साथीसँग मनका कुरा

समाधान संवाददाता २०७६ असार २३ गते १४:४५

जुना थापा

Advertisement

भनिन्छ कि पढेर कि परेर सिकिन्छ रे तर म भन्छु केही कुरा सुनेर अनि देखेर पनि जानिन्छ । सिकाइको दायरा पढ्नु र पर्नुमा मात्र सीमित छैन । स्कुल पढ्ने बेला आजकलझैँ फेसबुक, इन्स्टा, ट्वीटर, भाइबर, वाट्सएपलगायत सामाजिक सञ्जाल केही थिएन, न गाउँमा बत्ती नै पुगेको थियो, तैपनि भएका सामग्रीको भरपूर उपयोग चाहीँ छानी छानी गरिन्थ्यो ।

मनोरञ्जनका साधन या सञ्चारको माध्यम केवल रेडियो नेपाल मात्र थियो । रेडियो नेपालको साथीसँग मनका कुरा, बिएफबिएफ गोर्खाली रेडियो, संस्मरण, खुलदुलीलगायत क्षेत्रीय प्रशारणका कार्यक्रमहरु मेरो रोजाइका कार्यक्रम थिए । अरु कार्यक्रम मनोरञ्जनका लागि भए पनि हरेक शनिबार आउने साथीसँग मनका कुरा कार्यक्रमले भने मेरो सोचमा परिवर्तन ल्याउनमा ठूलो भूमिका खेल्यो भन्नमा अतियुक्ति हुन्न । कार्यक्रमका लागि एडिक्ट भएझैँ लाग्थ्यो, कुनै हप्ता छुटे, जसले सुनेको छ त्यो साथीकोमा गएर सुनाउन लगाउँथेँँ ।

Advertisement

किशोरावस्थाका मनोविज्ञानलाई आधारित मानेर बनाइएका नाटक या कुराकानी, श्रोताका जिज्ञासा र कथाहरुमा कहीँ न कहीँ आफूलाई पाउँथेँ, कार्यक्रमबाट यति प्रभावित भएँ कि त्यो सिकाइ न परिवार, न शिक्षक, न विद्यालय न पाठ्यपुस्तकहरुले सिकाउन सक्यो भन्ने लाग्छ ।

रेडियो सुन्न थालेपछि के हुटहुटी चल्यो कुन्नि, यस्तो क्र्रान्तिकारी सोचको विकास भयो कि आफ्नो खुट्टामा नउभिएसम्म जोजस्तो सुकै केटाको बिहे प्रस्ताव आओस् बिहे गर्दिनँ भन्ने बिउ त्यही रेडियोले दिमागमा रोपिदिएको थियो । कक्षा ८ मा पढ्दादेखिका बिहेका प्रस्तावहरु रिजेक्ट गर्दै गएँ । आफ्नो निर्णयमा यति अडिग भइरहँदा बजैको भनाइ हुन्थ्यो…..छोरी मान्छेले १० कक्षासम्म पढे ठिक्क हुन्छ, धेरै पढेर नि के गर्ने हो र आखिर पराइ घर गएर चुलाचौका अनि बालबच्चा नपाइ सुख छैन, बेलैमा लाहुरेसँग गयो आनन्दै, भन्ने बजैको करकरलाई कहिल्यै सिरियस्ली लिइनँ । म अरु कसैको रोजाइबाहेक मूल्यहीन् वस्तु हूँ त, मेरो रोजाइ, इच्छा त्यसमा समाहित हुन्छ कि हुन्न , के जीवनको उद्देश्य नै विवाह हो भन्ने प्रश्नले सताउँथ्यो ।

Advertisement

घरपरिवार आफन्तको जहिले पनि दवाव हुन्थ्यो कि लाहुरेसँग गए पछि बूढालाई केही भए पनि उसको हड्डीले पाल्छ भन्ने केके हो केके मोटिभेसनल स्पीचहरु । आफूमा भने रेडियोमा सुनेको पिएन क्याम्पसमा पढेर आफैले जागिर खाने भन्ने कत्रो सपना थियो सोही सपनाका अघि सबै मोटिभेसनल स्पीचहरु फिका ।

