नेता जोशीको मुद्दा ४५ औं पटक स्थगित

समाधान संवाददाता २०७६ असार २७ गते ११:२९

समाधान संवाददाता, काठमाडौं

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दा ४५औंपटक बिहीबार ‘हेर्न नमिल्ने’ भन्दै स्थगित भएको छ । सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा बिहीबार उक्त मुद्दाको पेसी थियो ।

न्यायाधीश कार्की कानुन व्यवसायी हुँदा विशेष अदालतमा जोशीको पक्षमा बहस गरेकाले मुद्दाको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको हो । न्यायाधीशले एकपटक आफूले सुनुवाइ गरेको वा बहस गरेको मुद्दामाथि फेरि सुनुवाइ नगर्ने चलन छ ।

Advertisement

गएको जेठ २३ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जोशीविरुद्ध मुद्दा चलाउने निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएको थियो ।

आयोगबाट जवाफ प्राप्त भएपछि बिहीबार मुद्दाको पेसी तोकिए पनि सुनुवाइ नभएको हो । सर्वोच्चले सक्कल फाइल उपलब्ध नगराए अवहेलना मुद्दाका कारबाही गर्ने चेतावनी दिएको थियो । अख्तियारले यसअघि जस्तै ‘फाइल फेला पार्न नसकेको’ जवाफ दिएको छ ।

Advertisement

आयोगले जोशीविरुद्ध २०६० माघ २८ विशेष अदालतमा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा १३ वर्ष कैद सजाय र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

मुद्दामा सुनुवाइ गर्दै तत्कालीन विशेष अदालतका न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले ०६३ कात्तिक ३० गते अख्तियारले म्याद गुजारेर दर्ता गरेको भन्दै मुद्दाको विषयवस्तुमा प्रवेश नै नगरी सफाइ दिएको थियो ।

विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्चमा रिट हाल्यो । भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश सर्वोच्चको आदेशपछि विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो ।

विशेषले ०६६ साउन १० मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेषले जोशीसँग २ करोड १६ लाख मात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र १ वर्ष ६ महिना मात्र कैद सजाय सुनायो ।

विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशीले गर्न सर्वोच्च गए पनि अहिलेसम्म मुद्दाको सुनुवाइ नै हुन सकेको छैन । नौ वर्षको अवधिमा जोशीको मुद्दा ४५ औंपटक बिहीबार पेसी तोकिएको थियो ।

तपाईको प्रतिक्रिया