राजनीति भ्रष्टिकरण भयोः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ असार २४ गते १३:२८

समाधान संवाददाता, लमजुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति भ्रष्टिकरण बन्दै आएको बताएका छन् । राजनीतिलाई फोहोरी खेल (डर्टी गेम) बनाउन जनप्रतिनिधि र दलका नेताहरु नै लागिपरेको आरोप लगाएका हुन् । उनले भने, ‘राजनीति भ्रष्टिकरण र अपराधिकरण भएकाले विभिन्न पेसा व्यवसायका मानिस पनि राजनीतिमा आइरहेको छ ।’

मध्यनेपाल नगरपालिकाको छैठौं नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधिलाई जनताको सेवामा लाग्न आह्वान गरे । ‘जनप्रतिनिधिले ठेक्का पट्टा गर्ने होइन, तपाइँ कि नेता बन्नुस्, कि अरु पेसा व्यवसायी बन्नुस्, उनले भने, राजनीति गर्ने मान्छेले जनताको सेवा गर्ने हो ।’ स्थानीय तहमा धेरै आर्थिक बिचलन देखिएको उनको भनाई छ । महालेखा परीक्षकले मलाई गण्डकी प्रदेशको आर्थिक बिचलनको अवस्था बारे प्रश्न उठाएको छ, मुख्यमन्त्री गुरुङले भने, स्थानीय तहले नीति र ढंग नपुर्‍याई अन्धाधुन्ध खर्च गरिरहेको छ ।’

Advertisement

संविधानले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई कार्यकारी अधिकार दिए पनि त्यस्तो अवस्था नदेखिएको गुरुङले बताए । न्यायिक समितिलाई प्रभावकारी बनाउन आग्रह गर्दै उनले विधि, पद्दति, संवैधानिक हिसावले स्थानीय तह सरकार जस्तो भएर चल्न नसकेको बताए ।

संघीय राज्य व्यवस्थाबाट कोही पनि पछाडि हट्न सक्ने अवस्था नरहेको भन्दै उनले संविधानले दिएको अधिकार इमान्दार भएर कार्यान्वयन गर्न स्थानीय तह चुकेको बताए । ‘यो संविधानलाई पत्रु बनाउने अधिकार कसैलाई पनि छैन, मुख्यमन्त्री गुरुङले भने, संविधान जसले बनायो, कार्यान्वयन गर्ने दायित्व पनि उसैमा छ ।’ संविधानको सफल कार्यान्व्यनमा दलबीच मेलमिलाप गर्न उनले जोड दिए ।

Advertisement

नेपालमा धेरै असमानता र विविधता रहेको भन्दै त्यसलाई संवोधन र व्यवस्थापन गर्न संघीय व्यवस्थामा गएको उनले दोहो¥याए । संघीयता जादुको छडी होइन उनले भने, द्वन्द्व, असमानता र विविधताको संवोधन गर्न संघीय शासन प्रणाली लागु गरिएको हो ।’ उनले एकात्मक प्रणालीमा सानो काम गर्न पनि सिंहदरबारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न गाउँ घरमै कार्यकारिणी अधिकार सहितको सरकारको परिकल्पना गरिएको बताए । तर, स्थानीय सरकारले जनतालाई परिवर्तनको आभाष दिने गरी सेवा दिन नसकेकोमा चिन्ता गरे

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि आनन्द घिमिरेले संघ, प्रदेश र स्थानीय तहबीच नीतिगत समस्या चाँडै अन्त्य हुनुपर्नेमा जोड दिए । घिमिरेले विकास निर्माण र समृद्धीका लागि स्थानीय तहदेखि केन्द्रसम्म नै दलहरुबीच सहमति हुनुपर्ने बताए । सभामा नेकपा मध्यनेपालका अध्यक्ष रामचन्द्र पौडेलले स्थानीय तह मनोमानी रुपमा चल्न नहुनेमा जोड दिए । कार्यक्रममा मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले स्थानीय सरकार सञ्चालनमा धेरै कमजोरी रहेको भन्दै आगामी दिनमा सच्याउने प्रतिवद्धता जनाए । विकास निर्माणमा दलिय आँखाबाट नहेर्ने भन्दै उनले अन्यलाई पनि दलगत रुपमा नहेर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया