हिमपात पीडित किसानलाई राहत

समाधान संवाददाता २०७६ असार २९ गते १३:२८

समाधान संवाददाता, मुस्ताङ

यसवर्षको हिमपात पीडित मुस्ताङका पशुपालक किसानलाई गण्डकी प्रदेशले शनिबार देखि राहत बाँड्न सुरु गरेको छ । पीडित किसानको घरदैलोमै राहत पुर्‍याउने उद्देश्यले प्रदेशका भूमी व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर थापा शुक्रबार लोमान्थाङ पुगे ।

गतवर्षको भारी हिमपातले उपल्लो मुस्ताङसहित अन्य पालिकाहरुमा सयौको संख्यामा पशु चौपाया खर्क र गोठमै चिसोले मरे । हिमपातले सबैभन्दा बढी नोक्सान उपल्लो मुस्ताङले व्यवहोर्‍यो ।

Advertisement

प्रदेशले हिमपात पीडित मुस्ताङका किसानलाई राहत स्वरुप यसबर्ष ५० लाख ६५ हजार बिनियोजन गर्‍यो । तर, संघीय सरकारले भने राहत बितरण गरेको छैन । त्यो राहत बाड्न मन्त्री थापा आाफै मुस्ताङ आए । यसअघि मुस्ताङका संम्वन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले हिमपात पीडित किसानको क्षति लगत संकलन संघीय र प्रदेश सरकारलाई बुझाईयो । यसरी बुझाईएको क्षति तथ्याङ्कमा कुल ४ हजार ६ सय १४ गोटा पशुचौपाया उल्लेख छ ।

उपल्लो मुस्ताङको लोमान्थाङमा बिभिन्न किसानका २ हजार ६ सय ५४ गोटा चौपाया मरेका थिए । यस्तै , लोघेकरमा ९ सय ६८ गोटा ,वारागुङमा १ सय ७० गोटा ,घरपझोङमा २ सय ४२ गोटा र थासाङ गाउपालिकामा ५ सय ८० गोटा भेडाच्याङ्ग्रा , याकचौरी , घोडा र गाई गोरु मरेको थियो । चालु वर्षको उत्तरार्धमा बर्खायामको कष्ठकर यात्रा गर्दै मन्त्री थापासहितको टोली मुस्ताङ आएको हो । थापाले प्रदेशले बिनियोजन गरेको राहत रकम संम्वन्धित किसानलाई हस्तान्तरण गरिने बताए ।

Advertisement

हिमपात पीडित किसानको संख्या र क्षति विवरण अनुसार राहत उपलब्ध गराईने मन्त्री थापाको भनाई छ । उनका अनुसार भेडाच्याङ्ग्रा प्रति गोटाको १ हजार , गाई गोरुको २ हजार , घोडाको ३ हजार र याकचौरीको ४ हजारका दरले रकम बितरण गर्ने योजना रहेको सुनाए । मन्त्रीले थापाले किसानहरुको उत्थानका लागि प्रदेश सरकार कटिबद्ध रहेको दोहोर्‍याए । परम्परागत पशुपालक किसानको पेशा संरक्षणका लागि प्रदेश सरकारले प्रकृति संरक्षण लगायतका आवश्यक पूर्वाधार निर्माण गर्ने मन्त्री थापाले जानकारी दिए । थापाले पशुचौपाया हेर्ने गोठाहरुलाई टेन्ट , सोलार बत्ती र तारजाली आदीको व्यवस्था मिलाईने उल्लेख गरे ।

मन्त्री थापाले मुस्ताङसहित ३ जिल्लालाई ५० हजार स्याउका बिरुवा दिने बताए । मुस्ताङको भूगोल सुहाउदो हावापानी उत्पादनलाई व्यवस्थित गर्दै व्यवसायिक कृषि खेतिलाई प्रोत्साहन गनरिने मन्त्री थापाले उल्लेख गरे । सांसद ईन्द्रधारा बिष्टले राहत सानो भएपनि यसले पशुपालक किसानलाई उत्साही तुल्याउने बताए ।

लोमान्थाङको नेचुङ क्वारेन्टाईन कार्यालयमा भएको पहिलो दिनको राहत बितरण कार्यक्रममा लोघेकर दामोदरकुण्ड गाउपालिका लोप्साङ छोम्फेल बिष्ट , ईलाका प्रशासन कार्यालयका प्रतिनिधि र पशुसेवा ईकाई मुस्ताङका प्रमुखसहित सरोकारवालाहरुको उपस्थिती रह्यो । मुस्ताङका अन्य पालिकामा पनि क्रमशः राहत बितरण गर्दै फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया