एकै मञ्चमा १४ भाषाका कविता

समाधान संवाददाता २०७६ असार २३ गते १३:०१

समाधान संवाददाता
पोखरा

प्रगतिशील लेखक संघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रम अरुभन्दा फरक रह्यो । प्रलेस गण्डकी प्रदेशले प्रदेशभित्र बोलिने विभिन्न मातृभाषाका स्रष्टाको सहभागितामा प्रगतिशील बहुभाषिक कविता महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा प्रदेशभित्र बोलिने भाषाका कविता र गीत सुनाइए । महोत्सवमा नेपालीसहित मगर, गुरुङ, संस्कृत, नेपालभाषा, तामाङ, थकाली, बान्तवा, दुरा, छन्त्याल, कुलुङ, कुमाल, सुनुवार (कोइँच), उर्दू गरी १४ भाषामा कविता र गीत प्रस्तुत भए ।

Advertisement

प्रलेसका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज सुशीला प्रधानांगले प्रलेसले पहिलोचोटि यस्तो खालको कार्यक्रम गरेको बताइन् । बढ्दो अंग्रेजी मोहले नेपालमा बोलिने मातृभाषा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले आफ्ना बालबच्चालाई मातृभाषा सिकाउनुपर्नेमा जोड दिइन् ।

प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीले लोपोन्मुख भाषाको संरक्षणका लागि मातृभाषी समुदाय र राज्य दुवै गम्भीर हुनुपर्ने बेला आएको विचार राखे । मातृभाषामा पठनपाठन र साहित्य सिर्जनामा विशेष दिनुपर्ने उनको सुझाव छ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की सचिव बखानसिंह गुरुङ ‘आभास’ले कार्यक्रमले नयाँ स्वाद दिएको बताए । संवैधानिक रुपमा मातृभाषाको संरक्षण लिपिबद्ध भए पनि ठोस रुपमा कार्यक्रम नभएको उनले औंल्याए । आभासले विविध मातृभाषाको संरक्षण गर्न सके नेपाल विश्वमै उदाहरणीय मुलुक बन्ने उनले बताए ।

कार्यक्रममा नेकपाका नेता रामराज रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सूर्य खड्का ‘बिखर्ची’ र नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्की सचिव बमबहादुर छन्त्यालले यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

महोत्सवमा नवराज दुरा, अम्बिकाप्रसाद भट्टराई, हनिफ मियाँ, उदयबहादुर अमात्य, लक्ष्मी पुनमगर, रूद्र सन्देश मगर, डिबी बान्तवा राई, प्रदीप कुलुङ राई, डा. गेहेन्द्रमान उदास ‘पोखरेली’, गौरी गुरुङ, जगमाया छन्त्याल, लक्ष्मी थापा, ज्योति भट्टचन, रोशन तामाङ, हरिबहादुर कुमाल, सहकृष्ण सुनुवार, उजीर रानामगर, विश्वहाङ राई, शशी तुलाचन, चिनबहादुर कुमाल, पोषराज पौडेल, तेजबहादुर गुरुङ, रोशनी गुरुङ, बुद्धिमाया तामाङ र पूर्ण ह्योल्मोले आ–आफ्नो मातृभाषामा कविता र गीत सुनाए ।

प्रलेस गण्डकी प्रदेश अध्यक्ष लोकबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नारायण मरासिनी, पूर्ण ह्योल्मो र उपाध्यक्ष विजया सुवेदीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया