बाँदर नियन्त्रणका लागि ५ लाख

समाधान संवाददाता २०७६ असार २५ गते ११:४६

समाधान संवाददाता
बागलुङ

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ५ लाख बजेट विनियोजन गरेको छ । नगरसभा बैठकले बजेट बाँडफाँट गर्दा बाँदर नियन्त्रणका लागि ५ लाख छुट्याइएको हो । आर्थिक विकासका लागि छुट्याइएको ९८ लाख बजेटमध्ये ५ लाख बाँदर नियन्त्रणका लागि मात्रै छुटाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा बाँदरको अत्याधिक बिगबिगी भएको र यसको नियन्त्रणका लागि धेरै आवाज उठेकाले बाँदर नियन्त्रणको कदम चाल्नुपरेको जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

Advertisement

बाँदरकै कारण बसाईँसराई तीब्र हुन थालेपछि आर्थिक वर्ष २०७६÷७७ को लागि ५ लाख बजेट छुट्याएर यसको नियन्त्रण गरिने पौडेलको भनाइ छ । विभिन्न कार्यक्रमहरुमा बाँदर नियन्त्रणको अत्याधिक चर्चा चल्ने र माग हुने गरेकाले छिमेकी पालिकाहरुको सहकार्य र अभ्यास समेतलाई मध्यनजर गरी बाँदर नियन्त्रणको उपाय अवलम्बन गरिने नगर उपप्रमुख लीला रानाले बताइन् ।

जैमिनी नगरपालिकाको वडा नं २ र ३ दमेक वडा नं ८ छिस्ती लगाएत नगरपालिकाको १० वटै वडामा बाँदरले दुख दिने गरेको किसानहरुले बताएका छन् । जैमिनी नगरपालिकाको वडा नम्बर७ जैदीमा बाँदरले महिलाहरुलाई जिस्काउने र पिट्न आउनेसम्म गरेकाले यसको नियन्त्रण गर्न स्थानीयहरुले माग गरेका थिए ।

Advertisement

वडा नं ४ सर्कुवा, ५ विनामारे र ६ नम्बर वडा अर्जेवामा पनि बाँदरका कारण बसाई सर्न थालेको वडा नं ६ का वडाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । २ मा अन्य कारण भन्दा बाँदरकै कारण बढी मात्रामा स्थायी रुपमै बसाइसराइँ हुन थालेको वडा नं २ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताए ।

जैमिनी नगरपालिकाको ९ पैयुँथन्थाप र १० राङ्खानीमा पनि बाँदर आतंक बढ्न थालेको कृषकहरुले बताएका छन् । लगाएको बाली टिप्नै नपाइने गरी बाँदरले मास्न थालेपछि खेती गर्नै छोडेर बजार बस्न थालेको राङ्खानी बस्नातेकी कल्पना आचार्यले बताइन् ।

खेती गरेपनि खर्च मात्रै हुने र बाली टिप्न नपाएपछि बजार झरेर बस्नुको विकल्प नभएको उनको भनाइ छ । बाँदर नियन्त्रणका लागि नगरपालिकाले बजेट नै विनियोजन गरेर आवश्यक कदम चाल्ने भएपछि यस निर्णयको खुलेर स्वागत गरिएको छ ।

तपाईको प्रतिक्रिया