‘खै के गरें कति गरें । त्यो त पोखराले भन्ला, पोखरेलीले सम्झलान् ।’

समाधान संवाददाता २०७६ असार २१ गते १६:५१

अमृत सुवेदी

भारतको उत्तराञ्चलगडवालको दुर्गम गाउँका १ शिक्षित ठिटोलाई सरकारले टपक्क टिपेर जागिरमा लगाउँछ । चामुल भन्ने जिल्लाको यस्तो दुर्गम इलाकामा उनको जन्म भएको थियो, जहाँ सडक, बिजुली, स्वास्थ, शिक्षाको पहुँचै थिएन । झन् राजनीतिक ज्ञान र चेतना त टाढाको कुरा । त्यही गाउँमा एमए पढेका ती युवालाई भारत सरकारले ग्रामीण विकास योजनामा असिस्टेन डेभलपमेन्ट अफिसर बनाएर तालिम लिन आग्रा पठाउँछ ।

आग्रा जाने रेलस्टेसनसम्म पुग्नमात्रै २ दिन हिँड्नुपर्ने बाटोमा ती युवाको भेट केशवदत्त नाम गरेका एक ब्रह्मचारीसँग हुन्छ । ब्रह्मचारी बद्रीनाथ, केदारनाथ, बागेश्वर हुँदै मानसरोवरसम्म नांगै खुट्टा जाँदै रहेछन् ।

उनीहरुबीच संवाद चल्छ । दोस्रो दिन ब्रह्मचारीले युवालाई भन्छन्, ‘तिमी सरकारी जागिर खाएर के गर्छौ ? अरु सेवा गर ।’ युवाले भन्छन्, ‘सरकारी जागिर सानो होइन, झन् ठूलो सेवा हो ।’

Advertisement

फेरि ब्रह्मचारीले आफ्नो ज्ञानलाई पैसा आर्जन र स्वार्थमा होइन सेवामा ढाल्न आग्रह गर्छन् । ब्रह्मचारीले ती युवालाई भन्छन्, ‘हेर बाबु तिमी भोली उपल्लो पदमा बढुवा हुँदै जाउला त्यो ठूलो कुरा होइन । ठूलो कुरा के हो भने जीवन समाजलाई अर्पण गर्न सक्छौ कि सक्दैनौं, तिम्रो ज्ञान के मा खर्च हुन्छ भन्ने कुरा हो । तिम्रो शिक्षा अरुलाई शिक्षित बनाउन प्रयोग हुन्छ कि हुँदैन भन्ने ठूलो कुरा हो ।’

सरकारी जागिर पक्का गरेर तालिम लिन हिँडेका ती युवाको मन फेरिन्छ । युवाले सोध्छन्, ‘म के गर्न सक्छु ? अब त्यो बाटो बताइदिनुस् ।’ ब्रह्मचारीले एउटा चिठी हातमा थमाइदिन्छन् । आग्रा हिँडेको युवा सिलगुडी, दार्जिलिङ हुँदै नेपाल छिर्छन् ।

Advertisement

इलाममा उनले स्कुल खोल्छन् । तिनै युवा पोखरा आइपुग्छन् । पोखरामा शिक्षाको ज्योति बाल्छन् । शिक्षाको विकास गर्न र हजारौं विद्यार्थीलाई दीक्षित बनाउन उनले योगदान पु¥याउँछन् ।

यो पढ्दा कुनै दन्त्यकथा जस्तो लाग्न सक्छ । तर, सत्य हो । यो उनैको नेपाल प्रवेशको कथा हो, जुन व्यक्ति पोखराका क्याम्पसमा हजारौं विद्यार्थीका गुरु बने । जसले पोखराको आधुनिक शिक्षाको विकासमा नेतृत्व गरे ।

बलवीर सिंह नेगी पोखराको तत्कालीन सोल्जर हाइस्कुल (अहिलेको अमरसिंह उच्च मावि), पृथ्वीनारायण क्याम्पस र कालिका क्याम्पसलाई यहाँसम्म ल्याइपु¥याउने अगुवा हुन् ।

पोखरेली शैक्षिक विकासलाई फर्केर हेर्दा इतिहास विषयका गुरु बलवीर सिंह स्वयं इतिहास हुन् । जसलाई हटाइदिने हो भने शिक्षाको त्यो इतिहास फिक्का देखिन्छ ।

शैक्षिक संस्थासँगको सुख दुख मात्रै उनीसँग जोडिएनन्, हजारौं विद्यार्थीको भविष्यसँग पनि जोडिए । बलवीर सिंह पोखरामा शिक्षाको दियो बाल्ने अभियान्तामात्रै बनेनन्, काँचुली फेरेको पोखराको साक्षी पनि बने ।

‘भारतको सरकारी जागिर खान हिँडेको मान्छे, कहाँ पोखराका क्याम्पसमा आएर जीवनै अल्झायो । तर, त्यो अल्झाई यति मीठो छ कि म कहिल्यै बयान गर्न सक्दिनँ,’ उनले अन्तर्वार्तामा भनेका थिए ।

बलवीर सिंह १९९० मा उत्तराञ्चलमा जन्मे । सेवा नेपालका लागि गरे । पक्का भएको सरकारी जागिर र थुप्रै अवसर मारेर उनी नेपालमा अनवरत लागिरहे । ‘त्यो दिन ब्रह्मचारी नभेटेको भए म भारतको सरकारी जागिर खाइरहेको हुने थिएँ । नेपाल नै आउने थिइनँ,’ बलवीर सिंहले खिस्स हाँसेर भने, ‘ब्रह्मचारीले थमाएको एउठा चिठीले नेपाल ल्याइपु¥यायो ।’

ती ब्रह्मचारीले दार्जिलिङका लेप्टन केशरबहादुर प्रसाईंलाई भनेर चिठी लेखिदिएका थिए । केशरबहादुर हुँदै उनको भेट तत्कालीन इलामका बडाहाकिम सन्तवीर लामाका छोरा अमीर लामासँग भयो ।

अमीरले बुबालाई चिठी लेखेर पठाउँछन्, ‘मास्टर पठाएको छु, तुरुन्त काम लगाउनु ।’ ट्रक चढेर उनी इलाम पुगे । आइतबारेबाट माइखोला हुँदै इलाम पुग्दा गाउँमा स्कुल राख्ने कि नराख्ने भन्ने आम भेला रहेछ ।

बलवीरलाई २०१५ सालको साउन महिनाको तिथि मितिसहित कण्ठै थियो । उनलाई देखेपछि बडाहाकिम ढुक्क भएर भने, ‘हाइस्कुलको हेडमास्टर बनाउँछौं तर, बेसी तलब दिन सक्दैनौं ।’ बेसी भनेको नेगीले बुझेनन् । पछि थाहा पाए, ७५ रुपैयाँ तलब तोकिएछ । ‘तर दिने बेलामा त स्कुलको फिसबाट आएको पैसा दामासाहीले बाँड्ने कुरा रहेछ,’ उनले खित्का छोडेर हाँस्दै भनेका थिए, ‘मेरो भागमा प¥यो जम्मा १४ रुपैयाँ ।’

बरवीर सिंहको जागिरे जीवन १४ रुपैयाँबाट सुरु भयो । २०१५ साल भदौ १५ गतेदेखि इलामको सरस्वती कन्या हाइस्कुलमा उनी हेडमास्टर भएर काम थाले । जहाँका डिग्री गरेको उनी एकमात्र थिए, अरु बढीमा १० कक्षा पास गरेका । बलवीर त्यहाँ हेडमास्टरी गर्दै ब्याचलर अफ टिचिङपनि सके । उनले सरस्वती कन्या सम्हाल्दै थिए, १ दिन भारतीय दुतावासको टोली इलाम पुग्यो । दुताबासको सैनिक सचिवले ठाउँठाउँमा भारतीयले खोलेको सोल्जर बोर्डिङ अनुगमन गर्थे । त्यही मौकामा नेगीसँग भेट भयो ।

जेडी करवाल नाम गरेका १ सैनिक सचिवले नेगीलाई सुझाए, ‘तपाईं पोखरा जानुस् म तुरुन्त नियुक्ति पत्र दिन्छु ।’ नभन्दै करवालले काठमाडौंमा रहेको भारतीय दुताबासबाट अमरसिंह चोकमा रहेको तत्कालीन सोल्जर हाइस्कुलको नियुक्ति पत्र दिलाइदिए ।

काठमाडौंबाट नियुक्ति लिएर भैरहवा विमानस्थल हुँदै उनी पोखरा आए, २०२० सालमा । पोखरा झर्ने बित्तिकै बलवीरलाई पोखराको हिमालले मन ह¥यो । बतासले आनन्दित बनायो । मान्छेहरुको मुस्कानले मोहित बनायो ।

‘जब पोखरा झरें, म त चकितै परें । त्यो दिन पुरै हिमाल खुलेको थियो । साना घर र ढुंगा छापिएका बाटा, सिस्नो घारी र हरिया फाँट । मेरो मन त चंगै भयो,’ बलवीरले ती दिन सम्झिँदै सुनाए, ‘त्यस दिन नै म पोखरा छोडेर कतै जान्नँ भन्ने बाचा गरें ।’

बलबीरले सोल्जरमा पढाउँदै गर्दा २०२२ सालमा पृथ्वीनारायण क्याम्पसमा बिएमा इतिहास विषय सञ्चालन गर्ने योजना चल्यो । क्याम्पसका महेन्द्रसिंह थापाले बलवीरको सुइँको पाए । महेन्द्रसिंहले पृथ्वीनारायण क्याम्पसमा प्रस्ताव गरे, ‘तपाईं आइदिनुप¥यो ।’ अस्थायी शिक्षकको रुपमा उनले नियुक्ति लिए । त्यो पनि दैनिक १ पिरियड पढाएको मासिक १ सय रुपैयाँ तलबमा ।

२५ सालमा उनी पृथ्वीनारायण क्याम्पसकै स्थायी भए । तलब पुग्यो ३ सय ७५ रुपैयाँ । तत्कालीन पृथ्वीनारायण क्याम्पसको संरचना साह्रै कमजोर थियो । रातदिन खटिए । ‘जर्जजोन सरले निकै दुख गर्नुहुन्थ्यो । हामी बल्ल उहाँको साथी बन्न पुगेका थियौं,’ बलवीर भन्थे, ‘आज पृथ्वीनारायण क्याम्पस यहाँसम्म आइपुग्नुमा थुप्रैको मिहेनत परेको छ ।’

बरवीर पृथ्वीनारायण क्याम्पस आउँदा छाप्रा कक्षा कोठा, ९०÷९५ जना विद्यार्थी, त्यसमा जम्मा ३ जना छात्रा विद्यार्थी थिए । अहिले त्यही क्याम्पसमा सयौं विद्यार्थी अध्ययनरत छन् ।

बलवीरले २०३५ सालमा पृथ्वीनारायण क्याम्पस प्रमुख भएर काम गरे । २०२२ सालदेखि २०५८ सालसम्म निरन्तर उनले पिएन क्याम्पसमा योगदान गरे । बरवीरकै अगुवाइमा खुलेको हो, पोखराको कालिका क्याम्पस पनि । पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी थामिनसक्नु भएपछि भौतिक पूर्वाधार कम बनेको र सुविधा नपुगेको सेती पारी (काजीपोखरी) तिर कालिका क्याम्पस खोल्न उनीसहित वीरेन्द्रसिंह गुरुङ, डा. कृष्ण केसी, डा. चन्द्रबहादुर गुरुङ, महेश गुरुङ लगायत कस्सिएर लागे । बलवीरले लामै समय कालिका प्रमुख भएर काम गरेपछि ७२ सालपछि अवकास लिएका थिए ।

शैक्षिक अवकास लिएपछि बलवीरले भनेका थिए, ‘लोर्के ठिटो थिएँ, पोखरामा पाइला राख्दा । सानोभन्दा सानो जे योगदान गर्न सक्छु गर्छु भनेर आएको थिएँ । खै के गरें, कति गरें । त्यो त पोखराले भन्ला ? पोखरेलीले सम्झलान् ।’

उनका जीवनका रंगहरु यही पोखराको सोल्जर हाइस्कुल हुँदै हराइ गए । कति आशा र भरोसाहरु पृथ्वीनारायण क्याम्पसका कक्षामा थपिए । जीवनका कतिपय हर्षहरु कालिका क्याम्पसका विद्यार्थीमा मिसिए । बढ्दै गएका विद्यार्थी र तिनका सफलतामा कतिपय जीवनका दिग्दारीहरुलाई खुसीमा बदलिए ।

बलवीर पोखरामा जन्मिएनन् । तर, यही पोखरामा जन्माए उनले थप्रै कर्णधारहरु । यही माटोमा उनले आफ्नो स्थायी घर बनाए र पोखरासँग मीठो नाता गाँसे ।

ब्ल्याक बोर्डमा चक डस्टर घोट्दा–घोट्दै बरवीर सिंह नेगी सरका ऊर्जा खिइँदै गए । बढाउँदा बढाउँदै शिक्षाको उज्यालो उमेरका इट्टाहरु खस्दै गए । शरीरका अंगले काम गर्न छोड्दै गएपछि कसैको केही लाग्दो रहेनछ । र त, बुधबार साँझ मृत्युका सामु बलवीरको पनि केही जोर लागेन ।

तपाईको प्रतिक्रिया