६ महिनाअघि नै सकियो सिँचाइ आयोजना

समाधान संवाददाता २०७६ असार २५ गते ११:५२
sf:sL, @$ c;f/ -/f;;_ M u08sL k|b]zsf ef}lts k"jf{wf/ ljsf;dGqL /fdz/0f a:g]t sf:sLsf] df5fk'R5«] ufpFkflnsf–* df lgdf{0f ;DkGg ePsf] kf}vf]nf l;dnaF]zL l;FrfO cfof]hgfsf] dªunaf/ pb3f6g ub}{ . t:jL/ M s[i0f bjf8L

समाधान संवाददाता
पोखरा
प्रदेश सरकारले पहिलो योजना भनेर शिलान्यास गरेको सिँचाइ आयोजनाको काम सकिएको छ । गएको वर्ष भदौ २७ गते शिलान्यास भएको ३ महिनापछि निर्माण सम्झौता भएको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ८ स्थित पौखोला सिमलवेशी सिँचाइ आयोजनाको काम सकिएको हो ।

१ वर्षका लागि निर्माण सम्झौता भएको आयोजना ६ महिना अघि नै सकिएको छ । १ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना झण्डै ७० लाख रुपैयाँमा निर्माण सकिएको हो ।

उपभोक्ता समितिले २३ लाख र उक्त ठेकेदार कम्पनीले ४६ लाख ७९ हजार रुपैयाँमा २०७६ मंसिर २६ आयोजना निर्माण गरिसक्नुपर्ने सम्झौता थियो । आयोजनामार्फत ३५ हेक्टर जमीन सिँचाइ पुग्ने छ । २ सय घरपरिवार यसबाट लाभान्वित हुनेछन् ।

Advertisement

तोकिएको सम्झौताभन्दा ६ महिना अघि नै काम सकिएपछि प्रदेश सरकारले उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सम्मान गरेको छ । उपभोक्ताहरुको संयोजक गरेका शंकरमान गुरुङ र निर्माण व्यवसायी हरि लम्साललाई प्रदेश सरकारले सम्मान गरेको हो ।

प्रदेशको पहिलो आयोजनाको रुपमा भदौ २७ गते भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गर्दै अब विकासले फड्को मार्ने र त्यसमा ठेकेदारले साथ दिनुपर्ने बताएका थिए । मंगलबार आयोजनाको उद्घाटन गर्दै मन्त्री बस्नेतले समयमै काम सक्ने निर्माण व्यवसायी र उपभोक्ता समितिलाई सम्मान गर्दै काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने बताए ।

Advertisement

‘आफैंले शिलान्यास गरेको आयोजना सम्झौताको मिति आइपुग्नुभन्दा ६ महिना पहिले नै उद्घाटन गर्न पाएँ,’ मन्त्री बस्नेतले भने, ‘निर्माण व्यवसायीकै ढिला सुस्तीका कारण विकास निर्माण प्रभावित भइरहेको छ । प्रदेशको काममा ढिला सुस्ती गर्नेको नाम व्यवस्थित गरेर राखिन्छ र कारबाही गरिन्छ ।’

प्रदेश सरकारले योजना सम्पन्न हुने गरी बजेट विनियोजन गर्ने उनको भनाइ थियो । ‘सिँचाइका आयोजनामा संघ सरकारले ३ लाख, ८ लाख रुपैयाँ छुट्याइरहेको छ । हामीले पनि त्यसरी नै बजेट विनियोजन गरेको भए यही आयोजना सकिन कति वर्ष लाग्थ्यो होला,’ मन्त्री बस्नेतले भने, ‘प्रदेश सरकारले ३० लाखभन्दा कमको योजना नै बनाएको छैन । साना योजनामा पैसा हालेका छैनौं ।’

सोही क्षेत्रका सांसद रामजी बरालले निर्माण सम्झौता नसकिँदै काम सम्पन्न हुने हो भने देशले विकासमा फड्को मार्ने बताए । विकास निर्माणमा हुने ढिलासुस्तीले संघीयतालाई असर पारेको उनको भनाइ थियो । ‘इतिहासले हामी सबैलाई संघीयताको संस्थापक बनाइदिएको छ । त्यो जिम्मेवारी पूरा गर्न समयमै सकिने विकास निर्माणले ठूलो अर्थ राख्छ,’ सांसद बरालले भने ।

पहिलो आयोजना माछापुच्छ्रे गाउँपालिकाबाट सुरु भएर प्रदेशकै नमुनायोग्य सिँचाइ आयोजना बनेको सांसद बरालको भनाइ थियो । बरालले भने, ‘यसले विकास साँच्चिकै जनताको घरदैलोमै आयो भन्ने सन्देश प्रवाह गर्ने छ ।’

एकै वर्षमा सकिने योजनालाई धेरै वर्षसम्म बजेट बिनियोजन गरिरहने तर निर्माण नसकिने प्रवृतिलाई प्रदेश सरकारले हटाउने मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए । सजग र जागरुक उपभोक्ता, समयमै काम काम सक्ने निर्माण व्यवसायीले साथ दिए प्रदेशका सबै आयोजना समयमै सकिने उनको भनाइ थियो ।

२८ वर्षअघि सोही ठाउँमा कच्ची नहर थियो । सोही ठाउँमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत नहर निर्माण भएकोे हो ।

तपाईको प्रतिक्रिया