पहिले रेडियो कार्यक्रम त केही समयपछि आफ्नै समाजले आफ्नो महत्त्वका बारेमा बुझ्न सिकायो । जीवनभर डोकाका डोका घाँस दाउरा गर्ने आमाहरुको न त जीवनको महत्व देख्न पाएँ न त कुनै सम्मान नै । मानसम्मान हुन्थ्यो त केवल खोक्रो खुसीका लागि श्रीमान्को पदवीका आधारमा लाहुरेनी, जम्दार्नी सुब्दार्नी……. । त्यही नाम पाउनु पनि कति गौरव र इज्जतको कुरो हुन्थ्यो समाजमा । त्यसैले हर कोही अभिभावकको सपना हुन्थ्यो छोरीलाई लाहुरेसँग बिहे गरिदिने अनि फलानाकी छोरी कति भाग्यमानी रैछे लाहुरे पोई पाई भन्ने कुरा सुन्न ।

मलाई कसैको पेसाप्रति घृणा पटक्कै हैन, लाहुरे पेसालाई पनि उत्तिकै सम्मान गर्छु जति सम्मान म मेरो काम र पेसालाई गर्छु । कुनै एक पेसालाई तोकेर भन्नुको अर्थ यो होइन कि अरु पेसाका चाहिँ सबै राम्रा । मानिसको सोचलाई पेसाले निर्धारण गर्छ भन्नेमा विश्वास गर्नु भ्रम हो । मात्र मेरो चित्त दुखाइ हाम्रो प्रवृत्तिप्रति हो, हाम्रो पुरातनवादी अनि पितृसत्तात्मक सोचप्रति हो किनकी विभिन्न विभेदमध्ये मैले देखेको एउटा विभेदको उदाहरण यो पेसा थियो ।

वल्लो गाउँ, पल्लो गाउँका छुट्टीमा आएका लाहुरेहरुको शान गाउँ देख्न लायक हुन्थ्यो । अगाडि अगाडि लाहुरे पछिपछि चाउरेहरुको जत्था । छुट्टीमा आउँदा तिनको काम नै हुन्थ्यो, स्कुलतिर धाउने अनि खाजा खाने दोकान या चउरमा बसेर केटीहरुलाई हेरेर आफ्नो बनाउने धुनमा बस्ने । प्रायजसो जाडो महिनामा लाहुरेहरु छुट्टीमा आउने हँुदा कहिले कुन गाउँका कहिले कुन गाउँका हुलका हुल स्कुलमा भीड लाग्थ्यो हाटबजारजस्तो जहाँ सस्तोमा उपभोग्य सामानको किनमेलका लागि भिड भएजसरी । लाग्थ्यो आफ्नो भविष्य सुनिश्चित गर्नुभन्दा पनि आफूले चाहेको जस्तो केटी बिहे गर्न लाहुरे बन्ने दबाब तिनमा थियो ।

लाहुरेहरुका लागि केटी रोज्ने र छान्ने मेला हुन्थ्यो स्कुल । कक्षा ६ मा पढ्दादेखि केटीहरुको बिहेको लागि चहलपहल सुरु हुन्थ्यो । यसैले होला कक्षा १० सम्म पुग्दा नपुग्दै प्रायजसो केटीहरुको घरजम भइसक्या हुन्थ्यो । छोरी १८ वर्ष नाघी भने बुढीकन्याको उपनाम पाइन्थ्यो । स्कुलमा केटी हेरेपछि कसलाई जिस्काउने, हल्का बनाउने, मायाको नाटक गर्ने र साँच्चिकै बिहे कसलाई गर्ने भन्ने निर्धारण हुन्थ्यो सायद, बेलुकातिर फेरि केटी भएका घरघर लाउरेसहित चाउरेका भेल लाग्थ्यो ।

गाउँभरिको सबैभन्दा राम्र्री होस् जो अग्लीअग्ली, पातलीपातली, गोरी, कक्षा ८ र ९ पढेकी, १५ र १६ वर्षकी, लप्पनछप्पन नभाकी, घरभित्र बाहिरको काम जानेको………..सर्वगुण सम्पन्न होस् भन्ने उनीहरुका अपेक्षा हुन्थ्यो । केटीको सुन्दरताका आधारमा ब्रिटिस, सिङ्गापुर, इन्डियन, नेपाली लाहुरे श्रीमान पाउनुपर्ने समाजको विश्लेषण हुन्थ्यो भने केटाका लागि पैसा र कमाइअनुसार गाउँभरिको सबभन्दा राम्री, सर्वगुण सम्पन्न, राम्री, ठिकैकी भनेर केटीहरुको छनौट हुन्थ्यो । अरुको छनौटको साधन कहिलेसम्म बन्ने र आफ्नो पनि केही कुरा छनौट गर्ने अधिकारलाई छोरीहरुले कहिलेसम्म स्थापित गर्न सक्ने हुन् भन्नेमा त्यतिबेला मनसपटलमा गर्जन लागेको मेघ मडारिएझैँ लाग्थ्यो ।

ब्रिटिस आर्मीले अलि ठिकैको रुपरङ भएको केटी बिहे गरे, छ्या ब्रिटिसेले पनि कस्ती छानेको होला त्यो केटी यस्ती, उस्तीलगायत विविध कमी कमजोरीको रास थुपार्ने गरिन्थ्यो भने कम कमाइ हुने नेपाल आर्मी या पुलिस अझ भनौँ केही कमाइ नभएका केटाको सुन्दर श्रीमती परेमा केटीलाई अभागी र केटालाई भाग्यमानीको ट्याग लगाइन्थ्यो । आफूले चाहेको केटीले प्रस्ताव रिजेक्ट भएमा उसको चरित्रको बारेमा दोष देखाएर हल्ला पिटाउने चलन थियो ।

यसरी केटी रोज्ने प्रथा भनौँ या प्रवृत्ति भन्दा अलि नमिठो सुनिन्छ तर वस्तुभाउ किनमेलको बजार जस्तो लाग्थ्यो । जस्तो कि हामी कसैलाई दुध दिने भैंसी खरिद गर्नु छ भने र्भैसीको बाहिरी शरीर, कति माना या पाथी दुध दिन्छ, घिउ कत्तिको लाग्छ , त्यसका आधारमा मूल्य निर्धारण गरी विक्रीवितरण गरिन्छ त्यस्तै हामी केटीहरुको पनि ठ्याक्कै त्यही अवस्था जस्तो लाग्छ । रुपरङका आधारमा फलाना केटीको उचाइ, मोटाइ, गोरी या काली, नाक, ओठ, आँखा, कपाल, हातखुट्टा यस्तो उस्तो भनेर विवाहका लागि योग्यता मापन हुन्थ्यो ।

कति मेरा साथीहरु थिए, जो केटो लाहुरे नहुँदै मायामा परेका हुन्थे, बिहे गर्ने बाचा गरेर उसकै पखाईमा अरुको बिहे अस्वीकार गरेर बसेका हुन्थे तर लाहुरे भएर फर्केपछि आफ्नो प्रमिकालाई चिन्दैनथे । यस्तो सम्म पनि देखेकी छु कि मायाको नाटक गर्ने र प्रेग्नेन्ट भएको थाहा पाए पछि उसलाई छोडेर हिँड्ने । यस्ता कार्यमा एक पेसामा आवद्धलाई मात्र छुन खोजेको होइन, यसमा हिजोआज कुनै पनि पेसा, वर्ग जाति, धर्म वा क्षेत्रका मानिस अछुतो छैन । मात्र म हुर्केको समाजमा बढिमा देखिएको समस्यालाई बताउन मात्र खोजकी हुँ ।

एकजना बहिनीले प्रेग्नेन्ट भएको ४ महिनासम्म पनि केटाले कुनै हालतमा नस्वीकारे पछि र आफ्नो इज्जतलाई दाउमा राखेर समाजमा कुरा राखिन् अन्त्यमा १ लाख पैसामा कुरा छिनोफानो गराएर एवोर्सन गराइयो । त्यो लडाइँ बहिनीको पैसाको लागि पक्कै थिएन न्यायको लागि थियाे, आफ्नो प्रेमको आधिकारिकता र प्रमाणिकताका लागि थियो । अहिले केटा अर्की बिहे गरेर बसेको छ तर केटी भने बेसरम केटीको ट्याग बोकेर बिहे नगरी बसेकी छन् । प्रेम जस्तो पवित्र सम्बन्धमा कसैको जिन्दगी नै उजाड बनाइदिने अधिकार उसलाई कसले दियो ? यहाँ गल्ती दुबैको भए पनि सजाय भोग्ने केटी मात्र हुन्छ ।

इज्जतको मामलामा हाम्रो समाजमा केटाका लागि समुद्रझैँ विशाल दायरा छ भने केटीको लागि भीरको रुखमा अड्केको अन्डाजस्तो , कतिबेला फुटाइदिने हो थाहा छैन । मायाजस्तो पवित्र सम्बन्ध केटीका लागि अभिशाप त केटाका लागि पुरुषार्थ प्रदर्शन माध्यम हुन्थ्यो । केटा भनेका सिकारी र केटी सिकारीको सिकार हो , सिकारीले सिकारलाई जतिबेला पनि आफुनो जालमा पार्न सक्छ तर सिकार नै बच्न सिक्नुपर्छ भन्ने मान्यता हामीमा अझैै पनि व्याप्त छ ।

हिजो र आजमा केही मान्यतामा परिवर्तन भए पनि केही प्रवृत्ति भने झन् बिकराल हुँदै गएको देखिन्छ । दशकअघि केटाहरु केटी छान्न हिँड्थे त अहिले को छ लाहुरे भन्दै खोज्दै हिँडेको देखिन्छ । लाइफ सेक्युरिटी र सेफ ल्याण्डिङ गर्नका लागि होला लाहुरे भनेपछि हुरुक्कै हुने, छोरीलाई सस्तो सामानजसरी घरमै गएर मेरी छोरी लैजाऊ यहाँको घडेरी वा घर दिन्छु भनी हाकाहाकी किनबेच र मोलमोलाइ गर्ने प्रचलनको वृद्धि भएको देखिन्छ ।

आफ्नो भाग्य र पहिचानको गोरेटो आफै बनाउनभन्दा पनि अरु राम्रा र इज्जतिला भनिने मान्छेसँग नातागत रुपमा जोडिएर आफ्नो इज्जत गौरवले बढाउने भीडको जमात आज पनि व्याप्त छ । जब छोरीको बिहेका लागि केटा हेरिन्छ तब केटाको पढाइ, कमाइ, भविष्यमा उसले गर्न सक्ने सम्भावना अनि पारिवारिक पृष्ठभूमि हेरिन्छ नकी छोरीलाई कति सामाजिक, आर्थिक, मानसिक र शारीरीक रुपमा सक्षम, योग्य, बनाउन सकियो भन्ने नै सोचिन्न । योे आफ्नो सन्तानको सेक्युरिटी खोज्ने प्रवृत्ति नराम्रो नै त भन्दिनँ तर यस्तो प्रवृत्तिले छोरीको भाग्य अरु कसैको हातमा रहने अनि परनिर्भरताले जन्माउने समस्याको कठिन यात्रा छोरीहरुले लामो समयसम्म गरिरहनुपर्छ भन्ने मात्र हो ।

तपाईको प्रतिक्रिया