राति फोहोर फाल्ने ६२ ले तिरे जरिवाना

समाधान संवाददाता २०७६ असार २७ गते ११:४९

समाधान संवाददाता
पोखरा

पोखरा ९ वडा नयाँबजार क्षेत्रमा राती सार्वजनिक क्षेत्रमा फोहोर फाल्ने धेरै थिए । दिनदिनै महानगरले फोहोर उठाए पनि रात परेपछि सुटुक्क फोहोर फाल्नाले नयाँबजार क्षेत्र नै दुर्घन्धित बनेको थियो ।

बिहानै सडकमा निस्कँदा बाटोवरिपरि फोहोरको डंगुर देखेपछि यात्रुले पनि आवाज उठाउँदै आएका थिए । सार्वजनिक ठाउँमा फोहोर नगर्न र नफाल्न वडाले पटक पटक सूचना निकाल्दा पनि अटेर गरेपछि भने यहाँ गस्ती नै सुरु गरियो ।

Advertisement

राती गस्ती गर्न वडा सदस्य राममाया मानन्धरको नेतृत्वमा टोली खटिन्छ । गस्ती टोलीमा वडाबासी पालैपालो सहभागी हुन्छन् । कहिले १० जना, त कहिले २० जना । त्यसरी दैनिक साढे १० बजेसम्म सडकमै घुमिरहेका हुन्छन् । त्यसरी रात्रीकालीन गस्तीमा खटिने स्थानीयले तलब भने लिँदैनन् ।

‘वडाले नै छाता, ज्याकेट, ग्लोब्सजस्ता आवश्यक सामान दिने गरेको छ । त्यसबाहेक उहाँहरुले अन्य पारिश्रमिक लिनुहुन्न,’ पोखरा ९ वडाध्यक्ष रामराज लामिछानेले भने, ‘सधैं एउटै घरको गस्तीमा हिँडेपछि कहिलेकाहीं त लाजै मानेर पनि कुनै कुनै घरधनी सडकमा आउनुहुन्छ ।’

Advertisement

सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई जरिवाना पनि गरिएको छ । वडास्तरबाटै गस्ती सुरु गरेपछि फोहोर फाल्नेको संख्यामा उल्लेख्य कमी आएको छ । सार्वजनिक ठाउँमा फोहोर फाल्दा पटक पटक पक्राउ परेर पनि अटेरी गर्ने घरबेटी तथा व्यवसायीलाई वडाले घर तथा पसलमै पोस्टर टाँसेर सुसूचित गरिरहेको छ । अटेरी गर्नेलाई कारबाहीसमेत गरिरहेको छ । त्यसपश्चात पनि अटेर गर्नेलाई प्रहरी प्रशासन नै लगाइरहेको छ ।

वडाले त्यसरी रात्रीकालीन गस्ती थालेको मंगलबार १ वर्ष पुग्यो । गस्ती थालेको १ वर्ष पुगेको अवसरमा वडा कार्यालयले सडकमै वार्षिकोत्सव मनायो । पोखरा ९ वडा सचिव लोेकदर्शन कोइरालाले १ वर्षामा सार्वजनिक ठाउँमा फोहोर गर्ने ६२ जनालाई दण्डित गरिएको सुनाए । वडाले सार्वजनिक फोहोर फाल्नेलाई प्रकृति अनुसार सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ ।

‘दिनदिनै बाटोमा हाम्रो गस्ती टोली तैनाथ हुन्थ्यो । टोलीले बाटोमा फोहोर गरेको वा फालेको भेट्टाए जरिवाना गरिहाल्थ्यो,’ वडा सचिव कोइरालाले भने । जरिवानाबाट वडाले १ लाख २१ हजार रुपैयाँभन्दा बढी राजश्व उठाइसकेको उनले जानकारी दिए । रात्रीकालीन गस्ती वार्षिकोत्सवका अवसरमा गस्तीमा सहभागी ५० जनालाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया