मरेखरे घाटसम्म नमुना सडक

समाधान संवाददाता २०७६ असार २२ गते १६:४०

समाधान संवाददाता

पोखरा २७ ले सेती नदी किनारमा रहेको मरेखरे घाटसम्म पुग्ने सडकलाई नमूना सडकको रुपमा निर्माण गरेको छ । ७९ लाख रुपैयाँको लागतमा रिठ्ठेपानीदेखि ९ सय ७५ मिटर सडक ढलान गरी घाटसम्म पुग्न सहज भएको हो । यसअघि स्थानीयले शवयात्रा तथा दाहसंस्कारका लागि घाटसम्म पुग्न सास्ती खेप्दै आएका थिए । महानगरपालिकाको सहयोगमा पहिलो चरणमा ६७ लाख रुपैयाँको लागतमा करिव ८ सय १० मिटर र पछिल्लो पटक १ सय ६५ मिटर सडक ढलान भएपछि सडक निर्माण कार्य पूरा भएको हो । स्थानीय बासिन्दाको २ लाख रुपैयाँसहित जनसहभागिता १२ लाख रुपैयाँ बराबरको खर्चमा बाटो निर्माण भएको वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए ।

स्थानीय सहयोगले तोकिएकै समयमा सडक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष क्याप्टेन गणेशप्रसाद गुरुङले बताए । सडक निर्माणमा स्थानीय प्रगतीचोक आमा समूहलेसमेत सहयोग गरेको उनले बताए । वडाध्यक्ष गुरुङले वडा नं. २७ मा सम्पन्न भएका योजना मध्ये मरेखरे घाटसम्म पुग्ने सडक नमूना रहेको उल्लेख गरे । नमूना बनेको सडकको मर्मत संभारका लागि १ कोष नै निर्माण गरी निरन्तरता दिनेसमेत उनले बताए । महत्वपूर्ण सडकको रुपमा हामीले हेरेका छौं, वडाध्यक्ष गुरुङले भने, ‘यसको मर्मत संभारका लागि पनि बेलैमा सोच्नु पर्छ त्यसका लागि म पदमा भए पनि नभए पनि सहयोग गर्न तयार छु ।’ दवदाहस्थल सम्म पुग्ने सडकको निर्माणबाट वडा नं. २६, २७, २८ र २९ नम्बर वडाका वासिन्दा लाभान्वित हुनेछन् ।

Advertisement

महानगरको सार्वजनिक लेखा समितिका संयोजक रहेका गुरुङले विकास निर्माणका काममा गुणस्तरलाई कुनै संझौता नगरिएको बताए । वडाध्यक्ष गुरुङका अनुसार वडा नं. २७ मा चालु आर्थिक वर्षका सम्पूर्ण योजना सम्पन्न भएका छन् । सडक, सिंचाइ, स्वास्थ्य, शिक्षा, खानेपानी र सामाजिक विकासका योजनामा रकम खर्च भएकोसमेत उनले बताए । वडाध्यक्ष गुरुङले उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई सम्मान गर्ने परिपाटीलाई यस बर्ष पनि निरन्तरता दिने उल्लेख गर्दै वडाको सेवा प्रवाह र विकास निर्माणको काममा गुनासो रहे आफूलाई सम्पर्क गर्न समेत वडावासीलाई आग्रह गरे । उनले आगामी आर्थिक वर्षका योजना बर्षायाम सकिए लगतै कार्यान्यनमा लगिने समेत बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया