेको सहभागी उमा काफ्लेको भनाइ छ । प्राकृतिक भन्दा पनि मानव निर्मित धेरै कुराबाट विश्वको ध्यान खिचिरहेको चीन नेपालीकालागि महत्वपूर्ण अध्ययन अवलोकनको गन्तब्य रहेको भ्रमणमा सहभागी माया सुवेदीले अनुभव सुनाइन् । भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको एयरपोर्टमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताइन् ।

‘हामीलाई नेपाल एयरपोर्टमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै समय रोकियो ।’ श्रीमानलाई सोधेर आएको हो ? महिला महिला मात्रै कसरी जानुहुन्छ ? जस्ता कुराले नमज्जा लागेको उनको भनाई थियो । भण्डारीले चीन प्रवेशसँगै घुम्दा र देख्दा अनी त्यहाँको इतिहासको बारेमा जान्दा विकासकालागि शताब्दि कुर्न आवश्यक नहुने रहेछ भन्ने कुराको बोध भएको बताइन् । देशलाई माया गर्ने राजनेता भए ४ दशकमै मुलकले आर्थिक छलाङ मार्न सक्ने उदाहरण चीनबाट सिक्ने सकिने उनको भनाइ थियो । बेइजिङको टप भ्यूज होलिडेज प्रालिसँगको समन्वयमा मञ्चका १८ जना पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, साङ्घाइ, गोन्जाओ, सहरका मुख्य मुख्य ठाउँको अध्ययन अवलोकन गरेको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिइन् । टोली असारको ३ गते गएर १४ गते फर्किएको हो ।

तपाईको प्रतिक्रिया