नेपाल फेरि विश्वकप नजिक, मलेसियालाई पराजित गर्दैै फाइनलमा

एजेन्सी
फेरि एक पटक १९ बर्ष मुनिको नेपाली क्रिकेट टिम विश्वकप प्रतियोगिताको नजिकै पुगेको छ । अब एउटा मात्र जितले नेपाललाई विश्वकपसम्म पुर्याउनेछ । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
सोमबार मलेसियामा भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। पहिले ब्याटिङ गरेर मलेसियाले दिएको ८८ रनको झिनो लक्ष्य नेपाली खेलाडीले १५ ओभर र ५ बलमा ३ विकेट गुमाएर पार गर्यो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे। रोहितले २९ बलमा २ चौका र १ छक्का हिर्काए। भीमले ३४ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।
ओपनर पवन सर्राफ १८ रनमा आउट भएका थिए भने अघिल्लो खेलमा सानदार शतक बनाएका रित गौतमले मात्र ३ रन बनाउन सके । अर्का ब्याट्सम्यान खडकबाहादुर बोहोरा खाता नै नखोली पवेलियन फर्किए ।
बलिङमा मलेसियाका मोहमद खइरले २ विकेट र मोहमद अमिरले १ विकेट हात पारे।
त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ओभरमा ८७ रनमा अलआउट भएको थियो । मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।
बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १(१ विकेट लिए।
नेपालले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुर मध्ये एक टिमसँग खेल्नेछ। यी दुई बीच दोश्रो सेमिफाइनल सोमबार नै हुँदैछ ।
तपाईको प्रतिक्रिया