कसरी बचाउने हिमाली कथा

समाधान संवाददाता २०७६ असार २९ गते १३:२०

अमृत सुवेदी
पोखरा

Advertisement

यार्तुङ (घोडा दौड) होस् या तिजी । ल्होसार होस् या सर्कालुका । उपल्लो मुस्ताङीले स्याब्रो नाच्थे । परम्परागत पोसाकमा सजिएर हिमाली संस्कृतिलाई गीतमा भाका हाल्थे, नाचमा उतार्थे । तर, अहिले नयाँ पुस्ताले स्याब्रोको मर्म र संस्कृति बिर्सँदै गयो । स्याब्रोमा जोडिने हिमाली जीवन र कथा देखिनै छाड्यो । उपल्लो मुस्ताङ लो ७ क्षेत्रका नयाँ पुस्तामात्रै होइन, पुरानालाई पनि हिमाली संस्कृतिलाई स्याब्रोमा देखाउन मुस्किल पर्दै गयो ।

नाङ्सा ह्येबुम अर्थात हिमाली लोक गीति नाटक उपल्लो मुस्ताङमा देखिन छाडेको त १ दशक नै बितिसक्यो । यसमार्फत महिलाको कथामा आधारित गीत र नाटकमार्फत हिमाली संस्कृतिलाई बुझाइन्थ्यो । सत्य र सहनशीलतालाई जोड दिन्थ्यो । चाड, पर्व र मेला, उत्सवमा देखाइने स्याब्रोले मूल मर्म र संस्कृतिलाई बुझाउने पुस्ता नै हराउँदै गए ।

Advertisement

उपल्लो मुस्ताङमा आफ्नै संस्कृति, परम्परा र हिमाली जीवनलाई बुझाउने यस्ता मौलिक नाटक, गीत र नाचलाई फेरि १ पटक जगाउने प्रयन्त गरिएको छ । लो घेकर दामोदरकुण्ड गाउँपालिकाको मराङ र लोमान्थाङ गाउँपालिकाको ऐतिहासिक लोमान्थाङ दरबार परिसर यस्तै हिमाली जीवन र जीविकामा आधारित संस्कृतिमय बन्यो । उपल्लो मुस्ताङका पाका व्यक्ति आफ्नै जीवन र संस्कृतिमा आधारित कार्यक्रम देखेर विगतसँग जोडिए । नयाँ पुस्ताले त्यसलाई बुझ्ने र महसुस गर्ने अवसर पाए ।

उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले पुरानो मौलिक संस्कृतिलाई फेरि एकपटक जगाउने कामको नेतृत्व गरे । हिमाली जीवन, संस्कृति र परम्परालाई नाटक, गीत र नाचमार्फत देखाउन आइपुगे, हिमालय ल्हामो समाज नेपाल ।

Advertisement

यो समाजमा देशकै विभिन्न हिमाली जिल्लाका कलाकार सहभागी छन् । उपल्लो मुस्ताङजस्तै थुप्रै हिमाली ठाउँका जीवन, जीविका र संस्कृतिलाई कलाकारले प्रस्तुत गरे । आफ्नै परम्परालाई देखेका स्थानीय घरि भावुक बने । घरि उत्साहित बन्दै ताली बजाए त घरि आफ्नै संस्कृति हराउँदै गएकोमा थकथकी माने ।

उपल्लो मुस्ताङका अधिकांश जनता दसैंपछि पोखरा झर्छन् । केही पालो गरेर गोठ कुर्छन् । केही जिम्बु, क्युरियो लगायतका सामाग्री झोलामा हालेर जाडो छल्न पहाडतिर झर्छन् । विद्यार्थीहरु घुम्ती विद्यालयमा पढ्न पोखरा पुग्छन् । हिउँ नपरे पनि चिन्ता हुन्छ बढी परे पनि नोक्सानै बनाउँछ ।

हिमाली जिल्लाका नागरिकको जीवन र जीविका गहुँ, फापर, उवा, केराउ, साग, आलु लगायतसँग जोडिन्छ । चौंरी, भेंडा, च्यांग्रा, गाई, घोडा हिमाली नागरिकका सुखदुखसँग जोडिएका छन् । गएको हिउँदमा परेको भारी हिमपातले सयौं चौंरी, भेंडा, च्यांग्रा, गाई, घोडा सखाप पारिदियो । सबैभन्दा बढी क्षति उपल्लो मुस्ताङले नै बेहोर्‍यो । हिमाली जिल्लाका नागरिक चौंरी लगायत जनावारसँग कसरी जोडिएका छन्, कसरी जीविका चलाएका छन् भन्ने कथा व्यथालाई नाटकमा देख्दा उनीहरु स्तब्ध बने ।

उपल्लो मुस्ताङमा ३ दिन यस्तै सांस्कृतिक उत्सवमय बन्यो । बुधबारदेखि शुक्रबारसम्म हिमालय ल्हामो समाज नेपालले मौलिक पराम्परा र जीवनलाई कलात्मक र सिर्जनात्मक तरिकाले देखाएको हो । ‘हिमाली जीवन, जिविका कस्तो थियो, कस्तो हुँदै गइरहेको छ ।

मौलिक पराम्परालाई उपल्लो मुस्ताङीकै भाषामा देखाएका हौं,’ हिमाली संस्कृति र पराम्परालाई कलामार्फत देखाउने अभियानको नेतृत्व गरिरहेका तेन्जिङ नाम्गेल भन्छन्, ‘हिमाली क्षेत्रमा बोलिने भाषा तिब्बतीसँग मिल्छ । त्यसलाई लोवा भनिन्छ । हिमाली क्षेत्रमा लगाइने भेषभुषा र संस्कृतिको मूल मर्म के हो भन्ने देशका अन्य क्षेत्रमा पनि देखाउँदै आइरहेका छौं ।’

यसरी नै संस्कृति लोप हुँदै जाने हो भने हिमाली परम्परासँग हामी नै जानकारविहीन बन्ने हो कि भन्ने चिन्ता सांसद इन्द्रधारालाई छ । ‘हिमाली क्षेत्रका मान्छेका जीवन र परम्परा विस्तारै परिवर्तन हुँदै गइरहेको छ,’ सांसद इन्द्रधाराले भने, ‘हिमाली संस्कृति र परम्परा हाम्रो जीवन हो भन्ने नयाँ पुस्तालाई पनि बुझाउनु पर्ने छ ।’ मुस्ताङमा बर्खामा पनि उतिसारो पानी पर्दैन । उपल्लो मुस्ताङमा त झनै कम पानी पर्छ । तर, शुक्रबार उपल्लो मुस्ताङमा पनि झरी पर्‍यो ।

कमै पानी पर्ने उपल्लो मुस्ताङमा गएको हिउँदमा मरेका चौपायाको क्षतिपूर्ति दिन पुगेका प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले अझैनजिकबाट त्यहाँको नागरिकको कथालाई बुझ्न पाए । उनी भन्छन्, ‘हामीले हिमाल र हिमाली जनताका दुखलाई बुझ्न सकिरहेका छैनौं । उनीहरुको जीवनसँग खासैनजिक पाएका रहेनछौं । हिमाली कथालाई कलामार्फत हेरेर महसुस गर्न पाएँ ।’

तपाईको प्रतिक्रिया