अपांगमैत्री संरचना र व्यवहारका लागि जनप्रतिनिधिको प्रतिबद्धता

समाधान संवाददाता २०७६ असार ३१ गते १२:४०

समाधान संवाददाता
पोखरा

अपांगमैत्री संरचना र व्यवहारका लागि सकारात्मक भूमिका खेल्ने पोखराका महानगर र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा र अपांग महिला सशक्तीकरण केन्द्र कास्कीको आयोजना एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र टेवा नेपालको सहयोगमा जनप्रतिनिधिसँग अपांगका अधिकार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय नीति नियम र कानुनसम्बन्धी २ दिने अभिमुखीकरण तालिममा जनप्रतिधिले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जनप्रतिनिधिले अपांगमैत्री संरचना र वातावरण निर्माण गर्नमा पहल गर्ने, विभेद नगर्ने, समावेशी र समतामूलक समाजका लागि अपांग व्यक्तिको पनि प्रतिनिधित्व गराउन वकालत र पैरवी गर्ने, अपांग परिचयपत्र प्राप्त गर्ने प्रक्रियाबारे जनचेतना फैलाउने, स्थानीय सरकारमा अपांग व्यक्तिको सशक्तीकरण गर्न बजेट विनियोज गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको स्वावलम्बी जीवन पद्धतिका अध्यक्ष हेमबहादुर गुरुङले बताए ।

Advertisement

सहभागीले राज्य व्यवस्था बदलिए पनि सोच बदलिन नसक्दा अपांग व्यक्तिप्रतिको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताए । उनीहरुले अपांगमैत्री व्यवहार कागजमा सीमित भएको तर व्यवहारमा नदेखिएको भन्दै जनप्रतिनिधिसँग गुनासो गरे । अपांग व्यक्तिहरु हरेक क्षेत्रमा अझै पनि उपेक्षित हुनु परेको र भएका प्रावधानको बारेमा पनि जानकारी नहुँदा अवसरबाट बञ्चित हुनु परेको सहभागीको भनाइ थियो ।

कार्यक्रममा अपांगता भएका व्यक्तिसम्बन्धी विद्यमान कानुन नेपालको संविधानमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४, अपांग व्यक्तिलाई प्रदान गरिने सेवा सुविधाहरु, अपांगताको वर्गीकरण, अपांगमैत्री भौतिक संरचना र सञ्चार पहुँच, अपांग परिचयपत्र र यसको महत्व, अपांगको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि दिगो विकासका लक्ष्यमा अपांगको सवाल, महिलाविरुद्ध हुने सबै किसिमका विभेद अन्त्य गर्ने सम्बन्धी महासन्धि र अपांग महिलाको सवाल लगायत विषयमा सरोकारावाला निकायसहित व्यापक छलफल गरिएको थियो ।

Advertisement

कार्यक्रममा अधिवक्ता श्रीकान्त सापकोटा, कास्की नेत्रहीन संघ अध्यक्ष लक्ष्मण सुवेदी, अपांग महिला सशक्तीकरण केन्द्र कास्की अध्यक्ष अञ्जना केसी, सिविआरएस संस्थाका कृष्ण लामिछाने, नारी सेवा केन्द्र अध्यक्ष उषा बरुवाल, स्वावलम्बी जीवन पद्धतिका अध्यक्ष हेमबहादुर गुरुङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिसहित ५५ जना सहभागी भएको अपांग महिला सशक्तीकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया