कांग्रेसको औचित्य ?

समाधान संवाददाता २०७६ असार २० गते १६:५६

तारा पाखे

पिताजी कृष्णप्रसाद कोइरालाले समृद्धिको शिखरबाट चन्द्र समशेरले एक्कासी सडकमा पुर्‍याएपछि फुटपाथे व्यापारले सास धान्ने प्रयत्न गर्नुभयो । कोसी किनारको बञ्जर जमीन आवाद गरी खोले फाँडो जुटाउने प्रयत्नमा पनि बाढीले सताएपछि पुनः सडकमा भौतारिनु, आखिर मोहन समशेरको प्रताडनाले कठोर मृत्युवरण गर्नु, बिपीले प्रवासका विपन्नता र भारतीय स्वतन्त्रता आन्दोलनमा पलपल ठोकर खाँदै कालकोठरीका यातना सहनु, विराटनगर जुट मिलको मजदुर आन्दोलन पछिका अनेकौं यातना, सुन्दरीजल कारागारको लामो जेल जीवन, प्रवासको लामो अनिश्चित तानाशाह इन्दिरा गान्धीका मनासिक प्रताडना, असफल सशस्त्र विद्रोह, ७ वटा ज्यान सम्बन्धी मुद्दा, क्यान्सर रोगको शारीरिक पीडा, थोरै समयको प्रधानमन्त्रित्वकालमा विल्कुलै प्रतिकूल परिस्थितिमा पनि मुलुकलाई पुर्‍याउनुभएको अनेकौं ऐतिहासिक युगान्तकारी परिवर्तन, आर्थिक प्रलोभनमा सुविधा आमोद प्रमोदमा कहिल्यै भुल्नु भएन ।

आधा भत्तामा निर्वाह गर्नुभएको त्याग र त्यही आदर्शलाई आत्मसात गर्दै सुवर्णजीको आर्थिक, बौद्धिक, आदर्श, त्याग, गणेशमानजीको शूरतापूर्ण त्यागमय जीवन, सिद्धान्त निष्ठा, कृष्णप्रसाद भट्टराईजीको बौद्धिक त्यागमय दूरदर्शी राष्ट्रवादी आदर्श, फक्कड जीवन, गिरीजाको कठोर संघर्ष, त्यही आदर्शलाई जीवन पद्धती बनाएका सुशील, शैलजा, भीमबहादुर तामाङ जस्ता त्यागी तपस्वी नेता, कार्यकर्ताको लोकतान्त्रिक, समाजवादी, नीतिवादी, व्यावहारिक, गतिशील, त्याग, तपस्या र आत्मवलिदानी आदर्शको धरोहर, लोकतान्त्रिक व्यवस्थाप्रति पटकपटकका अग्नि परीक्षामा खारिएर खरो उत्रिएको, पटकपटकका सफल क्रान्तिको नेतृत्वकर्ता नेपाली कांग्रेस अस्तित्वको संकटमा फसेको छ । अहिले पनि तुलनात्मक रुपमा सर्वाधिक, त्यागी, तपस्वी नेता कार्यकर्ताको कांग्रेसमा कमी छैन । वर्तमान संकटको मूल कारण नेतामा आदर्श, त्याग र वलिदानी भावनाको नितान्त अभाव हुनु नै हो ।

Advertisement

गणेशमानजीले कृष्णप्रसाद र गिरीजालाई हाँक्न सक्नुभएन । त्यहीं देखिको अन्तरकलह, व्यक्तित्वको टक्करबाट विभाजित हुँदै अहिले बाहिरै प्रष्ट देखिएका ५ गुटमा विभाजित छ, नेपाली कांग्रेस । ‘नस्यन्ति बहुनाएका’ ल भैगो । महाधिवेशनले नयाँ नेतृत्व देला, पार्टी चलायमान भएर जोस–जाँगरका साथ अघि बढ्ला भन्ने आशा पनि परपर सर्दै छ ।

आन्तरिक गुटबन्दी, अन्तरकलह, राष्ट्रव्यापी रुपमा जनस्तरसम्म झ्याङ्गिदै गएको छ । महासमितिको अधिवेशनपछि सुधार हुने वा जन जागरण पछि मेलमिलाप, स्नेह, सद्भाव आउने आशा पनि त यस्तै चालाले कसरी पूरा होला ? यदि कांग्रेसकै सिद्वान्त र आदर्शमा नेकपा आएको हो । उसकै नेतृत्वको संविधान अन्तर्गत बने, चलेको सरकारलाई सर्वसत्तावादी, कम्युनिस्ट तानाशाही लाद्ने’ आदि आक्षेपको औचित्य नै के भयो र ? यस्तै हो भने नेपाली कांग्रेस प्रजा परिषद् बन्ने प्रक्रियामा छ र कांग्रेसको घर डढेपछिको न्यान्योमा आफू फस्टाउने दिवास्वप्ना वैकल्पिक, प्रजातान्त्रिक शक्ति भनेर धक्कु लगाउनेको आशा पूरा नभए पनि क्षणिक आतमरतिमा रमाउँलान् ! किनभने उनीहरुले पनि योग्यता र क्षमता, विश्वशनीयता प्रदर्शन गर्न सकेका छैनन् ।

Advertisement

क्षमतावान युवा कांग्रेस र नेकपाभित्रै छन् । तर क्षमतावान् त्यागी, तपस्वी नेता कार्यकर्ता अवसरको प्रतीक्षामा छन् । यदि वर्तमान नेकपा लोकतान्त्रिक पद्दतिप्रति प्रतिबद्ध हो, जवज भनेको पनि आदर्श लोकतान्त्रिक समाजवादी व्यवस्थै हो भने थप कांग्रेसको समस्या ! नेकपा नै भए पनि भएन र लोकतान्त्रवादी ? वैकल्पिक लोकतान्त्रिक शक्ति त नेकपा नै भयो ! सेना लगायतका अन्य सबै संवैधानिक निकायको हस्तक्षेपकारी प्रवृति, कर र भत्ता, सुविधा आतंक सरकारले नियन्त्रण गरी नेताका भाषणमा यदाकदा आउने २ तिहाईको दम्भ जस्ता विषयमा कठोरतापूर्वक नियन्त्रण र आम लोकतन्त्रवादी नागरिक तथा वैदेशिक लोकतन्त्रवादी मित्रमा यथाशिघ्र विश्वसनीयता बढाउनु अनिवार्य छ ।

गुटबन्दी सबैको रोग हो । सत्ता सुखले मात्र एकत्रित, बेग्लाबेग्लै सिद्वान्तका सत्ताधारीको एकता पनि कति दीगो रहँला ? सिद्वान्त र व्यवहारमा ठूलो खाडल र सिद्वान्तकै अस्पष्टता, पद र धनलोलुपता एता पनि छ । ‘संक्रमणकालमा यस्तै हो’ भनेर चित्त बुझाएर बस्दाबस्दा हरानी भइसक्यो । यदि सिद्वान्तप्रति सत्य–निष्ठा छ, मुलकप्रति जिम्मेवारीको वास्तविक राष्ट्रभक्ति छ, लोकतान्त्रिक व्यवस्थाप्रति सच्चा आस्था र विश्वास छ भने यी दुवै शक्तिले आदर्श, त्याग र राष्ट्रभक्तिका विषयमा जनसेवा र मुलुककै निमित्त कल्याणकारी होला । राष्ट्रोउन्नतीप्रतिका क्रियाकलापले जनता जनार्दको सेवामा समर्पित हुँदै राजनीतिलाई ठगी, मागी खाने प्रवृतिबाट माथि उठेर कार्यकर्तामा नेतृत्व चयनमा आसे–गासे, चाप्लुस, चाटुकारलाई एकैसाथ झट्कारेर खुला निष्पक्ष निर्वाचनद्वारा समग्र नेतृत्व तहमा नयाँ नेतृत्व निर्माणमा वर्तमान असफल वा म्याद गुज्रेको नेतृत्व तत्पर हुनु स्वयं नेताकै लागि र मुलुककै लागि पनि कल्याण्कारी होला । यी दुवैमा प्रतिस्पर्धा त यस्ता विषयमा हुनुमा नै सबैको कल्याण छ । बेलैमा चेतान भया ! आगे नेताकै जो विचार ।

भवतु सर्व मंगलम् ।

तपाईको प्रतिक्रिया