बसपार्कको नक्सांकन र पर्खाल तयार

समाधान संवाददाता २०७६ असार २३ गते १३:३२

कृष्ण न्यौपाने
दमौली

तनहुँको बन्दीपुर गाउँपालिका १ चिसापानीमा बसपार्क निर्माण भइरहेको छ । बसपार्कको काम ३० प्रतिशत सकिएको छ। गाउँपालिकाको आन्तरिक बजेटबाट निर्माण सुरु भएको बसपार्कको नक्सांकन र पर्खाल निर्माण सकिएको छ ।

बन्दीपुर गाउँपालिका १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भानुभक्त पोख्रेलका अनुसार पृथ्वी राजमार्गदेखि बसपार्कसम्म पुग्ने ५ सय मिटर बाटोमा पर्खाल लगाइएको छ । ग्राभेल, नाला निर्माण, जग्गा सम्याउने, ढलान गर्ने लगायतका काम गर्न बाँकी रहेको पोख्रेलले जानकारी दिए । बसपार्क निर्माणका लागि चालु आर्थिक वर्षमा ३० लाख विनियोजन भएको थियो ।

Advertisement

पोख्रेलले बसपार्क निर्माणका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २५ लाख बजेट विनियोजन गरेको जनाए । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बसपार्कमा करिब ५ सय वटा सवारी पार्किङ गर्न मिल्नेछ । डुम्रे बजारमा बसपार्क नहुँदा सार्वजनिक सवारीको व्यवस्थापन अस्तव्यस्त भएकाले माथिल्लो डुम्रे चिसापानीमा बसपार्क निर्माण थालिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष घनश्याम श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘बसपार्क नहुँदा अहिले सडक छेउमै बस रोक्नुपर्ने बाध्यता छ । जसले दुर्घटना बढेको छ भने पैदलयात्रीलाई आवातजावतमा समस्या परेको छ ।’

तनहुँ र लमजुङको व्यापारिक केन्द्र डुुम्रे बजारमा बसपार्क नहुँदा जथाभावी पार्किङ गर्नुपर्ने बाध्यता छ । बसपार्क निर्माण भएपछि डुम्रे बजारको सवारी व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको श्रेष्ठले बताए । उनले भने, ‘पृथ्वी राजमार्गसँगै जोडिएको डुम्रे बजार हुँदै दैनिक सयौ सवारी गुड्ने गर्छन् । त्यहीमाथि सडकमै पार्किङ गर्नुपर्ने बाध्यताले समस्या हुँदै आएको छ ।’ बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाकै आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्ने लक्ष्य सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया