फोटो भाइरल भएपछि हटाइयो फुस्रेखोलाको तुइन

समाधान संवाददाता २०७६ असार २२ गते १६:५७

समाधान संवाददाता

पोखरा महानगरपालिकाको वडा १७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन शुक्रबार हटाइएको छ ।

बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइएपछि तुइन हटाउन बिहीबार प्रशासनले निर्देशन दिएको थियो ।

Advertisement

मंगलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्बिर सार्वजनिक भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो । नेपाल प्रहरीको टोलीले शुक्रबार तुइनमा प्रयोग हुने बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कोमल शाहका अनुसार झिकिएको तुइन बाकस प्रहरीको नियन्त्रणमा छ । तुइन भएको स्थानबाट चालु अवस्थाकै मोटरेवल स्टिल ब्रिजको दुरी १० मिनेटमा पर्छ । तर, फर्मले कृषि प्रयोजनका सामग्री ढुवानी गर्न सहज हुने भन्दै तुइन प्रयोग गर्दै आएको थियो । त्यसै तुइनमा स्कुले विद्यार्थी पनि वारपार गर्ने गर्थे ।
त्यहीँ मेसोमा सञ्चारमाध्यममा मंगलबार स्कुले ३ विद्यार्थी तुइनबाट तर्दै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

Advertisement

नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति लिएको छ ।

नेपाल प्रहरीको टोलीले शुक्रबार तुइनबाट झिक्दै गरेको बाकस । तस्बिरः सुरेश सुनार
स्कुले विद्यार्थी तुइनबाट फुस्रेखोला वारपार गर्दै गरेको भाइरल तस्बिर ।

तपाईको प्रतिक्रिया