विषादीरहित तरकारी उत्पादनमा जोड

समाधान संवाददाता २०७६ असार २५ गते १२:५०

समाधान संवाददाता
दमौली

देशभन्दा बाहिरबाट आयात हुने विषादीयुक्त तरकारी प्रयोग न्यूनीकरणका लागि स्थानीयस्तरमै विषादीरहित तरकारीको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औल्याइएको छ ।

भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलको किटनाशक विषादी परीक्षण सम्बन्धमा चर्चा चलिरहेको सन्दर्भमा यहाँका सरोकारवालाले भने स्थानीय स्तरमै विषादीरहित तरकारीको उत्पादन बढाउन सकिए तरकारीका लागि निर्भर रहन नपर्नेमा जोड दिएका हुन् ।

Advertisement

स्वास्थ्य कार्यालय तनहुँले मंगलबार दमौलीमा गरेको विषादीरहित खाद्य तथा पोषण प्रबद्र्धन सम्बन्धी गोष्ठीमा जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले विषादी प्रयोगबाट हुने बेफाइदाका बारेमा सर्वसाधारणलाई सचेत गराउँदै स्वच्छ तरकारी उत्पादनका लागि अभिप्रेरित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

जिल्लाका प्रत्येक स्थानीय तहलाई एउटा खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिए विषादीरहित तरकारी उपभोग गर्न सकिनेमा वाग्लेले जोड दिए । उनले भने, ‘सामाजिक जीवन निर्वाह गर्ने व्यक्तिले आफूमात्रै नभई अरुलाई पनि सचेत बनाउनुपर्छ । प्रत्येक स्थानीय तहले कृषिलाई विशेष प्राथमिकतामा राख्न आवश्यक छ ।’

Advertisement

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बाहिरबाट आउने तरकारी रोक लगाउन स्थानीय स्तरमा विषादीरहित तरकारीको उत्पादन बढाउनुपर्नेमा जोड दिए । नगरपालिकाका प्रत्येक टोल–टोलमा पुगेर विषादीरहित तरकारी उत्पादनका लागि सचेतना जगाउन नगरपालिकाका प्रतिबद्ध रहेको न्यौपानेले बताए ।

उनले भने, ‘विषादीयुक्त तरकारी रोकथामको विषय अत्यन्तै संवेदनशील र चासोको विषय हो । तर यसको प्रारम्भिक विन्दु खोज्नुपर्ने आवश्यकता देखिएको छ ।’ स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य सामग्री विक्रीवितरणको लागि नगरपालिकाले कृषि संकलन केन्द्र निर्माणलाई प्राथमिकता दिएको भन्दै नगर प्रमुख न्यौपानेले विषादीरहित तरकारी उत्पादनका लागि किसानलाई सहयोग गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विषादी न्यूनिकरणका लागि सचेतना आवश्यक रहेको र त्यसका लागि सबै पक्षको हातेमालो आवश्यक रहेकोमा जोड दिए । तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले कौशीमा तरकारीखेतीलाई प्राथमिकता दिन सकिए विषादीरहित तरकारीको आयात घटाउन सकिनेमा जोड दिए ।

विषादीले मानव स्वास्थ्य, वातावरण, इकोसिस्टम र अर्थतन्त्रलाई असर पार्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार विषादीले मानव स्वास्थ्यमा तत्कालिन र दीर्घकालीन असर पार्ने गरेको छ । तत्कालिन असरहरुमा आँखा दुख्नु, छाला चिलाउनु, टाउको दुख्नु, कमजोरी, श्वास फुल्नु लगायतका असर हुन् भने दीर्घकालीन असरमा क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोग, प्रजनन् र विकासमा असर हुन् ।

दवाडीका अनुसार विषादीलाई औषधीको रुपमा बुझ्नु, जथाभावी विषादी छर्नु, सानो समस्यामा पनि विषादी छरिहाल्ने बानीका कारण विषादीको दुरुपयोग बढेको छ । ‘जैविक तथा वनस्पतीजन्य विषादीको प्रयोग बढाउन जनमानसमा प्रचारप्रसार हुन आवश्यक छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया