विप्लव समुह र प्रहरी बिच भिडन्त, प्रहरी सहित २ को मृत्यु

समाधान संवाददाता २०७६ असार २५ गते ११:५८

समाधान संवाददाता

प्रतिबन्धित संगठन नेकपा माओवादाीको विप्लव समुहको आक्रमणमा परी एक जना प्रहरी जवान सहित भएका छन् । विप्लब समुहबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।

भोजपुर जिल्लाको सदरमुकाममा बुधबार विहान नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका जिल्ला स्तरीय नेता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।

Advertisement

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले घटनाको पुष्टी गरेका छन् । उनले विप्लव समुहका कार्यकर्ताले गस्ती रहेको प्रहरीलाई पछाडिबाट झुक्याएर गोली हानेको बताएका छन् । साथी माथि गोली प्रहार भएलगत्तै अर्का प्रहरीले प्रतिकार गर्दा निरकुमारको पनि घटनास्थल मै मृत्यु भएको थियो ।

खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रजिअका अनुसार चार पाँच जनाको संख्यामा रहेका उनीहरु भागेका छन् ।

तपाईको प्रतिक्रिया