पहिरोले मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

समाधान संवाददाता २०७६ असार २७ गते १५:४०

रासस, काठमाडाैं

मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गतको पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । 

चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसो १२:३० बजेदेखि सडक अवरुद्ध  भएको हो ।

Advertisement

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् ।

यसैबीच, हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।

Advertisement

हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि यातायात सेवा अवरुद्ध भएको हो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ ।

फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो ।

त्रिभुवन राजपथको बागझोरामा शुक्रबार बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको जिप्रकाले जनाएको छ ।

हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसोसम्म मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिए । 

तपाईको प्रतिक्रिया