माथिल्लो मुस्ताङका चित्रकारः छिरिङ फेन्जो गुरुङ

समाधान संवाददाता २०७६ असार २४ गते १४:०९

समाधान संम्वाददाता
मुस्ताङ

पढाइ ५ कक्षा । मासिक कमाइ १ लाख रुपैयाँ । कमाइको स्रोत चित्रकारिता । मुस्ताङ र त्यो पनि माथिल्लो मुस्ताङ आफैंमा अनकन्टार ठाउँ जहाँ चित्रकारिताको पढाइ त परै कखरै पढ्न मुस्किल । तर रुचि सानैदेखि चित्रकलामा थियो । इच्छा थियो र उपाय निस्कियो अनि विकट हिमाली गाउँका छिरिङ फेन्जा गुरुङ चित्रकार बन्न सके ।

३८ वर्षे छिरिङ कहिले काडमाडौं हुन्छन् त कहिले आफ्नै गाउँठाउँतिर । कहिले पहाडका कुना कन्दरातिर आफ्नै धुनमा चित्र कोरिरहेको पनि भेटिन्छन् । कहिले साना नानीबाबुहरुसँग रमाइरहेको भेटिन्छन् । ती नानीबाबुहरुलाई पनि चित्र कोर्न सिकाइरहेको भेटिन्छ ।

छिरिङको चित्र कोही विदेशीले किन्छन्, कोही स्वदेशीले पनि । एउटै चित्र ४०÷५० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । मुस्ताङ आफैंमा अनौठो चित्रजस्तो छ । झन् माथिल्लो मुस्ताङ भन्नै परेन । त्यही ठाउँका हुन् छिरिङ । उत्तरी कोरला नाकादेखि दक्षिण १५ किलोमिटरयता पूर्वमा पर्छ उनको गाउँ । त्यहाँ गुरुङ समुदायको बस्ती छ । आफ्नै गाउँठाउँमा चित्र कोर्न कसैले सिकाउने नदेखेपछि छिरिङ आफ्नो लक्ष्य भेट्न भौतारिए ।

उनी जब १६ वर्ष पुगे त्यही बेला भेटे लाक्पा लामा । उनकै पहिलो शिष्य बने । गुरु लाक्पाबाट थान्का पेन्टिङ सम्बन्धी तालिम प्राप्त गरे । १ वर्ष गाउँमै थान्का पेन्टिङ सिकेपछि तिब्बतको सिगात्सेका थान्का पेन्टर तेन्जिङ निङ्गोको काठमाडौंस्थित स्कुल अफ तिब्बतियन थान्कामा भर्ना भए । त्यहाँ बसेर उनले २ वर्ष थान्का पेन्टिङको एडभान्स तालिम लिई पेन्टिङ दायरालाई अझ मजबुत पारे ।

छिरिङफेन्जो पेन्डिङ सम्बन्धी कलाको गहिराइमा पुगेर डुबुल्की मार्न चाहन्थे । दृश्य हेरेर चित्र कोर्ने, प्राकृतिक सुन्दरता नियालेर जस्ताको तस्तै हुबहु पानामा उतार्ने ल्यान्डस्केप पेन्टिङ गर्नेतर्फ उनको अभिरुचि बढ्न थाल्यो । फलतः उनले काठमाडौंकै बौद्धमा ल्यान्डस्केप तालिम दिइरहेका पुष्प आले र रुपक राईबाट ३ वर्षे कोर्स पूरा गरे । चित्रकारिता, पेन्टिङ र ल्यान्डस्केप तालिम र अध्ययन पूरा गरेपछि छिरिङको आयआर्जनको बाटोे खुल्यो ।

माथिल्लो मुस्ताङमा सदियौं पुराना थुक्तेन, गुम्बा र मठमन्दिर जीर्ण भइसकेका थिए । यसको पुनःनिर्माण आवश्यक थियो । उनले इटालियन भित्ते चित्रकार लुइजी फिएनीसँग सहकार्य गर्दै त्यहाँका पुरातात्विक महत्वका वस्तुहरुमा पेन्टिङ भर्ने काम पूरा गरे ।

छिरिङफेन्जो राष्ट्रिय चित्रकला प्रदर्शनीमा ३ पटकसम्म सहभागी भइसकेका छन् । काठमाडाैंमा उनले चित्रकारिता शोसमेत गर्न भ्याइसके । यसपटक मुस्ताङको छोसेर गाउँको झोङ गुफामा लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको पहिलो लोमान्थाङ महोत्सवमा चित्रकारिता प्रदर्शनी गरे । प्रदर्शनी हेर्न स्वदेशी तथा विदेशी आए । गुम्बा, मठमन्दिर र देवी देवताका मूर्तिहरुको सजावट र पेन्टिङमा पनि छिरिङ सिद्धहस्त छन् । ठ्याक्कै अहिले उनी फुन्चोक टसी छोलिङ गुम्बामा भित्ते चित्रकला कोरिरहेका छन् ।

मुस्ताङका युवा धेरैजसो विदेशिएका छन् । विदेश गएर डलर कमाउने भूत उनलाई पनि जाग्यो । उनी चित्रकारिता र पेन्टिङको अनुभव बटुल्दै गर्दा उनी पनि कोरिया हुइँकिए । काम गरेर पैसा कमाउन विदेशिएका छिरिङफेन्जो कोरियामा रहँदा तिनै चित्रकारिता र पेन्टिङलाई सम्झँदै रुन थाले । बस्दा, उठ्दा र खादासमेत पेन्टिङ र चित्रकारिताको बिम्ब उनको मानसपटलमा घुमिरहन थाल्यो । सानैदेखि अमूर्त सपना साकार पार्न चित्रकारिता थालेका उनलाई कोरिया बसाई उनलाई न्यास्रो लाग्न थाल्यो । त्यसपछि १ वर्ष बित्न नपाउँदै जन्मभूमि फर्किए । उनले अहिले पनि चित्रकारिता र पेन्टिङ पेसामै समय खर्र्चिएका छन् । छिरिङ भन्छन्, ‘पेन्डिङ र चित्रकारिताबाहेक अरु केही पनि सोच्न सक्दिन । ज्ञान सिप र क्षमता भए स्वदेशमै काम गरेर खान सकिन्छ ।’

हिउँदयाममा काठमाडौं र वर्षायाममा गाउँघर उक्लने उनले गाउँघरका गुम्बा मठमन्दिर, थुक्तेन र भौगोलिक ल्यान्डस्केप सम्बन्धी तालिम निशुल्कै दिन्छन् । आउटडोर, इनडोर, थान्का पेन्टिङ र फर्निचर लगायतमा आर्कषक बुट्टा भर्ने र पेन्टिङ गर्ने गर्छन् । उनले कामको विवरण र श्रम हेरेर कामको जिम्मेवारी लिने गरेका छन् । पछिल्लो समय पूराना ऐतिहासिक, धार्मिक, सांस्कृतिक चिनारी र भौतिक सम्पदा मासिन थालेको अवस्थामा उनले पूराना खजानाहरुको खोजी गर्दै इतिहासमा सुरक्षित राख्ने उद्देश्यले दुर्लभ वस्तुहरुको संकलन गर्दै पेन्टिङ चित्र कोर्छन् । उनी भन्छन्, ‘आफूले सिर्जना गरेको सामग्री गाउँठाउँमा पस्कन पाउदा खुसी लाग्छ । मेरो काममा म पूर्ण सन्तुष्ट छु ।’

तपाईको प्रतिक्रिया