कार्यालय मै मदिरा खाएर डिआइजीसंग झगडा गर्ने गोर्खाका एसपी हटाइए

समाधान संवाददाता २०७६ असार २० गते १८:४५

समाधान संवाददाता

मदिरा खाएर डिआइजीसंग उल्टै झगडा गर्ने गोरखा जिल्लाका प्रहरी प्रमुख एसपी भोला रावललाई जिम्मेबारीबाट हटाइएको छ । प्रहरी प्रधान कार्यलयका प्रवक्ता रमेश थापाका अनुसार उनलाई गोरखाबाट प्रदेश नम्बर ६ प्रहरी कार्यालयमा सरुवा गरिएको हो ।

उनले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेसंगै मादक पदार्थ सेवन गरेर झगडा गरेका थिए । डिआइजीले सम्पर्क गर्न खोज्दा सम्पर्कमा पनि नआउने र जिल्लामा घटेका घटनाको ब्रिफिङ पनि नगरेका कारण डिआइजी शर्माले उनको बारेमा अनुसन्धान गर्न टोली नै खटाएका थिए । उनको अनुसन्धानमा खटिएको टोलीले उनले दिउसै मादक पदार्थ सेवन गरेका पाएको थियो । एसपी रावलको मेडिकल रिपोर्ट समेत प्रहरी प्रधान कार्यालयमा पठाइएको थियो ।

Advertisement

प्रहरी प्रवक्ता थापाका अनुसार रावलको ठाउमा ओम अधिकारीलाई काजमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ एसपीको काज सरुवा गरेको छ । जस अनुसार महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्ट खटाइएका छन् । नवराज भट्ट गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा पठाइएका छन् भने बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार इकाइको जिम्मेवारी दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया