भानु नगरपालिकामा गाँजा फँडानी

समाधान संवाददाता २०७६ असार २२ गते १७:११

दमौली, २१ असार (समाधान) –

जिल्ला प्रहरी कार्यालय तनहुँले ठूलो परिमाणमा गाँजा फँडानी गरेको छ । तनहुँको भानु नगरपालिका ६ स्थित डाडाथोक, बरभञ्ज्याङ र मान्द्रेमा प्रहरीले १० हजार गाजाको बोट फँडानी गरेको हो । उक्त स्थानमा अवैैध लागुऔषध गाँजा खेती रहेको भन्ने सूचनाको आधारमा प्रहरीले स्थानीय समुदायको सहकार्यमा गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार गाँजा फँडानीमा सामुदायिक सेवा केन्द्र दमौली, स्थानीय टोल सुधार समिति र स्थानीयवासीको सहयोग रहेको छ । ‘गाउँघरमा गाजा खेती भइरहँदा युवाहरुको आवतजावत बढ्ने र त्यस्ता युवाहरुले विभिन्न प्रकृतिका घटना घटाउन सक्ने भएकाले गाँजा फँडानी गरेका हौं,’ लामिछानेले भने, ‘विशेष सूचनाका आधारमा उक्त ठाउँमा गाँजा खेती भइरहेको जानकारी पाएका थियांै ।’ सामुदायिक सेवा केन्द्र दमौलीका अध्यक्ष दुर्गाभक्त अधिकारीले कानुनले अवैध मानेको गाँजाको खेती गर्न नहुने भन्दै प्रहरीले सञ्चालन गरेको गाँजा फँडानी अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

‘युवालाई कुलतबाट जोगाउन प्रहरीले चालेको कदम सकारात्मक छ, यसमा सबैको साथ अपरिहार्य छ,’ उनले भने । प्रहरीले जिल्लाका विभिन्न स्थानमा गाँजा फँडानी अभियानलाई तीव्र पारेको छ । केहि दिन अघि मात्रै प्रहरीले व्यास नगरपालिका ७ जलादी, शुक्लागण्डकी नगरपालिका २ गाछेपानी, शुक्लागण्डकी नगरपालिका ८ घारीमा गाँजा फँडानी गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया