व्यवसायीलाई खाद्य स्वच्छता तालिम

समाधान संवाददाता २०७६ असार २२ गते १७:२०

समाधान संवाददाता

खाद्य उद्यमी तथा होटल रेस्टुरेन्ट व्यवसायीलाई लक्ष्य गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरामा ३ दिने तालिम दिएको छ । खासगरी रेस्टुरेन्ट र खाद्य उद्योगमा प्रयोग हुने तेल र घिउँको गुणस्तर र प्रयोगबारे तालिम केन्द्रित थियो ।

१९ गते सुरु भएको तालिम शनिबार सकिएको हो । तालिममा क्याटरिङ व्यवसायी, सिटी रेबानका प्रतिनिधि, होटल संघ प्रतिनिधि र पोखरामा नाम चलेका खाजा घरका प्रतिनिधि गरी ६० जना सहभागी थिए ।

Advertisement

कार्यक्रममा विभागका वरिष्ठ खाद्य निरीक्षक भीमप्रसाद पुलामीले खाद्य ऐन २०२३ परिमार्जनको तयारीमा रहेको बताए । अब आउने ऐनमा दण्ड, जरिवानाको दायरा फराकिलो बनाइएको जानकारी उनले दिए । होटेल रेस्टुरेन्टले खाना बनाउने र त्यसपछिका क्रममा ध्यान पु¥याए पनि पकाउनुअघि नै ख्याल नगर्दा खाद्य पदार्थको गुणस्तर कमजोर हुने गरेको बताए । उनले भने, ‘नागरिकको स्वास्थ्यसँग जोडिएको कुरा छ, व्यवसाय गर्दा जिम्मेवार बन्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता गर्न हुँदैन ।’

उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले हरेक व्यवसायी आफू पनि उपभोक्ता भएकाले आफूलाई कस्तो असर पर्छ भनेर ख्याल गर्न आग्रह गरे । कास्कीमा खाद्य प्रविधि तथा गुण नियन्त्रणक डिभिजन कार्यालय रहे पनि प्रयोगशाला र अरु सामान्य सामग्री नहुँदा समस्या परेको उनको भनाइ थियो । प्रदेशस्तरमा छिटै नै प्रयोगशाला स्थापनाका लागि आफूहरुले पहल गरिरहेको उनको भनाइ थियो ।

Advertisement

खाद्य प्रविधि तथा गुण नियन्त्रणको डिभिजन कार्यालय कास्की प्रमुख प्रशान्त पोखरेलले आधारभूत खाद्य वस्तुमा कुनै खाले मिसावट स्वीकार्य नहुने भन्दै यसमा सचेत रहन आग्रह गरे । तेल, पानी, दूध जस्ता खाद्य पदार्थको स्वच्छताका लागि डिभिजन र विभागले प्रवद्र्धनात्मक काम गरेको आगामी दिनमा समेत गर्दै जाने उनको भनाइ थियो ।

क्याटरिङ व्यवासायी महासंघ अध्यक्ष लीला जिसीले क्याटरिङ र रेस्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छतामा ध्यान पु¥याए पनि उत्पादन र वितरणमै सुधार नआएसम्म यसको ग्यारेन्टी गर्न नसकिने भनाइ राखे । उनले भने, ‘बजारमा विषादीयुक्त तरकारी आउँछ, हामी पकाउँछौं । पछि परीक्षणको क्रममा दोषी हामीलाई बनाइनु हुँदैन ।’ व्यवसाय सञ्चालनका क्रममा अञ्जानवश भएका गल्ती कमजोरी सुधार गर्दै लैजाने प्रतिबद्धता उनले जनाए । व्यवसायीलाई सिधै कारवाही गर्नुभन्दा पनि पहिला सुधार गर्ने मौका दिनुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया