नेपाल बन्यो च्याम्पियन, भारत पाकिस्तान सहितको एशियाकप प्रतियोगितामा खेल्न पाउने

समाधान संवाददाता २०७६ असार २४ गते १४:२०

एजेन्सी

नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। यो जितसंगै नेपाल एशिया कप प्रतियोगिताको लागि छनौट भएको छ ।

मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यसअघि नेपालले २ वर्षअघि भएको प्रतियोगिताको पनि उपाधि जितेको थियो।

Advertisement

हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो । नेपालका ओपनर रित गौतम १३ रन र पवन सर्राफले ३९ रन जोडे। रितले १४ बलमा २ चौका र पवनले ३६ बलमा ५ चौका र १ छक्का हिर्काए।

खडकबाहादुर बोहरा २२ बलमा ८ रन र कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन जोडेर आउट भए। भीम सार्कीले नटआउट ८ रन जोडे।

Advertisement

मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेको थियो  जुन सही निर्णय सावित हुन पुग्यो । नेपालले हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट गरेको थियो ।

हङकङको इनिङ ध्वस्त पार्न नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले ५ विकेट हात पारे। किफायती बलिङ गरेका उनले १० ओभरमा १८ रन खर्चिए। सागरले ५ ओभर मेडन राखेका थिए। यस्तै कमलसिंह ऐरीले ३ विकेट हात पारे। कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन दिए। कुशल मल्ल र तिलकराज भण्डारीले १(१ विकेट लिए। कुशलले ८.१ ओभरमा ५ मेडन राख्दा ४ रन मात्र खर्चिएका थिए।

हङकङका लागि अदित गोरावाराले सबैभन्दा बढी २४ रन बटुले। उनले ७१ बल खेल्दा ४ चौका प्रहार गरेका थिए। कुल्हान मार्क काल्लुले ३८ बल खेलेर २ चौका र १ छक्काको मद्दतमा १९ रनको योगदान दिए। रौनक कपुर १२ रन बनाउदा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाई आउट भए।

उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने यू(१९ एसिया कपमा छनोट भएको छ। एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई लगायतका टिम सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया